बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

रासस
७ कार्तिक २०८० १४:०२

टाकुरे (सिन्धुपाल्चोक)। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्‍यो। धेरै घर भत्किए। मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए।

जिल्लाको इनद्रावती गाउँपालिका-४, टाकुरेमा भने भौतिक क्षति भए पनि मानवीय क्षति भएन । मानवीय क्षति नहुनुको कारण त्यस गाउँलाई ३०० वर्षदेखि बालादेवीले रक्षा गरिरहेको अगाध विश्वास टाकुरे गाउँवासीमा छ।

करिब १०० घर रहेको गाउँमा ब्राह्मण, क्षत्री र तामाङ समुदायको बसोवास रहेको छ। यहाँका स्थानीयवासीले सयौँ वर्षदेखि गाउँको टाकुरामा रहेकी बालादेवीलाई इष्टदेवीका रुपमा मान्दै आएका छन्। बालादेवीस्थानमा प्रत्येक वर्षको आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष पूजा, आराधना हुने गरेको छ।

गाउँवासीलाई बालादेवीले रक्षा गरेकैले भूकम्पका बेला मानवीय क्षति नभएको पूर्व वडा सदस्य दयाकुमारी मिश्र बताउँछिन्। टाकुरेसँगै जोडिएको बिमिरे, शिखरपुर, डुँडे, डँडुवाखर्क र नवलपुरलगायत गाउँमा घर भत्किएर मानवीय क्षति भएको थियो। टाकुरेका स्थानीयवासी भने बालादेवीको दर्शन एवमु पूजा, आराधना गर्ने भएकाले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको उनको विश्वास छ।

“घर भत्कँदा भित्रै परेका मानिसलाई पनि केही नभई सकुशल उद्धार गर्न सक्नुले बालादेवीको दर्शन गर्नेलाई रक्षा गरेको विश्वास यस क्षेत्रमा बढ्न थालेको छ, यो विश्वासपछि वरपरका अरु गाउँबाट पनि मन्दिर आउने दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ, भूकम्पपछि नै गाउँपालिकाको बजेटले मन्दिर क्षेत्रमा जाने सिँढी निर्माण गरिएको छ, बालादेवी सामुदायिक वनमा रहेको देवी मन्दिरलाई आकर्षक धार्मिक स्थलका रुपमा विकास गर्न लागिपरेका छौं”–पूर्व कार्यवाहक वडाअध्यक्षसमेत रेएकी मिश्रले भनिन्।

भूकम्पका बेला मन्दिरमा पूजा, आराधना र दर्शनका लागि जाने मानिसको मात्र क्षति भएन। भौतिक संरचनाका कारण पशुधन भने क्षति भयो। पशु देवीस्थानमा दर्शनका लागि नजाने गरेकाले क्षति भएको रुपमा टाकुरेवासीले विश्लेषण गर्ने गरेका छन्।

अग्लो स्थानमा रहेको बालादेवीस्थानबाट इन्द्रावती नदी, नदी तटका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, नगरकोटलगायत आकर्षक एवं रमणीय स्थलको अवलोकन गर्न पनि सकिन्छ।

टाकुरेवासीले पुर्खौँदेखि बालादेवीलाई विशेष रुपमा मान्ने गरेका छन्। गाह्रो, साह्रो पर्दा देवीकै नाममा भाकल गर्ने गरिएको छ। पुस्तौंदेखि बालादेवीको गाथा सुन्दै आएको पण्डित विश्वनाथ कोइराला बताउँछन्।

पिता, पुर्खाबाट बालादेवीको महत्व सुन्दै आएपनि यस विषयमा आधिकारिक शिलालेख वा प्रामाणिक कागजात भने अहिलेसम्म नपाइएको उहाँले सुनाउनुभयो । यससम्बन्धी थप खोज, अनुसन्धानको आवश्यकता रहेको स्थानीयवासी बताउँछन्।

बालादेवीको पश्चिम, दक्षिण र उत्तरतिर टाकुरे गाउँ फैलिएको छ। गाउँको शिरमा देवीको मन्दिर स्थापित छ। बालादेवीको केही मुनि पानीको ट्यांकीसँगै शिलामा अर्की देवी विराजमान भएको विश्वासमा स्थानीयवासीले पूजा, आराधना गर्ने गरेका छन्। जसलाई कालिकादेवीको नाम दिइएको छ।

यहाँ रहेको ठूला ढुंगालाई स्थानीयवासीले ३०० वर्षदेखि बालादेवीका रुपमा मान्दै आएका छन्। ठूलो ढुंगामुनि देवीको स्वरुपमा अरु शिला राखिएको छ। जसलाई स्थानीयवासी र श्रद्धालु भक्तजनले साक्षात् बालादेवीका रुपमा मान्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *