‘प्रधानमन्त्रीको कमाण्डमा उद्धार चुस्त भयो, उहाँप्रति उच्च सम्मान छ’
काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठकमा सहभागी मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु र कर्मचारीहरुले भूकम्प गएलगत्तै प्रधानमन्त्री आफै फिल्डमा खटेकाले राज्यका सबै अंगहरु प्रभावकारी रुपमा परिचालित भएको भन्दै त्यसका लागि प्रधानमन्त्रीप्रति आफूहरुको उच्च सम्मान रहेको बताएका छन्।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोककुमार राई, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले प्रधानमन्त्रीको सक्रियता र खटाइ सबैलाई आश्चर्यचकित पार्ने खालको भएको बताउँदै त्यसबाट सबैमा उर्जा मिलेको बताए।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, “प्रधानमन्त्री आफैले उद्धारको पहल लिनुभयो, अति राम्रो काम गर्नुभयो। उद्दारको काम लगभग पुरा भएको छ। बेपत्ताहरु छैनन्, कि मृतक छन्, कि घाइते छन्। तत्कालको राहतमा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।”
पूर्वमन्त्री गंगाधर तुलाधरले प्रधानमन्त्रीको भूकम्प पीडितको उद्दार तथा राहत कार्यप्रति उच्च प्रशंसा गरे। उनले भने, “सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको छ, प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्दछु।”
त्यस्तै उर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीले विपद्मा राज्यका सबै संयन्त्र परितालन गर्न सफल भएको बताए । उनले भने, “प्रधानमन्त्री स्वयं पहल लिएका कारण राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको बताउँदै पीडितहरुको घाउमा मल्हम लगाउन सरकार सफल भएको छ ।”
भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले देशमा सरकार भएको आभाष प्रधानमन्त्रीले गराएको उल्लेख गरे। उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले देशमा सरकार छ भन्ने राम्रो सन्देश दिनुभयो। उद्दार, राहत र उपचारमा प्रधानमन्त्री स्वयंले नेतृत्व गर्नुभयो, यो निकै राम्रो कुरा हो।”
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले भने “प्रधानमन्त्रीको तदारुकता प्रशंसायोग्य छ। राति २ बजे प्रधानमन्त्रीबाट फोन आयो, तपाईहरु खट्नुस् भन्नुभयो। धेरै महत्वपूर्ण काम गर्नुभयो। यति जिम्मेवार र सक्रिय प्रधानमन्त्री पाएकोमा खुसी महसुस हुन्छ।”
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्रीको सक्रियताले सिंगो राज्यसंयन्त्र नै परिचालित भएको बताए । उनले भने, “प्रधानमन्त्री स्वयं आफै खट्दा सिंगो राज्ययन्त्र परिचालित भएको छ।”
त्यस्तै मन्त्रीहरु डा. महत, राई, गुरुङ, लगायतले प्रधानमन्त्रीको सक्रियता र समस्या समाधानमा लिएको पहलकदमीप्रति उच्च सम्मान रहेको बताए।







डिसी नेपाल







Facebook Comment