सप्तरीमा उमेर बढाएर जन्मदर्ता बनाउँदै, विवाह गर्दै

सुधा देव/सप्तरी
२४ कार्तिक २०८० ११:१६

सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा नं १ को मो. फिरोजले आफ्नी छोरी नाजिया खातुनको बिवाह १८ वर्षकै उमेरमा विवाह गरिदिए । कक्षा १२ मा पढ्दै गर्दा विवाह गरिदिएपछि सानैदेखि डाक्टर बन्ने सपना बोकेकी नाजियाको डाक्टर बन्ने सपना चकनाचुर भयो।

उनको छिमेकीका अनुसार बिवाहिता नाजियाको उमेरको विषयमा प्रहरीले खोज तलास गर्यो भने उमेर पुगेको जन्मदर्ता बनाएर पेस गर्ने योजना उनको परिवारको रहेको थियोे ।

विवाहको बिषयमा प्रहरी प्रशासन अनभिज्ञ भएपछि उसले उमेर बढाएर जन्मदर्ता बनाउनु नपरेको उनको पारिवारिक श्रोतले जानकारी दिएका छन् ।

राजविराज नगरपालिका वडा नं १ को चुमन यादव तथा रेखा देवी यादवको १८ वर्षको उमेरमा विवाह भयो । २०६१ असार ९ मा जन्मेको उनको २०७८ साल बैशाख १० मा विवाह हुन लागेको जानकारी प्रहरीलाई भयो ।

प्रहरीले उनी जन्मेको मिति २०६१ साल असार ९ गतेको जन्मदर्ता फेला पारेपछि प्रहरीले यश विषयमा छानबिन गर्दा २० वर्ष पुगेको जन्मदर्ताको प्रतिलिपी प्रहरीलाई देखाएको तत्कालीन सप्तरीका डिएसपी माधव कुमार काफ्लेले जानकारी दिएका थिए ।

सप्तरीकै अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ को वडा कार्यालयमै फर्जी जन्मदर्ता बनाउने काम हुदै आएको वडा अध्यक्षले नै पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए ।

वडा कार्यालयले फर्जी कागज दिएपछि गत जेठ २१ गते कोर्ट म्यारिज’ गरेकी सोही ठाउँकी बबिता ईसरको जन्म दर्ता विवादीत बनेपछि उक्त कुरा बाहिरिएको थियोे ।

वडाध्यक्ष तेजनारायण यादवले नै पत्रकार सम्मेलन गरेर कार्यालय सहयोगी देवकान्त चौधरी, वडा सचिव रमेश घिमिरे र कम्प्युटर अप्रेटर सुनिता चौधरीले फर्जी जन्म दर्ता बनाइ दिएको आर‍ोप लगाएका थिए ।

वडा कार्यालयको रेडर्कअनुसार बबिताको जन्म २०६७ साल वैशाख २४ भएको हो तर कार्यालय सहयोगी देवकान्तले आर्थिक प्रलोभनमा परेर वडा कार्यालयको जन्मदर्ता सम्बन्धी ढड्डा (रेकर्ड रजिष्टर) मा जन्म मिति २०५८ साल जेठ ११ गते कायम गरेको र वडा सचिव रमेशले पनि जन्म दर्ता प्रमाणित गरिदिएको प्रमाण बाहिरियो।

पत्रकार सम्मेलनमा कार्यालय सहयोगी देवकान्तले पनि जन्मदर्ता प्रतिलिपि लिनका लागि निवेदन दिएका नारायण राम भन्ने व्यक्तिले १५ हजार रुपैयाँ दिने आश्वासन दिएको स्वीकारेका थिए । उनले भने,‘जन्म दर्ता प्रतिलिपि दिए तर पैसा पाईन्।’

जन्मदर्ता प्रतिलिपिका लागि आएको निवेदनमा तोक भने लगाइएको थिएन तर पनि वडा सचिव रमेशले जन्मदर्ता प्रमाणित गरेपछि वडा कार्यालयमा फर्जी कागजातको कारोबार हुँदै आएको सत्य बाहिरिएको छ।

जिल्लाको विष्णुपुुर गाउँपालिका-६ रंजितपुरका २१ वर्षीय मनोजकुमार रामसँग अन्तर जातीय विवाह गरेकी बबिताको जन्मदर्ता विवादीत बनेपछि अन्य फर्जी काण्डहरु बाहिर नआओस् भन्ने सोचले वडाध्यक्ष यादवले सबै दोष कर्मचारी माथि थुपार्ने प्रयास गरेपनि वडा अध्यक्षको सहमति बिना केही नभएको स्थानीयक‍ो आरोप छ ।

वडामा सबै फर्जी कारोबार वडाध्यक्ष यादवकै योजना अनुसार हुँदै आएको छ । अहिले पनि मोटो रकमको चलखेलपछि जन्मदर्ता विवादमा परेको नाम नभन्ने सर्तमा एक कर्मचारीले बताए ।

वडाध्यक्ष यादवले फर्जी भएको विषयमा आफुलाई कुनै पनि जानकारी नरहेको बताउँदै आएका छन् ।
जन्मदर्ता विवादीत बनेपछि मात्रै आफुले सोधखोज सुरु गरेको अध्यक्ष यादवको भनाइ छ ।

रेकर्ड अनुसार आफुले पत्रकार सम्मेलन गरेको अध्यक्ष यादवको दावी रहँदै आएको छ । सचिव रमेशले यसमा कुनै चलखेल नभएको विश्वासमा परेर आफुले जन्म दर्ता प्रतिलिपि प्रमाणित गरिदिएको बताए ।

यस सम्बन्धमा मनोजका आफन्त किसुनदेव रामले पनि वडा कार्यालयमा ५ सय रुपैयाँको रसिद कटाएर जन्म दर्ता प्रतिलिपि लिएको जानकारी दिए । ५ सय रुपैयाँ रसिद नै कटाएर हामीले प्रतिलिपि लिएको पैसा लेनदेनको कुरा नभएको उनको दावी छ ।

खासगरी सप्तरी जिल्लाको अधिकांस स्थानीय तहमा अहिले पनि उमेर बढाएर जन्मदर्ताको प्रतिलिपी बनाउने कामले निरन्तरता दिएपछि जिल्लामा बालविवाहमा समेत बृद्धि भएको स्थानीयको भनाइ छ ।

बालविवाह गर्नकै लागि रकम लिएर उमेर बढाउने गतिविधि वडा कार्यालयहरूमा हुँदै आएपनि कर्मचारीले अध्यक्ष र अध्यक्षले कर्मचारी माथि आरोप लगाउदै आएपनि प्रहरी कुनै चासो नदेखाउँदा यस्ता गतिविधिले थप निरन्तरता दिएको स्थानीय नागरिक अगुवाको बुझाई रहेको छ ।

विष्णुपुर गाउँपालिका वडा नं ६ का वडा परमानन्द यादवका अनुसार बालविवाह गर्नुपर्ने बाध्यता भएको ठाउँमा उमेर बढाएर प्रतिलिपी बनाईदिन स्थानीय आउने गरेपनि अनलाइन सिस्टम भएदेखि अहिले वडा अध्यक्ष र वडा सचिवहरूले त्यसो नगर्ने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीकाका अनुसार बालविवाह हुन लागेको जानकारी आएपछि छानबिन गर्न जादा जन्म दर्ताको प्रतिलिपी हातमा थमाई दिने गरेको छ ।

विष्णुपुर गाउँपालिका वडा नं ६ का निवर्तमान वडा अध्यक्ष बहादुर सदाले बालविवाहको उच्च जोखिममा सप्तरी जिल्लाका दलित समुदाय रहेको बताए । उनले भने,‘ हाम्रो वडामा सबै बालविवाह हुदै आएपनि स्थानीय सरोकारवालाले चासो नदेखाएपछि सुधार हुन नसकेको हो।’

अधिकांस दलित समुदायको बालविवाह हुँदै आएपनि बालविवाह गरेपछि आउने कानुनी समस्याको विषयमा जानकारी हुनेहरू उमेर बढाएर जन्मदर्ताको प्रतिलिपी बनाईदिन आग्रह गर्न वडा कार्यालय पुग्ने गरेको सदाको भनाइ रहेको छ ।

एक तथ्यांक अनुसार नेपालमा सबै भन्दा बढी बालविवाह हुने प्रदेश मधेस प्रदेश रहेको छ । बालविवाहको उच्च जोखिममा मधेस प्रदेश रहेको छ ।

बालविवाह प्रति परिवार,समाज, स्थानीय सरकार तथा प्रहरी प्रशासन गभ्भिर नभएको कारण जन्मदर्ता किर्ते बनाउने प्रवृत्ति बढेको स्थानीयको आरोप छ ।

सप्तरीका प्रहरी प्रवक्ता दुण्डिराज नेउपानेले खास गरि उमेर बढाएर जन्मदर्ता बनाई विवाह गर्ने प्रवृत्तिको कारण पनि बालविवाहमा वृद्धि भएको बताए ।

उनले भने,‘यस्ता प्रवृत्ति रोक्न कुनै एउटा निकाय मात्र नभएर बालविवाह प्रति सबै जना गम्भीर बन्नुपर्छ । बालविवाह हुने थाहा पाएपछि तत्काल सम्बन्धित निकायलाई जानकारी गराएपछि उमेर बढाएर बालविवाह प्रति सबै जना गम्भीर बन्नुपर्छ।’

बालविवाह हुने थाहा पाएपछि तत्काल सम्बन्धित निकायलाई जानकारी गराएपछि उमेर बढाएर बनाएको हो कि होईन छानवीन गरि तत्काल कार्वाहीको प्रक्रिया अघि बढाउन सकिन्छ । दोषी देखिए कार्वाही भएपछि उमेर बढाएर नागरिकता बनाउने गतिविधि बन्द हुने निश्चित छ ।

मधेस प्रदेशका कानुनी अधिकृत अस्मिता भापाले किर्ते जन्मदर्ता मुलुकी अपराध संहिता २०७४ ले लिखित सम्बन्धित कसुर अन्तर्गत किर्ते गर्ने गराउन नहुने भनि व्यवस्था गरेको बताएकी छिन् ।

सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको अधिकृत थापाको भनाइ छ ।

उनले भनिन्,‘यस्ता झुठा विवरण पेश गर्ने र किर्ते गर्नेलाई कुनैपनि हालतमा कानुनी सजय हुने भएपनि यस्ता घटना निरन्तर हुनु दुखद् रहेको छ।’

मधेस प्रदेश बालविवाहको उच्च जोखिममा रहेकोले यस्ता घटना न्यूनीकरण हुनुपर्ने जरुरी भएकोले यश तर्फ सरोकारवालाको ध्यान पुग्न आवश्यक रहेको उनको तर्क छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *