इजरायलको प्रतिबन्धको बीचमा इजिप्टतर्फको रफाह क्रसिङबाट २५ हजार लिटर इन्धन गाजा पुग्यो

डिसी नेपाल
३० कार्तिक २०८० १३:००

काठमाडौं । बुधबार बिहान रफा क्रसिङबाट २५ हजार लिटर इन्धन गाजा पुग्यो। इजिप्टसँगको रफाह क्रसिङमा उपस्थित स्थानीय सीमा अधिकारीहरूले बीबीसीलाई यसको पुष्टि गरेका छन्।

संयुक्त राष्ट्र संघ र डाक्टर विदाउट बोर्डर्सले गाजामा बुधबारदेखि इन्धन सकिन सक्ने चेतावनी दिएको थियो ।

इजरायलले उत्तरी गाजाका जनतालाई दक्षिणी गाजामा जान आग्रह गरेको छ । तर, दक्षिणी गाजामा इन्धन र अत्यावश्यक सहायताको आपूर्तिमा प्रतिबन्ध छ र इन्धनबाहेक केही राहत सामग्री आइपुगेको छ ।

इजरायलले हमासले आफ्नो सैन्य उद्देश्यका लागि इन्धन चोर्न वा प्रयोग गर्न सक्छ भनेको छ। यसअघि इजरायली सेनाले गाजामा राहत सामग्री पुर्‍याउने संयुक्त राष्ट्रका केही ट्रकमा पनि इन्धन भरिएको बताएको थियो ।

यसैबीच, संयुक्त राष्ट्र मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले गाजा शहरको अल शिफा अस्पतालको बारेमा चिन्ता व्यक्त गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘नवजात शिशु, बिरामी, स्वास्थ्यकर्मी र सबै नागरिकको सुरक्षा सर्वोपरि छ। अस्पतालहरू युद्धक्षेत्र होइनन्।’

अस्पतालका एक पत्रकारले बीबीसीलाई बताएअनुसार इजरायली सेनाले अस्पताल भित्रका मानिसहरूलाई सोधपुछ गरिरहेको थियो र मानिसहरूलाई भवन बाहिर भेला हुन आदेश दिएको थियो।

विश्व स्वास्थ्य संगठनले अल शिफाका बिरामी र कर्मचारीहरूको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भनेका छन्, ‘अल शिफा अस्पतालमा सेना प्रवेश गरेको खबर निकै चिन्ताजनक छ ।’

उनले भने, ‘अस्पतालमा स्वास्थ्यकर्मीसँगको सम्पर्क फेरि टुट्यो । हामी बिरामी र अन्य व्यक्तिहरूको बारेमा साँच्चै गहिरो चिन्तित छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *