काठमाडौंमा छठको तयारी तीव्र (तस्वीरसहित)

अनिल पोख्रेल
१ मंसिर २०८० ६:५२

काठमाडौं। काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिवारसम्म सबै काम सकिने बताए। उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए।

सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा-मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ। यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया-घाट’ पनि भनिन्छ।

सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ। बिहानको यो अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ। यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *