भूकम्पमा ढोकाको आड लिएर बाँचेका दिनेश भन्छन्- मैले पुनर्जन्म पाएको छु, सबैलाई यो अवस्था जुर्न सक्दैन

डिसी नेपाल
१ मंसिर २०८० १७:०१

जाजरकोट। “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियोे । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।” ,जाजरकोट कुशे गाउँपालिका घर भई भेरी नगरपालिका–१ माथिल्लो थाप्लेमा बस्दै आएका दिनेश सिंहले भने।

भूकम्पबाट धेरैले ज्यान गुमाउँदा भाग्यले बाँचेका उनले भने “उभिएको ढोकाको पर्खाल गल्र्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छाना खस्न पाएन । यसअघि नै छत खसिसकेको थियो । पर्खालका ढुङ्गासँग ठोक्किएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घर पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकी बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यति बेला म उठिसकेको थिए।”

“मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा म सकुशल रहेँ”, उनले भने, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन।”

दुई छोराछोरी काठमाडौँ भएको र सोही दिन श्रीमती ‘लाइसेन्स’को परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उनले बताए। उनले भने, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला। आफैँ भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौँ।”

हातमा टाउको चोट लागे पनि अवस्था गम्भीर नभएको उनले बताए। श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका–५ खुर्पा जाजजरकोटका प्रधानाध्यापकसमेत रहेका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ। उनीजस्तै सदरमुमकाम खलङ्गासहित सिङ्गो जाजरकोटका भूकम्पपीडित त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन्।

उनका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ। सरकारले प्रतिपरिवार ठूलो आकारको दुई त्रिपाल आवश्यक छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीमबहादुर सिंहले भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासूआमा गुमाए। भूकम्पले ज्यान गुमाएका, घाइते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उनले सुझाव दिए।

कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबैको नागरिकको घर चर्केरभित्र बस्ने अवस्था नभएकाले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोखे।

“हामी लेक नजिक भएकाले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौँ”, उनले भने, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकाले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुप¥यो।”

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ तालपोलियन आवश्यक भएको बताए। उनका अनुसार प्रतिपरिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति प्रदेश तथा सङ्घ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय भइरहेको छ।

असोज १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६।४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाइते भए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *