कतारमा मृत्युदण्ड पाएका ८ भारतीयहरूलाई छुटाउने प्रयासमा भारत आशावादी

डिसी नेपाल
२ मंसिर २०८० ९:५१

काठमाडौं । भारतले कतारमा आठ पूर्व भारतीय नौसेना अधिकारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्धको अपिल प्रक्रियामा रहेको जनाएको छ। यसले केही सकारात्मक नतिजा ल्याउने भारतको अपेक्षा छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार यस विषयमा भारतले कतारी अधिकारीसँग कुरा गरिरहेको बताए । त्यहाँ सजाय पाएका आफ्ना नागरिकलाई भारतले सबै कानुनी सहयोग उपलब्ध गराउने उनले बताए।

बागचीले भने – ‘उनीहरूले त्यहाँको भारतीय दूतावासबाट आवश्यक सबै सहयोग पाउनेछन्।’ अक्टोबर २६ मा कतार अदालतले नौ भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनीहरु पहिले सबै भारतीय नौसेनामा कार्यरत थिए र अहिले कतारको एक निजी कम्पनीमा काम गरिरहेका थिए । अदालतको यो निर्णयलाई भारतले स्तब्ध भएको बताएको छ ।

उनले यी भारतीयहरुको रिहाइका लागि विद्यमान कानुनी विकल्प प्रयोग गर्ने बताएका थिए । भारतीय नौसेनाका यी आठ पूर्व कर्मचारीलाई सहयोग गर्न भइरहेको प्रयासको कमाण्ड प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र कूटनीतिज्ञ दीपक मित्तललाई सुम्पिएको छ ।

दीपक मित्तल सन् १९९८ ब्याचका भारतीय विदेश सेवा (आइएफएस) अधिकारी हुन् र हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्।

उनले कतारका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेकाले कतार सरकारको शीर्ष तहमा उनको राम्रो सम्बन्ध रहेकोले उनलाई यो जिम्मेवारी दिइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *