छठको दोस्रो दिन खरना विधि सम्पन्न

जनकपुरधाम । छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन वर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।
वर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ । खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ । नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।
वर्तालुले आज छठको दोस्रो दिन बिहानदेखि उपवास बसी खरना विधि गरेर भगवान्लाई चढाइएको खीर सेवन गरेपछि अब एकैपल्ट चौथो दिन उदयमान सूर्यको पूजा गरी अर्घ्य दिएपछि मात्र भोजन गर्नुपर्ने हुन्छ । यस अवधिमा वर्तालु पानी समेत खाँदैनन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ । यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवतरुपमा पर्व समापन हुनेछ ।
Facebook Comment