विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै

डिसी नेपाल
३ मंसिर २०८० ६:३३

काठमाडौं। भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ। उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन्।

यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ। दुइ दशक पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि तयार छन्।

फाइनलको यात्रा तय गर्न भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो। यसैगरि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको हो। लिग चरणमा दक्षिण अफ्रिकासँग पराजय व्यहोरेर समिफाइनलमा दक्षिण अफ्रिकालाई नै रोक्दै फाइनल पुगेको अष्ट्रेलिया भारत विरुद्ध पनि फाइनल जित्ने लक्ष्यमा छ।

उता लिग चरणका सबै ९ खेलमै जित हासिल गरेको भारतले अष्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो। यही मनोबलमा भारत आज मैदानमा उत्रँदैछ।

विगतमा हेर्दा विश्वकपमा १३ खेलमा अस्ट्रेलिया ८-५ ले अगाडि छ। तर पछिल्लो ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ। जारी विश्वकपको फाइनल सम्म आइपुग्दा भारत अपराजित टोली हो।

उत्कृष्ट प्रदर्शन गरिरहेको भारतीय खेलाडीहरु बलिङ र ब्याटिङमा अब्बल देखिएका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतीय विराट कोहली नै छन्। उनले अहिलेसम्म ७११ रन बनाएका छन्। त्यस्तै बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन्।

त्यसैले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको भारत घरेलु मैदानमा उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा छ। पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा खेल्दैछ भने दुई पटक उपाधि जितेको भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ।

समग्रमा विश्वकपको इतिहास र वर्तमानको प्रदर्शन हेर्दा फाइनल खेल रोचक र प्रतिक्षारत हुने निश्चित छ। सन् १९७५ बाट खेलाउन थालिएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन्। यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेकाछन्।

१९७५ देखि २०१९ सम्मको विश्वकपमा टीम इन्डियाको यात्रा

१९७५: समूह चरण

१९७९: समूह चरण

१९८३: च्याम्पियन्स

१९८७: सेमिफाइनल

१९९१: राउन्ड-रोबिन चरण

१९९६: सेमिफाइनल

१९९९: सुपर सिक्स

२००३: उपविजेता

२००७: समूह चरण

२०११: च्याम्पियन्स

२०१५: सेमिफाइनल

२०१९: सेमिफाइनल

अहिले टीम इण्डिया २०२३ को विश्वकपको फाइनलमा छ र त्यसको च्याम्पियन बन्ने विशेष मौका छ, यस पटकको विश्वकप भारतमा आयोजना भइरहेकाले टीम इन्डियालाई बलियो दावेदार मानिएको छ ।

सन् १९७५ देखि २०१९ सम्मको एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको यात्रा

१९७५: उपविजेता

१९७९: समूह चरण

१९८३: समूह चरण

१९८७: च्याम्पियन्स

१९९१: राउन्ड-रोबिन चरण

१९९६: उपविजेता

१९९९: च्याम्पियन्स

२००३: च्याम्पियन्स

२००७: च्याम्पियन्स

२०११: क्वार्टर फाइनल

२०१५: च्याम्पियन्स

२०१९: सेमिफाइनल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *