मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

डिसी नेपाल
८ मंसिर २०८० ६:४७

काठमाडौं। मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन्। एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियन इमिग्रेसनमा आफंै उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर नेपाल फर्किनुपर्ने छ ।

मलेसियामा कम्पनी छाडेर अन्यत्र कम्पनीमा गैरकानुनी रूपमा काम गर्ने क्रम बढेपछि दूतावासले कम्पनी छाडेर नभाग्न अनुरोध गरेको छ । मलेसियाको कानुनअनुसार एउटा कम्पनीका लागि नेपालबाट श्रम स्वीकृति लिएर गएको कामदारले भागेर अर्को कम्पनीमा गए त्यस्ता कामदारको भिषा नलाग्ने नियम रहेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढाथापाले बताए ।

पछिल्लो समय मलेसिया गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको भन्दै सचिव बुढथापाले गैरकानुनी रूपमा नबस्न अपिल गरेका छन् । दूतावासको तथ्यांकअनुसार कोभिड–१९ पश्चात् अहिलेसम्म मलेसिया आएका नयाँ नेपाली कामदारको संख्या १ लाख ७५ हजारको हाराहारीमा रहेको छ ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ ।

‘हामी जुन देशमा छौं, त्यो देशको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्छ,’ सचिव बुढथापाले भने ।

साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।

मलेसियामा दलाल सक्रिय रहेकाले नेपालदेखि व्यक्तिगत प्रयोजनबाहेक भिजिट भिजामा नआउन र यहाँबाट अन्य कुनै पनि तेस्रो मुलुक जान सक्ने अवस्था नरहेकाले कुनै पनि दलालले मलेसियाबाट युरोप, अमेरिकालगायतका देशमा पठाइदिन्छु भन्दै भ्रम फैलाउने काम गरिरहेकाले सचेत हुन पनि उनले अनुरोध गरेका छन् । हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *