कथा : ढ्याङ्ग्री

खेमराज पोखरेल
९ मंसिर २०८० ७:१०

अन्तरीले आकाशलाई हेरी, पुरापुर जङ्गल र त्यो सिँदुरे डाँडालाई हेरी। अजम्बरे पहिरो अनवरत गइरहेको थियो, खसिरहेको थियो। उसले नजिकैको बुलाखोलामा कलकल बग्दै गरेको चिसो पानीलाई हत्केलामा उठाएर खाई। आकाश अनन्त थियो।

कतै ठुला रुख, कतै साना बुट्यानहरुले जङ्गल घनिभूत थियो। पाखाभरि लालीगुराँस फुलाएर सिँदुरे डाँडा हाँसिरहेको थियो। अजम्बरे पहिरो सामन्तजस्तै गाउँलेको त्रास भएको थियो। तर अन्तरीलाई यी कुनै कुराको मतलब थिएन, वास्ता थिएन।

ऊ पहिरोको वरिपरि नाच्थी, जङ्गलका बुट्यानहरुलाई समाएर हिँड्थी। बाख्रा पाठा घर पुगिसक्दा पनि ऊ कहिलेकाहीँ सिँदुरे डाँडामै रमाउँदै हुन्थी। कहिले त राम्रा साना गुच्चाजस्ता ढुङ्गा भेला पारेर गट्टा खेल्दै हुन्थी। मानौँ त्यो प्रकृति उसको पेवा हो।

उसलाई भोलिको पनि कुनै चिन्ता थिएन याने भोलिको जीवनको कुनै हेक्का थिएन। जीवन सधैँ यस्तै होला भन्ने ठान्थी। निरक्षर थिई। गरिब किसानको पहाडे मगर परिवार थियो। उनीहरु दुई गुँडका गरेर आठ बहिनी थिए। ऊ दिदी बहिनीमा अन्तरी थिई।

दाजुभाइ पनि पाँच भाइ थिए। उसका बाबुले दोभान मेलाबाट जारी गरेर ल्याइएकी थिइन् उसकी आमा। परिवार घनिभूत थियो। कोदोको ढिँडो, गुन्द्रुक, मही, जाँड मुख्य खान्की थिए। धानको भात त आक्कल झुक्कल मात्र। तर मग्नमस्तीमा थिई अन्तरी।

बाख्रा पाठालाई सिँदुरेतिर पठाएर ऊ बुलाखोलामा नुहाउन थाली। ऊ पहेँलो सुनजस्तै चम्केकी थिई। उसका छातीमा ओखरको चाक्लो दानाजस्तो पुक्क उठेछ। उसलाई आफू दिदीजस्तै भएको भान भएको थियो। उसको खुराक दह्रो थियो। पहाडकी चेली गोरी थिई।

उसका अङ्ग स्फटिक जस्ता श्वेत पवित्र थिए। मानौँ ऊ पहाडकी सुन्दर चरी हो। ऊ जहाँ पनि जसरी पनि विचरण गर्न सक्तछे। ऊ चरीजस्तै स्वतन्त्र थिई। सिँदुरे डाँडाबाट देखिने आकाश, धर्ती, जङ्गल र गाउँ नै उसको संसार थियो।

ऊ ज्यादातर ज्यादा दोभानको माघेसङ्क्रान्ति मेलासम्म गएकी थिई। यद्यपि पहाड बस्तीमा उसको बिहे गर्ने उमेर सुरू भइसकेको थियो। तर लस्करै उसका दिदीहरु नै बिहे गर्न बाँकी भएकाले दिदीजस्तै ऊ पनि क्रमिक छिप्पिन थालेकी थिई।

उसको घर, गाउँभरिका मान्छेको भट्टीमा रुपान्तरण भएको थियो। मतवाली हाकाहाकी जाँड खान आउँथे भने तागाधारी लुकीछिपी आउँथे र घुट्क्याउँथे। यसबाट गुजारा पनि चलेको थियो। गर्जो पनि टरेको थियो।

अन्तरीका दिदी बहिनीको इत्तर्‍याइँले मान्छे त्यसै त्यसै तानिन्थे। अन्तरी बलिइ थिई। लोग्नेमान्छेका जस्ता हातपाखुरा र श्रम गरेको जिउ। अन्तरीलाई फुर्सदमा बनाएका थिएछन् भगवान्ले।

०००००

उसका दिदीहरुको बिहे भइसकेको थियो। जेठीको मागी बिहे गरिदिएका हुन्, माइली र साइँलीले आफैँ खोजे। खोजे के भन्नु गस्तीमा आएका थानाका पुलिसले डाँडा कटाएछन्। काइँली जेठी दिदीकी सौता पस्न पुगेकी थिई। ठाइँलीलाई भने इन्डियन लाहुरेलाई दिन भ्याएका थिए।

अब पालो अन्तरीको थियो। जाँड खान आएको सापकोटा बाहुन अन्तरीसँग हिरिक्क हुन्थ्यो। एकपल्ट जाँडको सुरमा बाहुनले अन्तरीलाई च्याप्पै समात्यो। तर अन्तरीले बाहुनको घुच्चुकमा मुड्की बजारेकी त तीन कान्लामुन्तिर पुगेछ र खुट्टो खोच्याउँदै भाग्यो भन्ने गाउँमा हल्ला थियो।

त्यस दिनदेखि अन्तरीलाई समाउने आँट कसैले गरेन। ऊसँग मोहित हुन्थे लर्केहरु। तर ऊ आँटको पाट चल्दिन थिई। एक दुईपल्ट मेलापात जाँदा पल्लो गाउँका राई केटाहरुले अन्तरीलाई फकाउन खोजे। अन्त्यमा हार खाई ‘सजिलै दुध दिने गाई पाइँदा पाइँदै किन दुर्छे गाई खोजी खोजी खुट्टे लगाउनू भन्दै भागे।

०००००००

मधेसबाट अन्तरीकी साइँली फुपू आउनुभएको छ। आज अन्तरीको घरमा रमाइलो छ। क्षेमकुशल सोधिएको छ। फुपूले चिनी, तोरीको तेल र यस्तै खिर्चिमिर्ची कोसेली ल्याउनुभएको छ। घरमा रौनक छ। घिउको भुटुनलाई कहिलेकाहीँ तेलले पालो दिइन्थ्यो।

नत्र त तोरीको तेल हात गोडामा लाउने न हो। अन्तरी मनमनै खुसी भई कि अब उसले तोरीको तेल हालेर साँधेको तोरीकै गुन्द्रुक खान पाउने छ।

‘यो अन्तरी त ठूली भइछे। अब यसको बिहे गरि दिनुपर्छ’ फुपूले ख्याल ख्यालमै कुरा उठाइ हालिन्।

‘हो नि, दिदीहरुको बिहे गर्दा गर्दै यसको उमेर छिप्पिइ सक्यो, राम्रो केटा भेटे त बिहे गरि दिनुपथ्र्यो’ आमा बाबुले सहमति जनाए।

‘गर्ने हो त? मधेसमा मेरी नन्दको घरमा एउटा जात कुल मिल्ने पौरखिलो केटो छ, दिने हो?’

‘खोइ ? मधेसमा ….!’

‘मधेसमा त्यही अलिकति गर्मी त हो नि, बानी परि हालिन्छ। पहाडमाजस्तो उकाली ओराली गर्नु पर्दैन। पानी बोक्न पर्दैन। पहाडका कति मान्छे मधेसमा गएर बसेकै छन् त। यी हामी पनि त मधेसमै छौँ क्यारे’ फुपूले मधेसको पक्षमा तर्क दिइन्।

‘खोइ हामी के जानौँ ? कुवाको भ्यागुतो। अन्तरी के भन्छे ? ऊ राजी खुसी नभै बिहे गरिदिनु भएन’ बाबुआमाले अन्तरीतिर कुरो मर्काए।

मधेसका बारेमा उसले सुनेकी थिई कि मकै कोदोको ढिँडो खान पर्दैन, सधैँ धानको भात खान पाइन्छ, पानी बोक्नु पर्दैन, भुइँमा कलधारा गाडेपछि पानी नै पानी, हिँड्न पर्दैन मोटर गाडी, मधेसको मेला धाम, टुकी बाल्नु पर्दैन झिलिमिली बिजुली बत्ती यस्तै कति कति।

ऊ एकतमासकी भई, मधेसका सुविधा सुनेर मन मुग्ध भई। उसले एक टकले सिँदुरे डाँडातिर हेरी । उसैगरी मुस्कुराइ रहेको थियो। बुलाखोला सङ्गीत भर्दै गीत गाइरहेको थियो।

‘ए अन्तरी, सुनिस् फुपूका कुरा? तँ के भन्छेस् ?’ बाबुआमाले अन्तरीलाई सोधे।

ऊ केही बोलिन। वास्तवमा के भन्नु न नभन्नु भएकी थिई ऊ। एकातिर मधेसको कल्पनाको सान सौकत उसको मानसपटलमा मौलाई रहेको थियो। अर्कातर्फ फुपूको घामले डढेको अनुहार विरुप भएर उसको अगाडि आयो।

‘मधेस भनेको मधेस नै हो बाबै, आएको मौका छोड्न हुन्न है अन्तरी। आखिर एकपल्ट बिहे गर्नै पर्छ, यही गाउँकै पनि कत्ति चेली मधेस परेका छन् ए, कस्तो कुरा हो?’ फुपूले अन्तरीलाई सम्झाउन थालिन्।

०००००००

मधेसको असारे ज्यानमारा गर्मी। पानी छोए पानी तातो, ओछ्यान तातो, सबै वातावरण नै तातो। अन्तरी एउटा फुसको कटेरोभित्र पसिनाले निथ्रुक्क भिजेकी थिई। गर्मीले उसको हुर्मत लिइरहेको थियो। रात परेको थियो।

उसको अधिल्तिर एउटा कालो, अरिमट्ठे देखिने सग्लो मान्छे ठिङ्ग उभियो। अनुहारमा अलि अलि बिफरका दागहरु देखिन्थे। त्यो उसको लोग्ने थियो। उसलाई त्यो लोग्ने राक्षस जस्तै लाग्यो। किच्च पहेँला दाँत देखाएर मुस्कुराउन थाल्यो।

हेर्दा हेर्दै त्यो मान्छे नाङ्गियो र ऊ नजिक आउन थाल्यो। पसिनाको गन्ध आइरहेको थियो। घमौराका सेता टाटाहरु कालो पिठ्युँमा औँसीको रातको ताराजस्तै टलपलाइ रहेका थिए। डरले उसको जिउ फुलेर आयो। मानौँ कि गोमन साँप उसलाई डस्न आउँदै छ।

‘कथिल्या डराउँछ? म त तिम्रो लोग्ने हुँ’

त्यो मान्छे उसको नजिकमा आएर बस्यो। ऊ पर्तिर सरी। लोग्नेले सम्झाउन खोज्यो। उसले कुरै बुझिन। लोग्नेले बल प्रयोग गर्न खोज्यो। ऊ दैलो खोलेर भागी। उनीहरुको सुहागरात खेर गयो।

उसको लोग्ने वास्तवमा त्यो घरमा हरवा याने हली थियो। आफ्नो घर थिएन। घर धनीले नै बिहे गरिदिएका थिए।

अन्तरी उज्यालो छउन्जेल काम गर्ने तर जब सुत्ने बेला भयो लुक्ने र भाग्ने। उसले दुई चार दिन आँपको रुखमा चढेर रात काटी, कहिले गाई बाँध्ने गोठमा निद्रा पुर्‍याई। उसको लोग्ने आजित भयो। घरवालाहरु आजित भए। समग्र गाउँभरि अन्तरीको चर्चा चल्न थाल्योः
‘त्यो पहड्नीलाई सकेन क्यार कान्छाले’

‘नपुंसक छे कि कसो ?’

‘अरे यार, सधाउनुपर्छ नि, भएन भने फिर्ता पठाउनुपर्छ’

साथीहरुले कान्छालाई उक्साएः ‘कस्तो हुतिहारा भई हालिस् ए कान्छा ? रस्सीले बाँधी हाल् न, हामी पल्लो गाउँबाट उठाएर ल्याउँथ्यौँ, तँ कस्तो भइस् ए काँतर?’

०००००००

रातको करिब दश बजेको हुँदो हो। कान्छाको छाप्रोभित्रबाट अन्तरी कराईः ‘गुहार! गुहार!!, मरेँ, मार्‍यो मोराले’

अन्तरीले सदाझैँ दैलो खोलेर बाहिर निस्कन खोजी। बाहिरबाट अन्तराप लगाइएको थियो। अन्तरीको बिलौना र सहयोगको याचना कसैले सुनेनन्। बाहिर उसका साथी र घर परिवार सुन्दै थिए।

कोही बोलेनन्। अन्तरी आफूले पहाडमा जानेजति गाली गरिरहेकी थिईः ‘आमा…….., बैनी…………..,’ आदि आदि । अन्तरी झन् चिच्याउँदै थिई। घर मालिकले भन्योः ‘नमारी हाल है कन्छा, ज्यान मुद्दा लागि हाल्छ’

अन्तरी शिथिल भई र चुप लागी।

कान्छो विजयको मुद्रामा घरबाहिर आयो। घरका महिलाहरु छाप्रोभित्र पसे। अन्तरीका हातगोडा बाँधिएका थिए। रगतका टाटाहरु थिए। सायद ऊ लुटिएकी थिई। सबै महिलाहरुले कान्छालाई भनेः ‘स्याबास् कान्छा’।

अन्तरी भागी र फुपूको घर पुगी। फुपूले सम्झाइन्ः ‘यस्तै हो लाटी, लोग्नेमान्छेहरु, समर्पण गर्, सन्तान हुन्छन्, सबै कुरा ठिक भइहाल्छ’।
तर उसको चित्त बुझेन। ऊ एकोहोरो सम्झिन्थी।

पहाड, चिसो पानी, सिँदुरे वन र आफ्नो स्वतन्त्रता। उसले घर खान सकिन। जसले जति सम्झाए पनि, कुटे पनि धम्क्याए पनि घर खान सक्दै सकिन।

०००००००

घरपट्टिका पनि आजित भए। अन्तरीलाई उसकै फुपूको घरमा पुर्‍याइ दिए। मधेसको तातो पानी, मड्वा याने कोदोको अररो रोटी, नुन र खोर्सानी सितन, ठुस्स गन्हाउने उसिना चामलको ठोट्ले भात उसको नियति बन्यो।

उसको सुनजस्तो पहेँलो शरीरबाट गर्मीका पाप्राहरु निस्केका थिए। कुटाइ खाएका निल डामहरु अझै निका भएका थिएनन्। ऊ अपहेलित भई। पहाड जान खोजी। केही समयपछि खबर आयो कि उसका बाबुआमा दुवैलाई अजिङ्गरे पहिरोले पुरे छ।

अब भने अन्तरी साँच्चै अनाथ भई। ऊ फुपूकै घरमा बसी। ऊ फुपूकै घरमा नोकर्नी भई। बिनातलबकी कारिन्दा भई। दिनभरिको श्रमको बदलामा बिहान बेलुकाको गोजेरो भराइ मात्र भयो।

०००००००

‘लु भन् ए अन्तरी, यो कस्को पेट बोकिस्’

‘…………………………’

अन्तरीलाई प्रधान राम्रो मुखले सोद्घै थिए। फकाई फकाई सोद्घै थिए। महिला पुरुष भेला भएका थिए। धेरै मान्छेले सोधे। फकाए। ऊ बोल्दै बोलिन। भेला भएका मान्छे रिसले आगो भएका थिए। अन्तरी भुईँमा थ्याच्च बसेकी थिई।

‘सिर्कनाले नहिर्काई यो बोल्ने वाली छैन। आफ्नो लोग्ने खान सकिन, अहिले नाठा सोहोर्दै हिँड्छे’ महिला अगुुवाले कुरोको चुरो भनिन्। बाँसको सिर्कनु आइसकेको थियो । अगुवा महिला सिर्कनु लिएर अघि सरिन्।

‘ऐया आमा, मलाई मारे’ उसमाथि सिर्कना पर्न थाले। कादो याने हिलोमा जोतेको गोरुलाई जस्तो सिर्कना बज्रिए। त्यहाँ भएका कुनै सज्जनको दया पलाएन कि ऊ गर्भवती छे, ऊ असहाय हो, ऊ पनि मान्छे हो, अन्त्यमा उसले बाध्य भएर बोल्नै पर्‍योः ‘हर्केको हो’

हर्के उसकै फुपूको गाई गोठालो थियो। ऊ लगभग पन्ध्र वर्षको थियो। केटाकेटी नै थियो। ऊ पनि पन्चेतीमा बोलाइयो। ऊ थरथर कामिरहेको थियो। उसलाई पनि सोधियोः

‘ए हर्के, तैँले भुँडी बोकाइस् यो अन्तरीलाई’

‘होइन, त्यसै भन्छिन् यिनी’ हर्के जोगिन खोज्यो।

यतिबेलासम्म हर्केले पनि सिर्कनु खाइसकेको थियो। ऊ चिच्याएर रोयो र भन्यो ‘हो’।

‘कसरी यस्तो भयो ? ए हर्के’ प्रधानले सोधे।

‘हजुर, ओसारीमा एकाछेउमा यी सुत्ने अर्को छेउमा म। जाडो थियो। सँगै सुतेको। नाइँ भनिनन्। अनि यस्तो भयो’

‘हाहाहाहा, जाडो मनाए छ हर्केले’ सबै हाँसे।

‘अघि नै भन्नु नि यो ढ्याङ्ग्रीले’ महिला अगुवाले भनि हालिन्।

यसरी अन्तरी अब ढ्याङ्ग्रीमा रुपान्तरण भई। ढ्याङ्ग्री याने काठको काम नलाग्ने मुढो। शरीर काठको ढ्याङ्जस्तै ठूलो मोटो तर निकम्मा। घर खान नसक्ने, पोइ खान नसक्ने।

०००००००

सबै मान्छे खुसी देखिए। मानौँ उनीहरुले ठूलै कुरा पत्ता लगाएका छन्। त्यहाँ गाउँका भद्र भलादमी, महिला अधिकारकर्मी, मानवतावादी, सबै भेला भएका थिए। ढ्याङ्ग्री अबला थिई। उसलाई संसार थाहा थिएन। उसलाई यौन अधिकारको हेक्का थिएन।

उसलाई डि.एन.ए. टेस्टको बारेमा पनि थाहा थिएन। महिला कर्मी र मानवतावादी महिलाले कुटेको ठाउँबाट रगत बगिरहेको थियो। उसले आकाशतिर हेरी। बदली लागेको थियो। बुलाखोला, सिँदुरे वन र अजिङ्गरे पहिरोलाई सम्झी। ऊ प्रस्फुटन गर्न सक्तिन थिई।

तर उसका अन्तरतहमा एउटा जिज्ञासा आइ रहन्थ्यो। उसको तारी गाई कहिले र कोसँग गर्भवती भई? लोग्ने खोजिएन। छाउरी कुकुरले सन्तान पाई। लोग्ने खोजिएन। काली बिरालीले पनि पाई। लोग्ने खोजिएन। उसले मात्रै किन लोग्ने बताउनु पर्ने?

कहाँ, कसरी र किन भनी उत्तर दिनु पर्ने? किन किन उसलाई यो समाज सभ्य लाग्दैन। स्वतन्त्र लाग्दैन। के आमाको मात्र पहिचानले सन्तानको अस्तित्व हुन्न? खोइ उसको प्रजनन अधिकार त्यतै आकाशतिरै थियो होला। उसको मानव अधिकार त्यतै बादलभित्रै हरायो होला।

ऊ आकाशतिरै हेरिरहेकी थिई र अनवरत हेरिरहेकी थिई। आकाशले गर्जिएर एउटा प्रश्न गर्दै थियो कि महिलाले बिनाइच्छा लोग्नेसँग समर्पण गर्नै पर्छ?, के इच्छित सहवास गर्न ऊ पाउन्न?।

ऊ दयाका लागि, सहयोगका लागि मरिसकेका आमाबाबुलाई सम्झिरहेकी थिई। उसका आँखाबाट दुई थोपा आँसु झरे। आकाशबाट पानी छिट्यायो। सायद उसको अभिशप्त आँसु पखाल्न बाबुआमाको अनुरोधमा भगवान्ले पानी पठाएका थिए कि वा बाबुआमाकै आँसु थियो कि पानी पर्न थालिहाल्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *