विभाजित राजावादी : दुर्गा प्रसाईंको आन्दोलनमा कतिपय स्वतस्फुर्त सहभागी, अधिकांश मौन

डिसी नेपाल
८ मंसिर २०८० १४:१३
724
Shares

काठमाडौं। गुमेको राजसंस्था पुनर्स्थापना गर्ने संगठित दल तथा अभियन्ताहरु अधिकांश भएपनि उनीहरुबीचमा मतैक्यता रहेको देखिएको छैन।

पछिल्लो समय प्रखर रुपमा राजसंस्थाको एजेण्डा उठाएर आन्दोलनमा होमिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा समेत राजसंस्था पुनस्र्थापनाको एजेण्डा बोकेका दलहरुले सहभागीता जनाएका छैनन्।

उनीहरु प्रसाईंको एजेण्डाप्रति पूर्णतया विश्वस्त हुन नसकेको देखिएको छ। लामो समयदेखि राजसंस्थाको पक्षमा संघर्षरत रहँदै आएको राप्रपा समेत प्रसाईंको आन्दोलनलाई पूर्णतया समर्थन गरेको छैन।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही समय अघि एक कार्यक्रममा दुर्गा प्रसाईंको आन्दोलनालाई इंगित गर्दै कटाक्ष गरेका थिए। उनले बैंक तथा वित्तीय संस्थाबाट अरबौं रकम लिएर ऋण तिर्न नसकेको एक जनाले राजसंस्था ल्याउँछु भनेर हिँडेको छ, उसको विश्वास गर्ने नेता कस्ता भन्दै कटाक्ष गरेका थिए।

नेपालमा राजसंस्था पुनस्र्थापनाको एजेण्डा बोकेका दलहरु बग्रेल्ती छन्। तर उनीहरुको आपषी मेल हुन नसक्दा राजावादीहरु संगठित हुन सकेका छैनन्।

सुरुदेखि राजसंस्थाको एजेण्डा बोकेर नेपाली राजनीतिमा परिचित कमल थापा समेतले पछिल्लो समय राजसंस्थाको एजेण्डा परित्याग गरेका थिए। यद्यपि अहिले उनी पुनः पुरानै एजेण्डामा फर्किएका छन्।

पार्टीको महाधिवेशनमा पराजय व्यहोरेको आवेगमा राजसंस्था परित्याग गरेका थापा अहिले फेरि सडक संघर्षको बलमा राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेर हिँडेका छन्।

अहिले दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानले गत फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सुरुआत गरिएको आन्दोलन बुधबार सडक आन्दोलका रुपमा परिणत भएको छ। प्रहरीको व्यापक धरपकडका बाबजुद उनको आन्दोलन जारी रहने बताइएको छ।

तर, बुधबारको कार्यक्रममा राजसंस्थाको एजेण्डा बोकेर हिँडेको राप्रपाले संस्थागत रुपमा समर्थन गर्न सकेन। प्रसाईंको आन्दोलनमा व्यक्तिगत तवरले राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही सहभागी भएपनि राप्रपाले समर्थन गर्ने निर्णय अझैसम्म गरेको छैन।

राजसंस्था पुर्नबहाली जस्तो शक्तिशाली आन्दोलनको जरुरत पर्ने एजेण्डा बोकेका दलहरु एकताबद्ध नहुँदा आन्दोलन कमजोर बनिरहेको थियो। तर दुर्गा प्रसाईंले राजसंस्थाको एजेडासहित वित्तीय संघ संस्थाका कारण प्रताडित मानिसहरुको पक्षमा आवाज उठाएपछि आन्दोलनमा जनउभार आएको छ।

उनको आन्दोलनले थप आकार ग्रहण गर्न सक्ने सम्भावित परिदृश्यको आँकलन गर्दै सरकारले पूवघोषित तीनकुने क्षेत्रमा कार्यक्रम गर्न रोक लगाउँदै व्यापक प्रहरी परिचालन गरेर धरपकड सुरु गरेको छ।

राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेको केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले प्रसाईंको आन्दोलनलाई समर्थन गरेको छ। तथापि अधिकांश राजावादी दल र अभियन्ताहरु दुर्गा प्रसाईंले आफ्नो एजेण्डा हरण गरेको जसरी सशंकित बनेका छन्।

आफ्नो एजेण्डा प्रसाईंले उठाएकोमा स्तस्फुर्त रुपमा हातेमालो गर्नुपर्नेमा राजावादीहरु एक आपसमा संगठित नभएर प्रसाईंले राजस्ंस्था पुनस्र्थापना गरेमा आफूहरुले स्वामित्व लिन नपाइने भयले त्रसित देखिएका छन्।

पूर्वपञ्चको दल राप्रपाले समेत राजसंस्थाको एजेण्डा बोकेको अहिलेको नागरिक बचाउ अभियानलाई औपचारिक समर्थन गर्ने सामर्थ्य नराख्नुले राजावादीहरुको आपषी बेमेल सतहमा उजागर भएको छ।

यसले राजसंस्था पुनस्र्थापनाको आन्दोलन प्रभावकारी बनाउने तर्फ भन्दा राप्रपाले उक्त एजेण्डाको बलमा नेपाली राजनीतिमा संसदीय शक्तिका रुपमा सदैब कायम रहने मोह मात्रै व्याप्त हो कि? भन्ने प्रश्न उत्पन्न गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *