भावी सेनापति हुन जर्नेल सिग्देलका लागि सेनाले बाटो खोल्यो

डिसी नेपाल
८ मंसिर २०८० २१:२८

काठमाडौं। नेपाली सेनाले आफ्नो भावी नेतृत्वका लागि बढुवा प्रक्रिया अघि बढाएको छ। आज शुक्रबार अपरान्ह सात दिने आन्तरिक सूचना जारी गर्दै नेपाली सेनाले रथी पदका लागि पदोन्नतिको प्रक्रिया अघि बढाएको छ।

यो सूचनाका आधारमा रथी पदका एकमात्र दावेदार उपरथी अशोक सिग्देल रहेका छन्। सात दिने सूचनापछि सिग्देलको नाम रथी पदमा पदोन्नतिको सिफारिस सहित रक्षामन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने छ।

सैनिक स्रोतका अनुसार रथी पदमा पदोन्नतिको प्रक्रिया शुरु गर्नुअघि जर्नेल सिग्देलको शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतका सबै कागजातहरु छानविन गरिएको थियो।

हालै राजीनामा दिएका उपरथी ताराध्वज पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर विवाद सतहमा आएपछि पाण्डेका लागि भावी सेनापति हुने बाटो रोकिएको थियो। सेनाले आन्तरिक छानविन गर्नुपर्ने भएपछि उनले राजीनामा दिएर बाटो छाडिदिएका थिए। उनको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गरिसकेको छ।

भावी सेनापतिका रुपमा पक्काजस्तै भइसकेको पाण्डेको अकस्मात बहिर्गमनले सेनाभित्र हलचल आएको थियो। त्यसपछि बेनामे उजुरीहरु हालेर एकले अर्काको खुट्टा तान्ने काम तीब्र बनेको थियो। यी सबै लफडाहरुलाई पार लगाउँदै प्रधानसेनापति प्रभुराम शर्माले जर्नेल सिग्देलको बढुवा प्रक्रिया अघि बढाएका छन्।

सेनामा दुई रथी पद छन्। रथी सरोजप्रताप राणाले अवकास पाएपछि एक पद खाली छ। यही पदमा पदपूर्ति भएपछि हालका प्रधान सेनापति शर्मा अवकास हुँदा वरिष्ठ रथीका हैसियतले सिग्देल प्रधानसेनापति बन्ने छन्। हाल रथी सिताराम खड्का पनि चाँडै अवकाश पाउँदै छन्।

रथी बढुवामा अख्तियार लगायतका अन्य निकायहरुमा बेनामे उजुरी पर्ने र त्यसले सैनिक संरचनालाई विवादमा ल्याउने भएपछि सेनापति प्रभुराम शर्मा बेनामे उजुरीको कुनै अर्थ नभएको र त्यस्ता उजुरीको सेनाले वास्ता नगर्ने निर्देशनसमेत जारी गरेका छन्।

यो निर्देशन उनले रथी बढुवाको सात दिने सूचनामा समेत उल्लेख गर्न लगाएको बताइएको छ। सेनापति शर्माले आन्तरिक बखेडा झिक्नेहरुविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गरेपछि एकअर्काविरुद्ध वेनामे र अप्रमाणिक उजुरी हाल्नेहरु तर्सिन थालेका छन्।

सेनाभित्रका सबै कागजातहरु हेर्ने र व्यवस्थित गर्ने सैनिक सचिवालयमा बसिसकेका सैनिक अधिकृतले यस्तो अनावश्यक बखेडा निकालेर सैनिक संगठनको गोपनीयता र एकतामा भाँजो हालेको भन्दै त्यस्ता अधिकृतको छानविन गर्नुपर्ने माग पनि सैनिक संगठनभित्र उठेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *