कफिनमा पनि फर्किइनन् कुमारी

डिसी नेपाल
१३ मंसिर २०८० ९:२२

काठमाडौं। गैरकानुनी रूपमा इराक पुगेर आफ्नै कोठामा आत्महत्या गरेकी ठुलपाखर फेटा–२ सिन्धुपाल्चोक घर भएकी कुमारी लामाको इराकमै अन्तिम दाहसंस्कार गरिएको छ । गत १७ अक्टोबरका दिन आफ्नै डेरा कुर्दिस्तान अर्बिलमा मृत्यु रोजेकी लामाको मृतककै परिवारको अनुरोधमा इराकमै अन्तिम दाहसंस्कार गरिएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले गत आइतबार अर्बिलस्थित गोयर भन्ने स्थानमा मृतक लामाको प्रार्थिव शरीरलाई अन्तिम दाहसंस्कार गरिएको बताए । उनको अन्तिम दाहसंस्कार गर्न मिक्मार तामाङ, कुवेतस्थित नेपाली दूतावास, कुर्दिस्तान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख र कन्सुलर सेवाकी रूपा तामाङले सहयोग गरेको उनले बताए । १० वर्षअघि इराक पुगेकी उनी सो अवधिमा एकपटक मात्रै नेपाल आएकी थिइन् ।

‘यहाँ गैरकानुनी रूपमा आएको भए पनि उनी पछि कानुनी रूपमै बसेकी रहिछन्,’ श्रेष्ठले भने । नेपाल सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुग्ने नेपाली महिला कामदारलाई बिरामी भएको अवस्थामा औषधि उपचारको पनि समस्या हुने गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरूलाई भने फाइदा नै हुने गरेको छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । एनआरएनएले बग्दाद आसपास क्षेत्रमा घरेलु कामदारका रूपमा आउँदा धेरै विचार गरेर आउन पनि अनुरोध गरेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *