डडेलधुराबाट देउवालाई फोन गर्ने ओलीले अछाम पुग्दा भीम रावललाई सम्झिएनन्

डिसी नेपाल
१७ मंसिर २०८० १७:००

काठमाडौं। नेकपा(एमाले)ले मध्यपहाडी पदयात्रा सुरु गरेको छ । एमालेको बैतडीको झुलालघाटबाट बिहीबार उद्घाटित मिशन ८४ लक्षित मध्य पहाडी पदयात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने जनाइएको छ।

यही पदयात्राका क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गर्दै तपाईंको गृहजिल्लामा आएको बेलामा सम्झिएको बताएका थिए।

उनले जय नेपाल भन्दै फोन सम्पर्क गरेपछि देउवाले आफ्नो गृह जिल्लामा स्वागत गरेको जनाएका थिए। ओलीले उक्त फोन सम्बाद आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

आफ्ना निकटतम प्रतिस्पर्धी देउवाको गृह जिल्ला पुग्दा उनलाई सम्झिएका ओलीले आफ्नै पार्टीका पूर्वउपाध्यक्ष रहेका भीम रावललाई भने एमालेको राष्ट्रिय कार्यक्रम मध्यपहाडी पदयात्रामा सहभागीताका लागि औपचारिक जानकारी समेत गराएनन्।

गत दशौं महाधिवेशनमा पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आफूसँग प्रतिस्पर्धा गरेका रावललाई ओलीले सम्झिएनन् । उनले एमालेको राष्ट्रब्यापी कार्यक्रमको बारेमा समेत संस्थागत रुपमा सहभागीताका लागि सम्पर्क गर्न समेत आवश्यक ठानेनन्।

शनिबार नेता रावलको गृह जिल्ला अछाम पुगेका ओलीले रावललाई कार्यक्रममा उपस्थितिको लागि कुनै जानकारी गराउन रुचीकर लागेन। आफ्नै गृह जिल्लामा कार्यक्रम गर्दापनि आफूलाई खबर नगरिएको रावलले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

आफ्नै गृहजिल्लामा एमालेको राष्ट्रियस्तरको कार्यक्रम हुँदा समेत सहभागीताका लागि सम्पर्क नगरिएकोमा रावलले असन्तुष्टि व्यक्त गरेका छन्। उनले डिसी नेपालसँगको कुराकानीमा आफूलाई प्रदेश अध्यक्षले कार्यक्रमको बारेमा जानकारी गराएपनि पार्टीको केन्द्रीय कार्यक्रम भएकाले केन्द्रबाट कुनै जानकारी नगराइएको बताए ।

रावलले अछामको कार्यक्रममा आफ्नै तवरले सहभागी हुनसक्ने सम्भावना औंल्याएका थिए । यद्यपि शनिबार पार्टीको कार्यक्रममा सहभागी नगराइए पनि उनी आज (आइतबार) स्वेच्छाले गृह जिल्ला अछाम जान लागेको जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *