काठमाडौंमा ‘महाजात्रा’

डिसी नेपाल
१९ मंसिर २०८० ११:१४

काठमाडौं। मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे। अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन्। ती मध्येका एक हुन् निर्देशक भट्टराई।

नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ नपाईरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित गर्‍यो। उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङकनमा छन्।

काठमाडौंमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायांकन भइरहेको छ। ’जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायतले अभिनय गरिरहेका छन्।

केही समय अगाडि घास काट्ने क्रममा भीरबाट लडेर घाईते भएका अभिनेता प्रकाश घिमिरेले यसै साता सेट ज्वाइन गर्ने निर्देशक भट्टराईले बताए। शृङ्खलाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा उनी जानकार छन्। उनले २९ औँ दिनमा छायाङ्कन भइरहँदा तय गरिएको सेड्युल अनुसार नै काम भइरहेको बताए।

‘छायाङ्कन रमाइलो भइरहेको छ। तेस्रो पटक शृङ्खलामा काम गरिरहेका छौं। महाजात्रा भएकाले कथा,प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं। हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’, निर्देशक भट्टराईले भने।

छायाङ्कनमा व्यस्त फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बन्ने बताए । ‘मुन्ना’ मार्फत उनले यसपटक आम मानिसको समस्यालाई उजागर गर्ने बताए ।

‘महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौं । छायाङ्कनको क्रममा भेटिने दर्शकले फिल्म बारे जिज्ञासा राख्नुका साथै पछिल्ला दुई शृङ्खलाको विषयमा कुरा गर्नु हुन्छ । यसकारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौं’, अभिनेता झाले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले काठमाडौँसँगै तराईको केही भागमा छायाङ्कन हुने बताए ।

‘दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ । त्यसैले अघिल्ला शृङ्खला भन्दा प्राविधिक पक्षमा मात्र नभई विषयवस्तु र कथामा पनि बलियो बनाउन कुनै कसर बाँकी राखेका छैनौँ’, अभिनेता बानियाँले भने ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ ।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ। नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले अधिकाँस देशहरूमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन गर्ने तयारी भएको बताए । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *