गाजामा युद्धविरामबारे सुरक्षा परिषदमा मतदान, राष्ट्रसंघका प्रमुखले भने – गाजा ‘विनाशको संघारमा’

डिसी नेपाल
२३ मंसिर २०८० १३:०५

काठमाडौं । गाजामा तत्काल युद्धविरामका सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा मतदानका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा ‘हामी विनाशको छेउमा पुगेका छौं’ भनेका छन् ।

उनले भने “मानवीय त्रासदीले गाजाका सम्पूर्ण जनतालाई ग्रसित गरेको छ।” उनले गाजामा सार्वजनिक व्यवस्था पूर्णरुपमा ध्वस्त हुने र मानवीय सहायता पूर्णरुपमा रोकिने खतरा रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघको धारा ९९ प्रयोग गरेको बताए ।

उनले इजिप्टमा ठूलो संख्यामा बसाई सर्ने खतराबारे चेतावनी दिँदै गाजा युद्ध अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिका लागि पनि खतरा भएको बताए।

गुटेरेसले भने, “गाजामा संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा अभूतपूर्व खतराको सामना गरिरहेको छ। “हाम्रा १३० कर्मचारीहरू पहिले नै मारिएका छन्, जसमध्ये धेरै उनीहरूको सम्पूर्ण परिवारसहित मारिए।”

संयुक्त राष्ट्रसंघको इतिहासमा एउटै द्वन्द्वमा यति धेरै कर्मचारी मारिएको उनले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवले हमासको आक्रमणका लागि प्यालेस्टाइनी जनतालाई सामूहिक सजाय दिनु कदापि न्यायोचित हुन नसक्ने बताए ।

उनले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएकोले जनतालाई यहाँबाट विना सुरक्षा सर्न भनिएको बताए ।

संयुक्त राष्ट्रको धारा ९९ को आह्वानलाई अभूतपूर्व मानिन्छ किनभने विगत केही दशकहरूमा कुनै पनि संयुक्त राष्ट्र महासचिवले यो शक्ति प्रयोग गरेका थिएनन्।

अमेरिकाले गाजा युद्धमा इजरायलको कार्यशैलीको आलोचना गरेको छ । इजरायलले आम जनताको सुरक्षाका लागि गरेको वाचा र गाजामा जमिनमा भइरहेको अवस्थाबीच ठूलो अन्तर रहेको पनि अमेरिकाले गुनासो गरेको छ ।

इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा स्थलगत अपरेशनका क्रममा मारिएका छन्। गाडी आइसेनकोट हाल इजरायलको युद्ध मन्त्रिपरिषद्मा मन्त्री छन्।

इजरायलले दर्जनौं प्यालेस्टिनी पुरुषलाई हिरासतमा लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । बीबीसीले यो भिडियो फुटेज प्रमाणित गरेको छ, जसमा हिरासतमा रहेका प्यालेस्टिनीहरू नग्न र धेरैजसो अन्डरवियरमा मात्र देखिएका छन्।

इजरायली हवाई आक्रमणमा गाजामा बस्ने प्यालेस्टाइनी लेखक र साहित्यकार रेफात अलारिरको मृत्यु भएको छ । उनको मृत्युपछि प्यालेस्टाइनी र विश्वभरका उनका फ्यानहरूमा शोक छाएको छ ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीमा भएको भूमिगत कारबाहीका क्रममा अल-अजहर विश्वविद्यालयमा रहेको हमासको बेस ध्वस्त भएको दाबी गरेको छ।

छापा मार्ने क्रममा विश्वविद्यालय क्याम्पसबाट एक किलोमिटर टाढा विद्यालयसम्म पुग्ने सुरुङ फेला परेको थियो । सेनाले त्यहाँ विस्फोटक उपकरण, रकेटका पार्टपुर्जा, क्यामेरा र रेडियो बरामद गरेको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *