कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्यतर्फ स्नातकोत्तर तहको पढाइ हुने

डिसी नेपाल
२३ मंसिर २०८० १४:३६

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकायमा पढाइ हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो।

यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए।

उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ।

प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक एक–एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ।

“लामो समयको प्रयासपछि प्रतिष्ठानले जनस्वास्थ्यतर्फ एमडी/एमएस जनशक्तिको अध्ययन–अध्यापन गर्ने अवसर पाएको छ”, उपकुलपति रावलले भने, “हिमाली जिल्लाका नागरिकका लागि यो ठूलो उपलब्धि हो ।”

चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुने डाक्टर पढाइ प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुंगा सावित हुने उनको भनाइ थियो । प्रतिष्ठानले यसअघि पनि स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको पढाइ सञ्चालन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *