रुसी सेनामा ४ हजार नेपाली

डिसी नेपाल
२७ मंसिर २०८० ८:३९

काठमाडौं। नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् ।

यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले बताए । आफूहरू पनि केही दिनमै युद्धका लागि मैदानमा उत्रने तयारीमा रहेको उनले बताए ।

‘यहाँ आएको दुई महिना भयो भोलि, पर्सि हामी पनि लडाइँ जाँदै छौं, के हुन्छ थाहा छैन, रुसी सेनामा हामी ३ देखि ४ हजार जनासम्म नेपाली छौं,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती युवाले राजधानीसँग भने, ‘यहाँ ठाउँनुसार खटाउँछ, खोइ कहाँ परिने हो ? थाहा छैन, ठूलो सपना बोकेर आइयो, युद्ध त लड्नैप¥यो, मरिने हो कि बाँचिने हो ? केही थाहा हुँदैन ।’ रुसी सेना अग्र मोर्चामा खटिने गरेको र आफूहरूले पछाडिबाट साथ दिने उनले बताए ।

‘अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ नि ? भन्ने प्रश्नमा उनले त्यो त बाहिर आएको मात्र ६ जना हो, मृत्यु भएका र बाहिर नआएका त धेरै भएको ती युवाले बताए । आफूहरू धेरै नेपालीसँग सम्पर्कमा नरहेको र ठूलो संख्यामा रुसी सेनामा भर्ती भएका नेपालीहरूले ज्यान गुमाएको हुनसक्ने ती युवाको भनाइ छ ।

त्यहाँ पछिल्लो अवस्था पनि भयावह रहेको रुसी सेनामा कार्यरत नेपालीहरू बताउँछन् । नेपाल सरकारको तथ्यांकनुसार अहिलेसम्म ६ नेपालीले रुस–युक्रेन लडाइँमा ज्यान गुमाइसकेका छन् भने दुई नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् । सरकारले रुस जान रोक लगाए पनि मानव तस्करहरूले गैरकानुनी बाटो हुँदै मोटो रकम लिएर रुसी सेनामा नेपालीहरूलाई पठाइरहेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेको भनेर विभिन्न भिडियो पोस्ट भने भइरहेका छन् । सरकारले रुस जानुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट ‘एनओसी’ लिनुपर्ने जनाएको छ ।

अतः कसैको प्रलोभन वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन अनुरोध गर्दै आए पनि अझै रुसी सेनामा जाने नेपालीको संख्यामा कमी आएको छैन । प्रहरीले गत साता रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

सोमबार मात्र प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका थिए ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *