प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको ‘अर्थपूर्ण’ राजीनामा

भन्छन्- कामकाे मूल्यांकन भएन

शरद रिजाल
२७ मंसिर २०८० १३:०७

काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएपछि माओवादीको आन्तरिक राजनीतिमा तरंग उत्पन्न भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेका व्यक्तिहरुको विषयमा संसदले नै प्रश्न उठाइरहेको बेलामा प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजनीनामालाई अर्थपूर्ण मानिएको छ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेल प्रधानमन्त्री दाहालको प्रमुख राजनीतिक सल्लाहकारमा २०७९ माघ ९ गते नियुक्त भएका थिए।

उनी गत आमनिर्वाचनमा सिन्धुली-२ बाट उम्मेदवारको आकांक्षी रहेपनि टिकट पाउन सकेनन्। विगतका निर्वाचनमा निरन्तर उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका गजुरेल यस पटक टिकट नपाएपछि नेतृत्वसँग असन्तुष्ट थिए।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले गजुरेललई जनमत नभएको भन्दै टिकट नदिएपछि तिक्तता बढेको थियो।

तत्कालीन बाम लोकतान्त्रिक चुनावी गठबन्धनका साझा उम्मेदवार उनलाई नबनाएर अध्यक्ष दाहालले सिन्धुली-२ मा लेखनाथ दाहाललाई उम्मेदवार बनाएका थिए। उनी अहिले सोही क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभाको सदस्यमा बहाल छन्।

उनको असन्तुष्टिलाई साम्य गर्न प्रधानमन्त्री  दाहालले आफ्नो सल्लाहकारमा नियुक्त गरेका थिए। तर, एक वर्ष नबित्दै गजुेलले राजीनामा दिएपछि माओवादीको आन्तरिक राजनीतिमा ठूलै तरंग आएको छ।

मैले सरकार सफल बनाउन केही नीतिगत विषय प्रधनमन्त्री समक्ष राखेको थिएँ। तर त्यसलाई कार्यान्वय गर्न उहाँ उदासिन देखिएपछि पदमा रहन उचित लागेन

गजुरेलले मंसिर २० गते राजीनामा बुझाएपनि केही दिनपछि मात्रै यो विषय बाहिरिएको थियो। उनी प्रधानमन्त्री दाहालललाई नै भेटेर आफूले राजीनामा दिएको बताउँछन्। यद्यपि उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन।

राजीनामाको कारणबारे गजुरेलसँग जिज्ञासा राख्दा उनले स्वीकृत नहोउञ्जेल सार्वजनिक नगर्ने प्रण गरे। राजीनामा पत्रमै कारणबारे खुलाइएको उनको प्रष्टोक्ति छ।

प्रधानमन्त्रीले राजीनामा स्वीकृत बारे आफूसँग भेटेर सल्लाह गरेर निर्णय लिने बताएपनि आफ्नो अहिलेसम्म भेट हुन नसकेको जानकारी दिए।उनले आफ्नो राजीनामा स्वीकृत गरेर सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘मैले राजीनामा दिनुको कारण त्यही पत्रमा खुलाएको छु। स्वीकृत भएपछि बाहिर सार्वजनिक गर्छु, अहिले त्यसबारेमा कतै सार्वजनिक गरेको छैन।’

सरकार सञ्चालन बारे केही नीतिगत विषयहरु आफूले प्रधानमन्त्रीसमक्ष राखे पनि त्यसको सुनुवाइ हुन नसकेको उनले जनाए। सरकार सफल बनाउनका लागि तय गरिएको आफ्नो प्रस्तावलाई प्रधानमन्त्रीले गम्भीरतापूर्व नलिएको उनले गुनासो गरे।

उनले भने, ‘मैले सरकार सफल बनाउन केही नीतिगत विषय प्रधनमन्त्री समक्ष राखेको थिएँ। तर त्यसलाई कार्यान्वय गर्न उहाँ उदासिन देखिएपछि पदमा रहन उचित लागेन।’

सरकारको गति पछिल्लो समय खस्किएको उनको बुझाइ छ। सुरुवाती कालमा सरकारप्रति देखिएको अशा विस्तारै निराशामा परिणत भएको उनको ठहर छ।

सुरुमा उल्लासमय रहेको सरकारको प्रस्तुती अहिले निरीह देखिन थालेको बताउँदै उनले अन्य कुनै बार्गेनिङका लागि नभई सरकारलाई सफल बनाउने नीतिगत विषयमा असहमति जनाइएपछि राजीनामा दिएको दाबी गरे।

‘अब सरकारले पुरानै गतिमा काम गर्ने देखिएन। सरकारलाई सफल बनाउन मैले भूमिका खेल्ने हो’, गजुरेलले भने, ‘तर परिस्थिति अर्कै निर्माण भएपछि म रहनुको कुनै अर्थ देखिएन अनि राजीनामा दिने निर्णयमा पुगेको हुँ। अब राजनीतिक भूमिकामा सक्रियता बढाउँछु।’

गजुरेलले सरकारमा रहेर जनपक्षीय काम गर्न नसक्ने अवस्था देखेरै पदबाट बाहिरिएको बताए। सरकारलाई सफल बनाउन सक्रिय भूमिका खेले पनि त्यसको कदर नभएको उनको दुखेसो छ।

आगामी राजनीतिक भूमिकाबारे अझै निक्र्योल गरिनसकेको जनाउँदै उपमहासचिव गजुेलले पार्टीले तय गर्ने जिम्मेवारी बहन गर्न प्रतिबद्ध रहेको खुलाए।

पछिल्लो समय नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग माओवादीको एकता प्रक्रिया अन्तिम तयारीमा रहेको छ। कुनै समय बाबुरामलगायतको समूहको नेतृत्व गर्दै उनले मोहन विक्रम सिंहको नेकपा(मसाल)बाट विद्रोह गरेका थिए।

२०४८ सालमा दाहाल नेतृत्वको तत्कालीन नेकपा(एकताकेन्द्र)मा बाबुरामसहितका नेताहरुको नेतृत्व गर्दै गजुरेल समाहित भएका थिए। त्यसयता उनी दाहाल नेतृत्वको पार्टीको विभिन्न राजनीतिक भूमिकामा सक्रिय छन् ।

बाबुरामसँग एकताको सन्निकट गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएपछि कतिपयले उनको खेमामा लागेर माओवादीमा छुट्टै गुट चलाउने पूर्व तयारीको आँकलन गर्दै राजनीतिक वृत्तमा चर्चा गर्न थालिएको छ। यस बारेमा डिसी नेपालले गरेको प्रश्नमा उनले विषयान्तर गर्न चलाइएको हल्ला भएको जनाए।

उनले भने, ‘विषयलाई अन्यत्र मोड्न चलाइएका अफबाह मात्रै हो। यसमा कुनै सत्यता छैन। नीतिगत विषयमा असहमति भएपछि दिएको राजीनामालाई विषयान्तर गर्न अन्यत्र मोडिएको मात्रै हो।’

याे पनि पढ्नुस्

प्रचण्डलाई ३२ वर्षदेखि साथ दिएका हरिबोलकाे माओवादीमा उपेक्षा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *