शेखर-गगनको गठबन्धन कति बलियो?

डिसी नेपाल
२८ मंसिर २०८० ७:५२

काठमाडौं। पार्टीमा विद्रोह गरेर कोशी प्रदेशमा एमालेको सहयोगमा डा. खेशर कोइरालाले आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि चिसिएको सम्बन्ध बुधबार संस्थापन इतर पक्षको भेलामा आएर सुधारिएको छ।

मंगलबार नै तय भएको शेखर समूहको बैठकमा महामन्त्री गगन थापा उपस्थित नहुने भएपछि बुधबारका लागि बैठक सारिएको थियो। मंगलबार नेता अर्जुननरसिंह केसीको मध्यस्थतामा बुधबारको बैठकमा सहभागी हुन थापा सहमत भएका थिए।

तर बुधबारको बैठकमा डा. कोइराला र महामन्त्री थापाले आफूहरुबीच कुनै समस्या नरहेको दाबी गरे। त्यतिमात्रै होइन, गगनले त डा. शेखरलाई संसदीय दलको नेता नै बनाउनुपर्ने बताए। जबकि यसअघि संसदीय दलको चुनावमा शेरबहादुर देउवासँग गगनले चुनाव लडेका थिए।

बैठकमा महामन्त्री थापाले अब सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने भन्दै संसदीय दलको नेता फेर्न आजैबाट लाग्नुपर्ने बताए।

‘अब शेखर कोइरालालाई बनाउन अघि बढौं। देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस योभन्दा अझै खराब अवस्थामा पुग्छ । देउवामा पार्टी चलाउने कार्यक्षमता छैन। महासमिति बैठक त समयमा गर्न नचाहने सभापतिले महाधिवेशन पनि समयमा गर्दैनन्। २०८२ मा कांग्रेसको १५औँ महाधिवेशन पनि हुँदैन,’ उनले भने।

त्यसो त शेखर र गगनबीच मुद्दालाई लिएर कुनै मतभेद छैन। खाली एकआपसमा छलफल र परामर्श नभएको भन्ने विषयले दुई नेताबीचको दूरी बढेको थियो। तर बुधबारको बैठकले दुई नेताबीचको दूरी मेटिएको दाबी गरिएको छ।

इतर समूहको नेतृत्व गरिरहेका कोइरालाले नेपाली कांग्रेस र देशको अवस्था ठिक नरहेको टिप्पणी गर्दै भने, ‘अहिले नेपाली कांग्रेस र देश दुवै ठिक रूपमा चलेका छैनन्। तर, हाम्रो समूह ठिक रूपमा चलेको छ।’ नेता डा. कोइरालाले आफ्नो नेतृत्वको समूहमा कुनै समस्या नरहेको दाबी गरे।

‘यो हाम्रो नियमित बैठक हो, केही महिनादेखि बस्न सकेको थिएन। हामीले त्यति धेरै चिन्तित हुनुपर्ने छैन। छलफल नहुँदा केही कुरा आएका थिए। तर, मिडियामा भनेजस्तो हाम्रो समूहमा कसैसँग कुनै मतभेद र विवाद छैन। नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन। यो नियमित छलफल हो। यसलाई लिएर विवाद भएको, मतभेद बढेको भनेर टिप्पणी गर्नुको औचित्य छैन,’ उनले भने।

बैठकमा उनीहरुले एकै स्वरमा अहिले नेपाली कांग्रेस र मुलुक ठिक ढंगले नचलेको बताए। राजनीतिक अराजकता बढेको, भ्रष्टाचार बढेको, विभिन्नकाण्ड बाहिरिएको र भ्रष्टाचार तथा तस्करीका घटना बढ्दै गएको र सरकारले प्रभावकारी काम गर्न नसकेको उक्त समूहको निष्कर्ष छ।

इतर समूहको बैठकमा नेताहरूले डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाव दिएका छन्।

इतर समूहको बैठकमा बोलेका नेताहरूले डा. कोइराला र महामन्त्री थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका हुन्। नेताहरूले दुवैजनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेतसमेत गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *