जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा

डिसी नेपाल
२८ मंसिर २०८० २१:३५
16
Shares

भोजपुर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका आइपुगेका उनले यस्तो बताएका हुन् ।

मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने बताए । मध्यपहाडी क्षेत्रमा धेरै उत्पादनशील तथा सम्भावना बोकेका क्षेत्र रहेकाले आएका मागका आधारमा जनताको जनजीवनसँग जोडिएका विषयमा एमालेले ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

“जनताका समस्या पहिचानका लागि एमालेले यो यात्रा तय गरेको हो”, अध्यक्ष ओलीले भने, “हामीले जनताका तर्फबाट आएका धेरै मागपत्र लिएका छौँ । जनतालाई केन्द्रमा राखेर उनीहरूको समृद्धिका निम्ति भावी योजना तयार गछौँ ।”

पूर्वप्रधानमन्त्री ओलीसमक्ष पौवादुङमा गाउँपालिकाले आफ्ना समस्यासँगै गाउँपालिकाको गौरवको योजनाको रूपमा रहेको तिवारीभञ्याङ–अँधेरीघाट सडक निर्माणसँगै अरुण नदीको अँधेरीघाटमा पक्की पुल निर्माणको पहलका लागि मागपत्र हस्तान्तरण गरेको छ ।

यसैबीच, तेह्रथुमबाट रासस समाचारदाताले सम्प्रेषण गरेको समाचारअनुसार सङ्कल्प यात्रामा आजै वसन्तपुर आइपुग्नुभएका अध्यक्षओलीले जनसभालाई सम्बोधन गर्दै नेपालीको एउटै समस्या गरिबी र अभाव हटाउन आफ्नो दल चिन्तनशील रहेको बताए। उन गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएकाले तिनलाई हटाउन पार्टीले सक्दो सहयोग गर्ने बताए । माटोअनुसारको उत्पादन गर्न र कृषिलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसङ्गमा नेता ओलीले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु अपरिहार्य भएको बताए । उनले देशको स्वाधीनता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत विकासका सम्भावनाबारे जानकारी लिन अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *