करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

डिसी नेपाल
१ पुष २०८० ६:२७

काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा लगाइदिन्छु तिमीहरू काम गर भन्छ । अब हामी के गर्ने ?’

उनीहरूले आफूहरूलाई काम गर्न धेरै गाह्रो भएको पनि बताएका छन् । ‘यहाँ हामीहरूलाई काम गर्न धेरै गारो भएकाले कोही पनि बस्न चाहँदैनन्, तर कपिलले जबर्जस्ती गर्दै सबैलाई थर्काउँछ अब साथीहरूको कन्ट्याक सकिँदा पनि घर जान पाइँदैन,’ उनले थपे ।

कम्पनीले समयमा तलब पनि नदिने गरेको र बल्लबल्ल केही महिनाको दिए पनि अझै एक महिनाको तलब पाउन नसकेको उनीहरूले बताएका छन् ।

‘मेरो २ वर्षको करार अवधि सकिएर पनि अहिले २८ महिना चल्दैछ, सबै साथीहरू फिनिस जाने भनेर बारम्बार कपिललाई भन्दा पनि टेर्दैन, अनि अहिले मान्छे छैन काम गर म तिमीहरूको अर्कामा लागाइदिन्छु भन्छ, धम्क्याउँछ, के गर्ने होला ? साथीहरू सबै मधेश प्रदेशका छन् । बाझ्न, झगडा गर्न डराउँछन् हामीलाई जसरी भए पनि यहाँबाट निकाल्नु प¥यो,’ उनले थपे ।

पछिल्लो समय साउदीमा कार्यरत नेपाली कामदारहरूलाई रोजगारदाता कम्पनीहरूले करार अवधि सकिएर पनि घर नपठाई जबर्जस्ती काममा लगाउने गरेको गुनासो बढ्न थालेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् ।

करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले घर नपठाए रियादस्थित नेपाली दूतावासमा आफ्नो समस्या राख्न सकिने व्यवस्था रहेको छ । अर्को विकल्प भनेको साउदीको श्रम अदालतमा गएर उजुरी गर्न सकिने छ । पछिल्लो समयमा रोजगारदाता कम्पनीले विभिन्न कारण देखाउँदै कामदारलाई समयमा तलब नदिने तथा करार अवधि सकिएपछि पनि घर नपठाउने गरेका छन् ।

साउदीको परिवर्तित कानुनअनुसार करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमतिबिना नै देश छोड्ने भिसा (एक्जिट भिसा) को अनुमति दिने छ । श्रमिकलाई आकर्षित गर्न भन्दै करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरिएको छ ।

आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठुलो सजायको सामना गर्नुपर्ने त्यहाँको श्रम मन्त्रालयले जनाएको भए तापनि कार्यान्वयन फितलो देखिएको छ । साउदी सरकारले रोजगारदाताले अनुमति नदिए पनि करार अवधि सकाएर फर्किन दिने नीति ल्याए पनि त्यो कार्यान्वयन नभएको त्यहाँ कार्यरत नेपाली कामदारले बताउने गरेका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *