किन आकाश रोइरहेको छ ?

शंकरप्रसाद रिजाल
७ पुष २०८० ७:२५

आज किन आकाश मलिन छ। बिहानैदेखि दुवै आँखाबाट अविरल आँसुका बलिन्द्र धारा बगाई धर्तीसँग केही मागे जस्तो गरि रोइरहेको छ। हुनपनि किन नमागोस्। सधैं हामी जस्तो झोली तुम्बा, आशा गुर्जा कुनैपनि नबोकी निरन्तर सारा ज्ञानीलाई मोक्ष प्राप्ति गराउनको लागि बिकुल फुकिरहहेको हुन्छ।

सधैं मोक्षको वृत्ताकासमा फेरी लगाइ हिँड्ने आकाशको बर्णन गर्न हजार जिब्रा भएका शेषनागले पनि नसकेकोलाई हामीजस्ता फास्फुसेहरुको के सामर्थ हुन्छ र? सत्ययुगदेखि कलियुगसम्म पनि बिभिन्न युगका युगपुरुषहरुले पनि यिनै आकाशको शून्य चैतन्यको रसपान गरी आफू पनि चिदाकाशमा विलीन हुन पुगेको कुरा हामीलाई थाहा भएकै हो।

त्यसैकारणले कुनैपनि मानिस आफ्नो सम्पूर्ण झन्झट र बन्धनबाट मुक्त हुन आकाश नै हेर्ने गर्छन्। आज यही आकाश हेरी आकाश जत्रै भै आफ्नो सोचाइ बढाउने हो भने यहाँ कसले के प्राप्त नगरेको छ र, र अनगिन्ती कल्पनाका तरंगहरुले आपूुलाई शिरमाथि श्रीपेच पहिराइ सधैं आफूलाई मेधावी राजा समान बनाउन सक्दछन्।

अरुको त के कुरा, महात्मा गौतम बुद्ध पनि यही आकाशको चिदाकाशमा डुबी आफूलाई अन्तत चिदाकाशमा लुकाउन सफल भएका थिए। यस्तो आकाश किन हो कुन्नि घोप्टो परी अविरल रोइरहेको छ। स्वयम् मोक्ष प्रदान गर्ने आकाशको आज यो हरि बिजोग किन भएको छ? यो कुरा कसले बुझ्ने र यहाँ!

आज आकाशको रोदनले धर्ती निथ्रुक्क भिजेकी छिन्। किन कसैले वास्ता गर्दैनन्? किन आज यही धर्तीमा बस्ने सम्पूर्ण मानिसले यो धर्तीलाई छाता ओढाउँदैनन्? पानीले निथ्रुक्क भिजेकी धर्तीको आज सबै शरीर भिजेर शरीर भित्रका अंग बाहिरबाट स्पष्ट देखिने भएको छ।

कतै खाल्डो, कतै बाढी पहिरो त कतै माटो बालुवाको थुप्रो। सरकार असक्षम छ। केवल एकएक पोका चाउ चाउ, दुई पाते जस्ता एक बोरा चामल, एक पोका नुन र एक लिटर तेल मट्टीतेल प्रदान गरी साथमा अनगिन्ती बिकास, सुख, शान्ति र समृद्धिका पोकाको आस्वाशनको पुलिन्दा बोकी निरन्तर खोला नाला र पहाडको किनारामा हुंकार छोडी बसेका छन्। यसको परिणाम त फेरि धर्तीलाई रुवाउनु शिवाय केही हुँदैन।

नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने सरकारको टालटुले काम, ठेकेदारको दमदार नाफा, कामचोर कामदार र ठाउँ ठाउँमा हुने गरेको चरम आर्थिक चुहावटले गर्दा देश ५० वर्षदेखि यस्तै अवस्थाबाट गुज्रिरहेको छ। के खाल्डो खन्ने र पुर्ने मात्रै सरकारको जिम्मेवारी हो? के हाम्रो देश नेपालका नेपालीले यो भोग्ने पर्ने पूर्व जन्मको पुनर्संस्कार हो? पक्कै होइन।

यो त प्रत्येक सरकारको सोच र संस्कृतिको अपरिपक्वता,अकर्मंण्यता र अदूरदर्शिताको प्रबलतामात्र हो। तसर्थ आकाश रोएता पनि धर्ती नरोओस्। उनमा कतै चोट नलागोस्। चिन्ता नबढोस्। दिनानुदिन यौवनले गति लियोस्। सुन्दरता बढोस् र धर्तीको बैभवता बढोस्। यो सुन्दरता देखेर आकाश रुनुको सट्टा हाँस्ने पक्का छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *