बडीमालिका जाने क्रममा सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको मृत्यु

डिसी नेपाल
३ जेठ २०८३ १०:००

बाजुरा।  बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भू-स्वर्ग बडीमालिकाको दर्शनका लागि जाने क्रममा एकजना तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ। भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत विश्वराज पन्थीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक पन्थीसहित चारजनाको टोली बडीमालिका तर्फ प्रस्थान गरेको थियो। बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जङ्गलमा पुगेका बेला पन्थी एक्कासि बेहोस भएर ढलेका थिए।

उनलाई टोलीका अन्य सदस्यहरूले तत्कालै उद्धार गरी जिल्ला अस्पताल मार्तडी पुर्‍याएका थिए। तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

मृतक पन्थीको शवलाई अहिले जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। आज काठमाडौँ र भैरहवाबाट उनका आफन्तहरू बाजुरा पुगिसकेपछि शवको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

बडीमालिका दर्शनका लागि मृतक पन्थीसँगै राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा समूहका उप-सचिव ३४ वर्षीय शिवहरी न्यौपाने (घर: अर्घाखाँची छत्रदेव गाउँपालिका–७), ३२ वर्षीय शाखा अधिकृत जीवन घिमिरे र ३५ वर्षीय लेखापाल उमेश शर्मा बाजुरा पुगेका थिए। तीब्र उकालो र लेक लाग्ने (अक्सिजनको कमी) समस्याका कारण उक्त क्षेत्रमा समय-समयमा तीर्थयात्रीहरू बिरामी पर्ने र ज्यान जाने जोखिम रहने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *