साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

डिसी नेपाल
१० पुष २०८० ७:४९
104
Shares

काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।

गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् ।

एक सातामै १६ हजार ८ सय ९९ पक्राउ

राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ६९ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ३९ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए । यस्तै, ८० उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ११ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्‍याएर देशनिकाला गरिने जनाएको छ । हाल ५२ हजार ३ सय ६९ जना कानुन उल्लंघनकर्ता अहिले नियम उल्लंघन गर्ने प्रक्रियाको अधीनमा छन्, जसमध्ये ४६ हजार ४ सय ३१ पुरुष र ५ हजार ९ सय ३८ महिला छन् ।

तीमध्ये ४६ हजार ७ सय ४३ उल्लंघनकारीलाई यात्रा कागजात प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको छ भने १ हजार ७ सय १६ उल्लंघनकर्तालाई यात्रा अनुमति लिएर स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ । अहिलेसम्म ९ हजार १ सय ४७ उल्लंघनकारीलाई देशनिकाला गरिसकिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ ।

एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । यस्तै, रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले गैरकानुनी रूपमा बसेका नेपालीलाई पनि एक्जिट भिसा दिँदै आएको छ । भिसा आइसकेपछि टिकट आफैंले काटेर स्वदेश फर्कनु पर्नेहुन्छ ।

१ सय ५ नेपालीलाई एक्जिट भिसा

साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप १ सय ५ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी १ सय ५ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *