‘धर्मविरोधी’ लाई पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी, कार्यकारी निर्देशक नियुक्तिको चौतर्फी विरोध

डिसी नेपाल
११ पुष २०८० १०:२६
460
Shares

काठमाडौं। धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीको बफादार कार्यकर्तालाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ।

माओवादी नेतृ रहेकी लक्ष्मी पुनलाई पुस चार गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि विवाद निम्तिएको हो।

उनको राजनीतिक दलसँगको सामिप्यता र अंगीकार गरेको राजनीतिक दर्शनले करोडौं हिन्दु तथा बौद्धहरुको आस्थाको केन्द्रका रुपमा रहेको पाशुपत क्षेत्रको कार्यकारी निर्देशक हुन अयोग्य रहेको सनातनी धर्मका अभियान्ताहरुको आरोप छ।

विश्वभरका हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र आराध्यदेव पशपतिनाथमा उक्त सम्प्रदायसँग असम्बन्धित पात्र नियुक्त गरिएको भन्दै आलोचना गर्ने क्रम बढिरहेको छ।

हिन्दु धर्मको प्रत्येक संस्कार संस्कृत भाषामा हुन्छ, तर माओवादीले द्वन्द्व कालमा संस्कृत भाषाको अध्यन अध्यापनमा प्रतिबन्ध लगाएको र पाठ्यपुस्तक   जलाउने माओवादी नेतृलाई पशुपति क्षेत्रमा दिइएको नियुक्ती गलत भएको हिन्दु धर्मका अगुवाहरूले तर्क गर्दै आएका छन्।

माओवादी केन्द्र निकट पत्रकार रहेकी उनी यसअघि नेपाल पत्रकार महासंघको सचिव भइसकेकी हुन्। माओवादीले सुरु गरेको दशबर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएकी उनी त्यस पार्टीको सक्रिय कार्यकर्ता रहेको सार्वजनिक भएको छ।

उनको नियुक्तिलाई लिएर हिन्दु राष्ट्र पक्षधर राजनीतिक दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। राप्रपा नेपालको सचिवालय बैठकले विधर्मीलाई पशुपति क्षेत्रको जिम्मा दिइएकाले तत्काल निर्णय फिर्ता लिन सरकारलाई ध्यानाकर्षण समेत गराएको छ।

‘विश्वका समस्त हिन्दु र बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र तथा आराध्यदेव पशुपतिनाथ मन्दिरको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी बोकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा गैर सनातनी र विधर्मी व्यक्तिलाई मनोनित गर्ने सरकारको निर्णय आपत्तिजनक छ। संस्थाको आदर्शप्रति आस्था र विश्वास नहुने व्यक्तिबाट कसरी संस्थाको हित रक्षा हुन्छ?’,पुस ६ गतेको सचिवालय बैठकपछि प्रवक्ता भाष्कर भद्राद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पशुपति क्षेत्र विकास कोषमा विधर्मी व्यक्तिको नियुक्ति सनातन धर्म, संस्कृति र परम्परा कमजोर बनाउने र विदेशी धर्म स्थापित गराउने कुत्सित मनशाय र नियोजित षड्यन्त्रबाट प्रेरित रहेको स्पष्ट बुझ्न सकिन्छ।’

राप्रपा नेपालले कार्यकारी निर्देशक पुनको नियुक्ति फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ।

‘पशुपति क्षेत्र विकास कोषको कार्यकारी नियुक्ति फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रन हामी बाध्य हुनेछौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ। हिन्दु धर्मसँग सम्बद्ध अन्य संघसंस्था तथा वैदिक सनातन धर्मका पक्षपातीहरुले पनि उनको नियुक्ति खारेजी गर्न माग गरेका छन् ।

हिन्दु राष्ट्र पुनस्र्थापना मूल एजेण्डा बनाएको दल एकीकृत शक्ति नेपालका अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पुन पशुपति क्षेत्रको नेतृत्व गर्न अयोग्य रहेको बताउँछन्।

उनले हिन्दुहरुको पवित्रस्थल पशुपतिनाथमा अन्य धर्मसम्प्रदायप्रति उदार रहेकी उनलाई नियुक्त गर्नु करोडौं हिन्दु तथा बौद्ध सम्प्रदायमाथि उपेक्षा गरिएको आरोप लगाए।

उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘उहाँ धर्मलाई अफिमको रुपमा चित्रित गर्ने दलको प्रतिनिधित्व गर्ने नेता हो। विगतमा हिन्दुहरुको आस्थाको केन्द्र पशुपति परिसरमा क्रिश्चियनहरुको समाधिस्थल बनाउने मुद्दा बोकेर हिँडेकाले अनुपयुक्त मात्रै होइन । उहाँको नियुक्तिले करोडौं सनातनीहरुको भावनामा चोट पुर्याएको छ।’

उनले सनातन धर्म, संस्कृति मास्ने उद्देश्यले नियुक्तिको योजनाकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री किराती रहेको दाबी गरे। यो निर्णय तत्काल फिर्ता गनुपर्ने उनको माग छ।

गैरहिन्दु भएको प्रमाणित नभएपनि उनका क्रियाकलाप हिन्दु धर्म विरोधी रहेको त्रिपाठीको बुझाइ छ । हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको संरक्षण र सम्बद्र्धनका लागि पुन अनुपयुक्त पात्र रहेको उनको ठम्याइ छ।

विगतमा जनयुद्धको क्रममा हिन्ुधर्ममाथि नियोजित ढंगले आक्रमण गरेको दलकी नेत्रीले हिन्दु समुदायको आस्थाको केन्द्रको नेतृत्व गर्न नमिल्ने उनले जिकिर गरे।

‘उहाँको दलको क्रियाकलापले हिन्दुहरुको आस्थाको प्रतीकका रुपमा रहेको पशुपति क्षेत्रको नेतृत्व गर्न नैतिक रुपले दिँदैन। हिन्दुधर्मप्रति आस्थावान व्यक्तिले मात्रै त्यसको संरक्षण र सम्बर्धन गर्न सक्छ।’ ,त्रिपाठीले भने, ‘धर्मलाई अफिम भनेर कुप्रचार गर्दै सनातन धर्मसंस्कृति मास्न उद्दतहरुले पशुपति क्षेत्रको नेतृत्व गर्नु भनेको हिन्दुहरुको आस्थामाथि कुल्चने चेष्टा हो । सनातन धर्म मास्ने योजना अन्तर्गत नियुक्ति दिइएको छ।’

सनातन हिन्दु धर्मप्रति विषवमन गर्ने पार्टीका कार्यकर्ता हिन्दु तथा बौद्धहरुको पवित्रस्थलमा गरिएको नियुक्ति सर्वथा अनुचित मात्रै होइन निन्दनीय रहेको त्रिपाठीको भनाइ छ।

विगतमा हिन्दुधर्ममाथि श्रृंखलाबद्ध आक्रमण गर्नेहरुबाट पशुपति क्षेत्रको संरक्षण नहुने बताउँदै उनले तत्काल नियुक्ति खारेज गर्न माग गर्दै धार्मिक आस्थावान पात्र चयनका लागि सम्पूर्ण सनातनीहरुलाई एकताबद्ध हुन अपिल गरे।

नवनियुक्त निर्देशक लक्ष्मी पुनले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताएकी छन्। उनले आफूहरु प्रकृति पुजक रहेको भन्दै आफूमाथि लागेको बिधर्मीको आरोप निराधार रहेको बताएकी हुन्।

‘म माथि लगाइएको आरोपका कतिपय शब्दको अर्थ पनि मलाइ थाहा छैन,’ पुनले डिसी नेपालसँग भनिन्, ‘म हिन्दु धर्म मान्छु। तर हाम्रो मगर समुदायको मौलिक परम्परा प्रकृति पुजक हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *