रास्वपा सभापति रविको नाम सहकारी प्रकरणमा जोडिएपछि के भन्छन् उपसभापति अर्याल ?

डिसी नेपाल
१३ पुष २०८० १३:०५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानको विभिन्न सहकारी घोटालामा नाम मुछिएपछि सार्वजनिक रुपमा अनेकौं टिकाटिप्पणी हुन थालेको छ ।

तारन्तार केही सञ्चारमाध्ययमा उनीविरुद्ध समाचार प्रकाशित भएपछि सभापति लामिछानेले आफ्नो संलग्नता नरहेको जिकिर गर्दै स्पष्टिकरण पनि दिइसकेका छन्।

राजनीतिक दल गठन गर्नुपूर्व लामिछाने आवद्ध रहेको ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईले हिनामिना गरेको सहकारीको रकम र उनीसँगको सहकार्यलाई लिएर आक्रमण भइरहेको छ ।

पोखराको सूर्यदर्शन र चितवनको सहारा सहकारीलगायत अन्यबाट विविध शिर्षकमा टेलिभिजन सञ्चालन गर्न राईले लिएको रकम फिर्ता नभएपछि पीडित बचतकर्ता आन्दोलित भएका छन्।

अहिले उक्त टेलिभिजन सञ्चालनका लागि लिइएको सहकारीको रकम अपचलनमा सभापति लामिछानेको पनि संलग्नता रहेको समाचार प्रकाशित भइरहेको छ।

सभापतिमाथि मिडियाले लगाएको लाञ्छनाबारे रास्वपामा किचलो उत्पन्न हुन थालेको आकलन पनि गरिएको छ। सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर कतिपयले असन्तुष्टि चुलिएको चर्चा गरिरहेका छन्।

सांसद श्रेष्ठले बहुसंख्यकको हित हुने अवस्थामा एक व्यक्ति बाधक बन्नुभन्दा पछि हटेर सहयोग गर्नुपर्ने आशयको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका थिए। तर, उनको आशय सभापति लासिमछाने लक्षित नरहेको रास्वपाका उपसभापति डिपी अर्याल बताउँछन्।

उनले अन्य प्रयोजनका लागि व्यक्त गरिएको टिप्पणीलाई सभापतिसँग जोडेर प्रचार गरिएको आरोप लगाए।

उनले डिसी नेपालसँग भने, ‘विराजभक्त श्रेष्ठको आशय त्यसो होइन। उहाँले अन्य दलका नेताहरुको असहयोग र अवरोधलाई इंगित गर्नखोज्नुभएको हो, त्यो उहाँले स्पष्ट पारिसक्नु भएको छ।’

उपसभापति अर्यालले पछिल्लो मिडिया आक्रमणले पार्टीमा कुनै समस्या सिर्जना नगरेको बताए। मिडियाले सभापतिविरुद्ध गरेको सिलसिलेबर आक्रमण नियोजित रहेको उनले प्रष्ट्याए।

‘पार्टीमा कुनै प्रभाव पारेको छैन। आन्तरिक बहसको विषय नै होइन, यो छलफलका लागि आवश्यकै छैन’, उपसभापति अर्यालले भने, ‘योजनाबद्ध रुपमा गरिएको धारावाहिक आक्रमणको रुपमा लिएका छौं। यसबारेमा सबै पार्टीका साथीहरु जानकार हुनुहुन्छ।’

यो पार्टीमा आन्तरिक बहसको लागि उपयुक्त विषय नै नभएको उनको भनाइ छ। यसबारेमा रास्वपाले आयोजना गरेको बुटवल नारायणगढ पदयात्रामा जनतालाई स्पष्ट पारेको अर्यालले जनाए।

उनले भने, ‘मिडियाका कारण जनतामा परेको भ्रमलाई कुरालाई स्पष्ट पारेका छौं बिहीबार चितवनमा आयोजित रास्वपाको सार्वजनिक सुनुवाइमा प्रष्ट्याएका छौं।’

उनले निरन्तर आक्रमण भए कानूनी उपचार खोज्ने समेत जानकारी दिए। उनले निराधार आरोप लगाउँदै गरिएको सभापतिमाथिको आक्रमण नरोकिए कानूनी उपचाका लागि जान बाध्य हुने चेतावनी दिए ।

उनले भने, ‘यो परिचालित आक्रमण हो नरोकिए कानूनी उपचार खोज्छौं यो आक्रमणको बारेमा हामीले सार्वजनिक रुपमा जनतालाई प्रष्ट्याइसकेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *