सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा, अधिकार प्रत्यायोजित गर्न संघीय सरकारसँग माग

डिसी नेपाल
१३ पुष २०८० १४:२४

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई दिगो र सबल तुल्याउन संघीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताए। आज मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढंगबाट गरिनुपर्ने आग्रह गरे।

मुख्यमन्त्री यादवले आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले संघीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाइने बताए। उनले जनतालाई सङ्घीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र नेपाल गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघीयता र संविधानको मर्मअनुसार स्थानिय तहमा जनप्रतिनिधिलाई आफ्नो कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने तथा संघीय सरकारले स्थानीय निकायलाई उपेक्षा नगरी प्रदेश सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे।

यसैबीच तहगत ‘अधिकार कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको समापनमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले वित्तिय तथा आर्थिक क्षेत्र र संविधानविद् काशीनाथ दाहालले तहगत सरकारको अधिकार विभाजन, सार्वजनिक सेवा, वन वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, सातै प्रदेशका मुख्यन्याधिवक्ता, प्रदेश नीतियोजना आयोग र बागमती प्रदेशका प्रदेशसभा सदस्यको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *