इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

डिसी नेपाल
२४ पुष २०८० ७:२०

काठमाडौं। मोरङ बयरबन-९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।

मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतकको राहदानी पनि छैन, कतैबाट सहयोग पाइँदैन,’ उनले भने, ‘यहाँ इराकमा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्ने अवस्था छ ।

मृतकको शवलाई नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग अभियान सुरु गरेको, कुर्दिस्तानमा स्थापित सक्रिय विभिन्न संघसंस्था र सहयोगी भावना भएका सम्पूर्णजनमा आर्थिक संकलन अभियान सञ्चालन गरी मृतकको शव नेपाल पठाउन अनुरोध गरिएको उनले बताए ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलाललाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करलाई भने फाइदा नै हुने गरेको छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *