रुससँग प्रतिस्पर्धा बढेपछि साउदी अरेबियाले तेलको मूल्य घटायो

डिसी नेपाल
२६ पुष २०८० १६:४१
1.3k
Shares

काठमाडौं । साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोले एसियाका लागि आफ्नो प्रमुख अरब लाइट कच्चा तेलको मूल्य घटाएको छ । साउदीले अरब लाइट कच्चा तेलको मूल्य गत २७ महिनाको सबैभन्दा कम स्तरमा घटाएको छ । साउदी अरेबियाको यो कदमले अब एसियाली मुलुकले सस्तो तेल पाउने र कच्चा तेल निर्यातको लागत घट्ने छ ।

अराम्कोले फेब्रुअरीमा कच्चा तेलको ढुवानी प्रति ब्यारेल २ डलरले घटाएको छ । यसअघि डिसेम्बर महिनामा अराम्कोले जनवरी ढुवानीका लागि प्रति ब्यारेल १.५ डलर कटौती गर्ने घोषणा गरेको थियो। विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबले उत्तरी अमेरिका, एसियालगायत उत्तरपश्चिम युरोपेली मुलुकका लागि आफ्नो तेलको मूल्य घटाएको छ ।

तेलको मूल्य बढाउने उद्देश्यले ओपेक प्लस देशहरूसँगै साउदी अरेबियाले लगातार तेल उत्पादनमा कटौती गरिरहेको थियो तर धेरै प्रयासका बाबजुद पनि तेलको मूल्य खासै बढेको छैन। अमेरिकाले साउदी अरबलाई धेरै पटक तेल उत्पादन बढाउन आग्रह गरेको थियो तर साउदी अरबले त्यसो नगरेपछि अमेरिकाले नै ठूलो मात्रामा तेल उत्पादन बढाएको थियो ।

अमेरिकासँगै गैर-ओपेक राष्ट्र ब्राजिल र मेक्सिकोले पनि आफ्नो तेल उत्पादन बढाएका कारण तेल बजारमा पर्याप्त मात्रामा तेल उपलब्ध हुन थालेपछि तेलको मूल्य घट्न थालेको हो ।

साउदी अरबका लागि एसिया ठूलो बजार हो। विश्वको दोस्रो र तेस्रो ठूलो तेल उपभोक्ता चीन र भारतले यसको अधिकांश तेल खरिद गर्छन्। यस्तो अवस्थामा तेल बजारमा आफ्नो वर्चस्व कायम राख्न साउदीले तेलको मूल्य घटाउनु परेको छ । साउदीले अमेरिका र ब्राजिल जस्ता देशहरूले आफ्नो तेल बजारमा प्रवेश गरेको चाहँदैन ।

युक्रेनसँग युद्ध सुरु भएपछि पश्चिमी देशहरूले लगाएको प्रतिबन्धलाई ध्यानमा राख्दै रुसले भारत र चीनलाई सहुलियत दरमा तेल उपलब्ध गराएको थियो । युद्धअघि भारतले रुसबाट कुल तेल खरिदको १ प्रतिशतभन्दा कम तेल किन्ने गर्दथ्यो तर रुसले सस्तो तेलको प्रस्ताव गरेपछि भारतले तुरुन्तै किन्न थाल्यो ।

आज रुस साउदी अरबलाई उछिन्दै भारतको शीर्ष तेल आपूर्तिकर्ता बनेको छ। चीनले पनि रुसबाट ठूलो मात्रामा तेल खरिद गरिरहेको छ । यसलाई ध्यानमा राख्दै साउदी अरेबियाले आफ्नो तेलको मूल्य घटाउँदै छ ताकि त्यसका प्रमुख खरिदकर्ता भारत र चीनले साउदी अरेबियाबाट तेल खरिद बढाउन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *