त्रिशूली नदीमा जिप खसेपछि चालक फरार भएको आशंका

डिसी नेपाल
२ माघ २०८० १३:३७
596
Shares

काठमाडौं। त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप खसेको थियो।

खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको थियो। बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।

त्यसक्रममा सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। उनका अनुसार एक जना ट्यांकर चालकले जिपबाट चालक निस्केको देखेको बताएका छन्।

‘ट्यांकर चालकले जिपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौं,’ भण्डारीले भने। बिहान नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो। सशस्त्रको गोताखोरले जिप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन्।

‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ भण्डारीले भने, ‘मोटरबोटबाट खोजी गरिरहेका छौं।’ जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *