कथा : लक्ष्मण मास्टर

खेमराज पोखरेल
२० माघ २०८० ७:४४

रत्नप्रसादले सुनाएः ‘थाहा पाउनुभयो? लक्ष्मण मास्टर त गएछन्’

म खङ्रङ्ग भएँ। लेख्तै गरेको रातो कलम खस्यो।

मैले शाखा अधिकृत पास गरेको साल लक्ष्मण मास्टरको हातबाट दशैँको टिको लगाएको सम्झेँ। ममा उच्छ्वास थियो। रमाउँदै गएको सम्झेँ। उहाँले आशीर्वाद दिँदै भन्नु भएथ्योः ‘हेर चन्द्रे, पढ्न जसले पनि पढ्छ, पैसा जसले पनि कमाउँछ, यो संसारले मान्छेलाई त्यसै ठूलो पनि भनिदिन्छ। पढ्नु, धनी हुनु र ठूलो मान्छे त धुत्र्याइँले पनि बन्न सकिन्छ। तर भन्नु र हुनुमा ठुलो अन्तर छ। तँ चैँ असल मान्छे हुनू’

०००००००

अफिसको गाडीले मलाई घर ल्याइदियो। घरभित्र पसेँ। बेलायतमा किनेको निलो सुट खोलिदिन उपमा आइपुगिन्। महँगो लेदर सोफामा थचक्क बसेँ। दिनभरि अफिसमा काम गर्दा गर्दा थाकेको थिएँ। हर्केले चिया ल्यायो। कालो चिया। रङ कडा। मेरो इच्छा माफिकको थिएन। उसलाई भनेँः ‘हर्के, रङ कडा भयो। अलिकति कागती हाल् त’

हर्के कड्क्योः ‘आज कागती नभएको चार दिन भयो। मै’सापले ल्याइसिन्न। म कहाँबाट हालूँ?’

मलाई ऊसँग रिस उठ्यो। तर चुप लागेँ। किनकि यो हर्के विज्ञापन गरेर पाइने मान्छे होइन। ऊ सिप नभएको मान्छे पनि होइन। ऊ बेरोजगारी बढाउने शिक्षा पाएको मान्छे त झन् हुँदै होइन। उसलाई पाउन मैले गरेको दुःख झट्ट सम्झेँ। ऊ भएन भने अहिलेकै भातभान्सा नै रोकिन्छ। चियापानी रोकिन्छ। उपमाले सायद भातभान्सा बिर्सिसकिन्। उनले नपकाएको वर्षौं भइसक्यो। म चुप लागेँ र उसले दिएको चिया आज्ञाकारी बालकलेझैँ खाएँ। रिस त उठेको थियो। के गर्ने रिस उठेर?

हामी हर्केका झ्याङमा अमर लत्ती भएका छौँ। उसले हामीलाई बनाएर खुवाउँछ। कहिलेकाहीँ म उसलाई पैसा दिन्छु उपमालाई छलेर। त्यतिबेला ऊ आज्ञाकारी बन्छ। म हुँदो नहुँदो धेरै काम लगाउँछु उसलाई। ऊ प्रतिप्रश्न गर्दैन। लुरूलुरू गरिरहन्छ। घुस खाएको कर्मचारी जस्तो। के उसमा पनि जिजीविषाहरु पलाउँछन्? के उसको पनि मन एक तमासको हुन्छ?

डङ्रङ्ग ओछ्यानमा पल्टिएँ। उपमा छेउमै आइन् र भनिन्ः

‘किन हजुर आज उदास देखिनु हुन्छ?’

‘छैन, बिलकुल छैन। तिमीलाई त्यस्तो ला’ग्या मात्र हो’ मैले ढाँट्न खोजेँ।

उनी मेरा सबैकुरा बुझ्छिन्। उनले भनि हालिन्ः ‘मैले हजुरका कुरा पत्याइनँ’

‘अलि दिनको छुट्टी लिएर गाउँ जाऊँ है उपमा’ मेरो बेमौसमी कुरा सुनेर उपमाले एकछिन् त पत्याइनन् र अर्को क्षण सटाक उत्तर दिइन्ः ‘किन जानू हौ गाउँ, न दशैँ न

तिहार, न बिहे न ब्रतमन्न, न मरू न परू’

‘सुन्यौ, लक्ष्मण मास्टरको स्वर्गवास भएछ। मेरो त मन उदास भयो’

‘कहिले?’

‘काजक्रिया सके अरे’

‘के भएको रहेछ ?

‘अब बितिसकेपछि त्यसको के अर्थ?’

‘अब जानुको पनि के काम?’

‘यो मन्त्री छ नि, वाइह्यात गुन्डा रहेछ। पहाडमा बाटो बनाएको बिल बनाएर पैसा खर्लप्प पार्न खोज्छ। फाइलमा सही गर् नगरे गुन्डा लाउँछु भन्छ। म कसरी गरुँ सही?’

‘प्रक्रिया पुगेको छैन र?’

‘कागजी प्रक्रिया त पुगेको छ नि। तर फिल्डमा एक चपरी माटो काटेको छैन’

‘आफ्नो भाग आउन्न र?’

‘भाग त आउँछ नि। तर अख्तियारले छानबिन ग¥यो भने ऊ पर्दैन। म पर्छु। फेरि हुँदै नभएको कामलाई सदर गरेर पैसा खर्लप्प पार्न कसरी दिनु ए। कन्साइनले पनि दिँदैन’

‘छोड्नुस् कन्साइनका कुरा। पैसा पनि जाने कुटाइ पनि खाने काम गर्नु हुन्न। यिनको ठेगान छैन। न्यायाधीशलाई मारे झैँ मारिदिन पनि के बेर?’

श्रीमती उपमाका कुराले मलाई झन् अत्यायो। मैले उनलाई भनेँः ‘म त हर्के जत्तिको पनि भइनँ उपमा। म नेपाल सरकारको सचिव। चल्न चटपटाउन नै नसक्ने। बरू हर्के भन्छ यो काम गर्दिनँ। म त लाछी भएँ’

‘अनि भागेर कहाँ जानु हुन्छ?’

‘मन्त्री मण्डल फेरिने वाला छ, केही दिन बिदामा बस्न पाए त्यो हरामी मन्त्री फेरिन्थ्यो कि’

०००००००

प्लेनले विराटनगर पुर्‍यायो। मेरो स्थानीय अफिसको गाडी तयार थियो। त्यसले गाउँ पुर्‍यायो। उफ्! यो मधेस त कति गर्मी। गर्मी महिना। खलखल पसिना आइरहेको थियो। हुन त म जस्तै उपमा पनि मधेसमै हुर्किएकी हुन्।

काठमाडौँका खाँटीहरुले भन्ने गरेको चार आने हौँ हामी। मधेसको गर्मी हामीले खर्लप्पै खाएकै हो। तर हाम्रो हुर्मत लिइसकेको थियो गर्मीले। बिस्तारो साउतीमा कुरा गर्ने बानी परेका र सानो स्वरमा बोल्नु नै सभ्यता हो भन्ने सिकेका हामीहरुलाई मान्छेहरु ठूलो ठूलो स्वरमा बोलेको देखेर दिक्क पनि लागेको थियो।

दिमागमा लक्ष्मण मास्टर हुनुहुन्थ्यो। म उहाँको घरतर्फ लागेँ। सुनसान थियो। उही घर। छानोको खर उध्रिएको थियो। टाट फरिकाहरु भत्किएका थिए। जुन ओसारीमा बसेर मैले पढेको थिएँ त्यो भत्किएको थियो। उहाँले विवाह गर्नु भएन। एकलै। उहाँ पछि त्यो ज्ञानको मन्दिर गल्र्याम्म ढलेको थियो। न रूने कोही थिए। न सम्पत्ति नै थियो। एउटा कालो दुलोभित्र सबै बिलाएका थिए।

म तन्द्रामा रहेँछु।

बाटैमा एउटा सानो हाट लागेको थियो। खसीको मासुको भाग लगाइएको थियो। गलबद्दी थियो। मैले गाडीबाटै हेरेँ। लक्ष्मण मास्टर। गाडी रोक्न लगाएँ। गाडीले धुलो एकोहोरो फ्याँकिरहेको थियो। केटा केटीहरु गााडीको पछि पछि कुदिरहेका थिए। म गाडीबाट झरेँ। ओहो लक्ष्मण मास्टर त सेतै फुल्नु भएछ।

अगाडिका दाँतहरु झरेछन्। पहिले जस्तै सेतो सर्ट र खैरो प्यान्ट। प्याट प्याटे चप्पल। अनुहार झन् कालो भएछ। फुस्रो। म पनि गलबद्दीमा मिसिएँ। लक्ष्मण मास्टरले दिउँसै रक्सी खानुभएको थियो।

उहाँ खसीका खुट्टा किन्न खोज्दै हुनु हुन्थ्यो उधारो। खसी कट्टा नगद बेच्न चाहन्थ्यो। गलबद्दीको विषय यही थियो।

मैले लक्ष्मण सरलाई झुकेर नै नमस्ते गरेँ। उहाँले भन्नुभयोः ‘कहिले आइस् ?’

‘आउँदै छु सर’

‘कति दिन बस्छस्?’ लक्ष्मण मास्टरको सोधाइले मेरो मन भने त्यसै त्यसै प्रफुल्ल भयो। धेरै वर्षपछि कसैले सहृदय सम्बोधन गर्‍यो। औपचारिकता पर्खेन। नत्र सहरमा मान्छेहरु कृत्रिम सम्बोधन गछन्। अगाडि ‘सियोस्’ भन्छन्। पछाडि ‘मरेस्’ भन्छन्। अगाडि तेल लाउँछन्। पछाडि छुरी रोप्छन्।

‘एक हप्ता जति बस्छु होला सर’

‘ए तँ त नेपाल सरकारको सचिव भइस् रे होइन?, तँ ठुलो भइस् होला कतै। मेरो लागि भने उही ‘चन्द्रे होस् है’ लक्ष्मण मास्टरले ‘चन्द्रे’ भनेको घरी स्वाद लाग्दथ्यो भने घरी किन यी मलाई एकोहोरो चन्द्रे भन्छन् भन्ने पनि लागिरहेको थियो। किनकि मलाई नेपाल सरकारको सचिव भनी चिन्ने मान्छेहरु धेरै भेला भएका थिए।

मैले खसीको खुट्टा किनिदिन खोजेँ। एक किलो मासु पनि थपिदिन खोजेँ। तत्क्षण लक्ष्मण सर कराउन थाल्नुभयो।

‘हेर् चन्द्रे, चन्द्रप्रसाद, उर्फ चन्द्रप्रसाद दर्नाल, मैले अहिलेसम्म कसैको खाएको छैन। आफ्नो मेहनतले नै खाएको छु। बरू भोकै बसेको छु। उधारो खाएको छु। सिँत्तै खाएको छुइनँ। बुझिस्’

म छेउमै थिएँ। लक्ष्मण सर लगलग कामिरहनु भएको थियो। शरीर सुन्निएको थियो। रवाफ उस्तै थियो। उहाँ सायद कहिल्यै कसैसँग झुक्नुभयो होला जस्तो मलाई लाग्दैन।

उहाँ उधारो माग्दै हुनुहुन्थ्यो तर सानले माग्दै हुनु हुन्थ्योः ‘अरे बेचुवा, तोरा हम उधार त खेलिए लेकिन तोरा पैसा अखैन तक कैयो बाँकी छे? ले बोल त सार’ (ए बेचुवा, तेरो मैले उधारो त खाएको छु तर तेरो पैसा अहिलेसम्म कहिल्यै बाँकी छ ? ल भन् त साले)

‘सर, गुरू दक्षिणा नै सही। आज मेरो तर्फबाट। स्वीकार गरिदिनुहोस्’ मैले विनम्र भावमा भने। मेरो कुरा सुन्नेबित्तिकै उहाँ त झन् गर्जिन थाल्नुभयोः ‘मलाई तँ गुरू दक्षिणा दिने हँ? दिन्छस् मलाई गुरू दक्षिणा?’

उहाँले आजकै पत्रिका देखाउनु भयो र भन्नुभयोः ‘त्यो चोट्टा मन्त्रीसँग मिलेर तँ बन्दै नबनेको सडकको पैसा कुम्ल्याउने? मैले तँलाई पढाएको त्यही हो? मलाई गुरू दक्षिणा दिन्छस् भने देश नबेच् बाबु। देश तिमी कर्मचारी र नेता मन्त्रीको व्यक्तिगत धुत्र्याइँले सकिन आँट्यो। विचार गर्। तेरा सन्तान त विदेश जालान्। गए पनि तँलाई ‘घुस्याहा’ भनी गिज्याउँछन्। तेरो नाम उनीहरु सँग जोडिनाले ग्लानी महसुस गर्ने छन्। किनकि उनीहरु घुस खानुलाई अपराध मान्ने देशमा पुगेका हुन्छन्। र अपराधीको सन्तान भनिन रुचाउँदैनन्। आम नेपालीले त नेपालमै बस्नुपर्छ। मैले नेपालमै मर्न पाउनुपर्छ। हामी नेपालीले यहीँ बाँच्न पाउनुपर्छ। यहीँ मर्न पाउनुपर्छ। हाम्रा पुर्खाले लडाइँ गरेर जोरेको देश हो यो। ख्यालठट्टा होइन। बुझिस्?’

उपमाले मलाई हल्लाइन्। म झसङ्ग भएँ।

०००००००

गाउँको घरमा बसेको छु। बुबाले भन्नुभयोः ‘यो त्यही तारे गाईको सन्तान हो’।

मैले तारे गाईलाई सम्झेँ। सुवानी र दुधालु। खासमा भन्ने हो भने त्यही तारे गाईको दूध खाएर म हुर्केको थिएँ। आमाले ठूलो गिलासमा झन्डै भरी जस्तो दूध ल्याइ दिनुभयो। त्यो दूध मैले खाइसक्ने जति थिएन। मैले भनेँः ‘आमा यो दूध त म खाइ सक्दिनँ’।

‘कस्तो रहेछ यो जेठो, तिमीहरुका सहराँ जस्तो लिटर र पोकाले नापेको दूध हो र यो? तिमीहरु सहराँ त दूध पनि नापेर खान्छौ, रोटी पनि गनेर खान्छौं। भातलाई पनि भुजा भन्छौ र अडकलेर खान्छौ। हामी अघाउँदी खान्छौँ। नगनी खान्छौँ। ननापी खान्छौँ। खोइ हामीलाई पितृका प्रसादले अघाउँदी खान र एक धरो लाउन पुगेकै छ क्यार। यतिका वर्षपछि बल्ल बल्ल आएको छन्। खा। तेरो सहरको नियम सहर मै लाउनू’

अघाउँदी खान नपाउने हैसियत भएको छ मेरो। मनभरि पेटभरि खान नपाउने भाग्य भएको छ मेरो। म जसलाई ‘ब्राउन राइस’ भन्छु त्यो उसिना ठोट्ले भात हो आमाका लागि। आमा भन्नु हुन्छः

‘यो उसिना चामलले झन् नातागत बनाउँछ। कस्ता भयौ हौ तिमीहरु न घिउ खान हुन्छ तिमीहरुले’

म एकाएक गरिब भएँ। खानै नपाउने गरिब भएँ।

सकी नसकी दूध खाँदै छु र दिमागभरि गुन्डा मन्त्री आइरहेको छ। म डराएको छु। तर्सेको छु। खोइ मेरो सुरक्षा?

०००००००

मेरो मानस पटलमा लक्ष्मण मास्टरको आकृति आइरहेको छ। खोइ कति पढेको हो कुन्नि लक्ष्मण मास्टरले? मान्छेहरु भन्थे लक्ष्मण मास्टरले १० मात्र पढेको हो। एस. एल. सी. दिने बेलामा बाबु खसे। आर्थिक हैसियत कमजोर भएका कारणले उहाँलाई स्कुलमा मास्टर बनाइएको हो अरे।

लक्ष्मण मास्टरको सानो फुसको घर थियो। सफा र स्निग्ध थियो। घरको ओसारीदेखि आँगन र आँगनदेखि दोबाटोसम्म ट्युसन पढ्न लहरै सुकुल, पिरा, बोरा र कोही त भुइँमै बच्चा क्लासदेखि एस.एल.सी. सम्मका फुचा फुचीहरु बसेका हुन्थे। कपुरी कदेखि ठिटा बिटासम्म कण्ठस्थै थियो लक्ष्मण मास्टरलाई।

खासमा उनी खैराँते मास्टर थिए याने उनलाई कसैले ट्युसन फि दिँदैनथे। कसैले एक डोको मकै, कहिले धान दिन्थे। लगभग उहाँ सिँत्तै पढाउनु हुन्थ्यो। उहाँ भन्नु हुन्थ्योः ‘यो मेरो समाज सेवा हो भाइ। जीवनमा अलिकति पनि तिमीहरुले राम्रो काम गर्‍यौ र असल मान्छे भयौ भने मलाई पुग्यो। मलाई त दैवले ठगे भाइ। तिमीहरु उँभो लाग यो नै मेरो दक्षिणा हो। गुरू दक्षिणा हो‘

उहाँको पढाउने तरिका पनि अचम्मको थियो, सिनियरले जुनियरलाई पढाउनु पर्ने। उहाँ भन्नु हुन्थ्योः ‘ए केटा हो राम्ररी पढ् भाइ, एस.एल.सी. पास गरिस् भने खर्दार होलास् , नत्र भाइ अनौ समाएर आँ आँ बड बड भन्नु पर्ला’

हामीलाई लक्ष्मण मास्टर अभूतपूर्व विद्वान् लाग्दथ्यो। कसरी होला सबै विषय कन्ठाग्रे भएको?। मैले मनमनै सम्झेँ ‘के अहिले म आठ पास गर्न सकुँला ?’ उहाँले खैराँते पढाएका विद्यार्थी देशभरि छरिएका छन्।

पढ्न नआउने र जहिले पनि लक्ष्मण सरको कुटाइ खाइरहने गोप्ला याने गोपाल ठुलो व्यापारी भएर पैसा धेरै कमाएको छ भन्थे गाउँलेहरु। त्यस्तै भुस्कोलमा नामै चलेको हरिया याने हरिनारायण प्रधान भएको छ गाउँको। डाक्टर र इन्जिनियर त कति हो कति।

सरकारी जागिरमा त झन् धेरै। तर लक्ष्मण सर उस्तै। मेरो मन एक तमासको भएको छ। खोइ म असल मान्छे भएँ ? मेरो धनाढ्यता घुसको थुप्रो न हो। बेइमानीको डङ्गुर न हो। के म लक्ष्मण मास्टरले जस्तो सानले बाँच्न पाउँला? के म त्यो मन्त्रीलाई सामुन्नेमा चोट्टा भन्न सकुँला?

०००००००

म काममा फर्केको छु। मेरो सरूवा जगेडामा भएछ। नयाँ सचिवले रकम निकासा गरेछन्। एक दिन मन्त्रीको एउटा कारिन्दा भन्दै थियोः ‘हाम्रो काम गरेनौ सचिव तिमीले। काम त गरि हाल्यौँ। अब तिमीलाई भ्रष्टाचार लगाउछौँ। बुझि राख’

एक्कासि मनमा जिजीविषाहरु सल्बलाएर आए। अहिले लक्ष्मण मास्टरलाई त्यसो भनेको भए? त्यसको हात भाँचिने थियो। मुख च्यातिने थियो। तर म चुप लागेँ।
मैले आकाशतिर हेरेँ। कालो बादल मडारियो। बादलले पनि मलाई नै गिज्याइ रहे जस्तो लाग्यो। म पनि मडारिन थालेँ। मान्छे त भन्छन् नि ‘मैले धेरै पढेँ’।

आफन्त त भन्छन् नि ‘म ठुलो मान्छे भएँ’। छिमेकी त्यसै भन्छन्ः ‘म धनी छु रे’। मान्छेका कुरा सुनेर मन एकतमासको भयो। मभित्र यी प्रश्नहरु लगातार आइरहेका छन् ‘के मैले धेरै पढेँ?, के म ठुलो मान्छे भएँ?, के म धनी भएँ ? के म असल मान्छे भएँ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *