पाकिस्तान निर्वाचन: नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धनको घोषणा गरे

डिसी नेपाल
२९ माघ २०८० १६:३१

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सहबाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो र आसिफ अली जर्दारीबीच आइतबार भएको बैठकपछि दुवै दलले देशमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको हो । दुई दलबीच राजनीतिक अवस्थाका बारेमा छलफल भएको र सरकार गठनका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ । भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यका बारेमा पनि छलफल भएको थियो ।

मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले गठबन्धनमा सरकार बनाउने निर्णय गरेका छन् ।

पाकिस्तानमा फेब्रुअरी ८ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा इमरान खानको पार्टी तहरिक ए इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी जित हासिल गरेका छन्।

स्वतन्त्र उम्मेदवारले ९३ सिट जितेका छन् भने पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिट जितेका छन् ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३६६ सिट छन्, जसमध्ये प्रत्यक्ष निर्वाचनमार्फत २६६ सिटमा प्रतिनिधिहरू निर्वाचित हुन्छन्। ६० सिट महिलाका लागि र १० सिट गैर मुस्लिम प्रतिनिधिका लागि आरक्षित छन् ।

प्रत्यक्ष निर्वाचनमा सरकार बनाउन २६६ सिटमध्ये १३४ सिट आवश्यक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *