पाकिस्तानको चुनावी नतिजामा भएको अनियमितताको प्रश्नमा अमेरिकाले के भन्यो ?

डिसी नेपाल
१ फागुन २०८० १५:००

काठमाडौं । पाकिस्तानमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआई र नवाज सरिफको पार्टी पीएमएलएनले आ–आफ्नो जितको दाबी गर्दै सरकार गठनको प्रयासलाई तीब्र पारेका छन् । यसैबीच अमेरिकाले सोमबार पाकिस्तानले आफ्नो कानुनी प्रणालीमार्फत चुनावमा अनियमितता भएको दाबीको स्वतन्त्र छानबिन गर्नुपर्ने बताएको छ ।

सोमबार अमेरिकी विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधिएको थियो, ‘तपाईंले (अमेरिका) पाकिस्तानको नयाँ सरकारसँग काम गर्न तयार हुनुहुन्छ भन्नुभएको थियो । तर नयाँ सरकार निर्वाचनमा निर्भर हुनेछ । पाकिस्तानमा धाँधली र अनियमितताको आरोप लागेको छ, यसमा तपाईको राय के छ ?’

यसको जवाफ दिँदै म्याथ्यु मिलरले भने, “पाकिस्तानमा अहिलेसम्म कुनै नयाँ सरकार बनेको छैन । सरकार गठनका लागि अझै छलफल चलिरहेको छ भन्ने मलाई विश्वास छ। तर एउटा कुरा हामीले चुनावअघि नै भनेका छौं। हामी अझै पनि स्पष्ट गर्न चाहन्छौं कि पाकिस्तानका जनताले जसलाई पनि आफ्नो प्रतिनिधित्वका लागि चुन्छन्, हामी त्यो सरकारसँग काम गर्नेछौं। जहाँसम्म धाँधलीको दावीको सवाल छ, हामी यसको विस्तृत अनुसन्धान चाहन्छौं।”

निर्वाचनमा स्वतन्त्र र पूर्व प्रधानमन्त्री इमरान खानले समर्थन गरेका उम्मेदवारहरूको जितबारे सोधिएको प्रश्नको जवाफमा म्याथ्यु मिलरले भने, “म यो स्पष्ट गर्न चाहन्छु कि धाँधलीको दावीको पूर्ण छानबिन हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। निर्वाचनमा अनियमितता भएको छ भन्ने आरोपको छानबिन होस् भन्ने चाहन्छौं। तर हामी लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्छौं र जसकप सरकार बनेमा पनि काम गर्न तयार छौं ।”

पाकिस्तानको निर्वाचन आयोगका अनुसार इमरान खान र पार्टी चिन्हको अनुपस्थितिमा, पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०० भन्दा बढी सिट जित्न सफल भए। योसँगै नवाज सरिफको पार्टी पीएमएल–एनले अन्तिम नतिजामा ७२ सिट प्राप्त गरेको छ ।

पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ५४ सिट जितेको छ । सिन्ध प्रान्तमा पार्टीका अधिकांश उम्मेदवार विजयी भएका छन् । अन्य साना दलहरूले संयुक्त रूपमा २७ सिट जितेकाले कुनै पनि गठबन्धन सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *