आफूलाई जेल हाल्न माग गर्दै इमरान खानकी पत्नीले अदालतमा निवेदन दिइन्

डिसी नेपाल
१ फागुन २०८० १६:०७

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी तेस्रो पत्नी बुशरा बीबीले मंगलबार साँझ इस्लामावाद उच्च अदालतमा याचिका दायर गरेकी छन् । यसमा भनिएको छ– म तोशखाना मुद्दामा दोषी ठहर भएको छु । प्रशासनले मलाई जेल पठाउनुको सट्टा मेरो घरलाई ‘सब जेल’ घोषणा गरी यहाँ राखेको छ । म पाकिस्तानको आम नागरिक भएकोले मलाई पनि आम कैदीजस्तै अडियाला जेलमा राखिदिन अदालतसँग अनुरोध गर्दछु ।

बुशराको यो मागले यसकारण पनि महत्व राखेको छ किनकी इमरान खान यही जेलमा कैद छन् । बुशरालाई तोशाखाना मुद्दामा १४ वर्ष र अवैध विवाह मुद्दामा ७ वर्षको सजाय सुनाइएको छ ।

पाकिस्तानको अंग्रेजी अखबार ‘द डन’ को रिपोर्टका अनुसार बुशरा बीबीले दुई दिनअघि आफ्ना वकिलमार्फत पाकिस्तानी सेनाले आफूसँग सम्पर्क गरिरहेको र चुनावलाई ध्यानमा राखेर सम्झौता गर्न चाहेको आरोप लगाएकी थिइन् ।

तर, फेब्रुअरी १ ​​मा जेल अदालतमा सुनुवाइपछि इमरानले आफूलाई कुनै सम्झौताको प्रस्ताव नआएको र आफू कुनै सम्झौताका लागि तयार नभएको बताएका थिए । तर, बुशराले सेनालाई दोष लगाएकी छिन् ।

३१ जनवरी राति करिब ९ बजे बुशरालाई सजाय सुनाएपछि जेल ल्याइएको थियो । रिपोर्टका अनुसार यस क्रममा जेल प्रशासनले केही प्रश्न उठाए र त्यसपछि अचानक अधिसूचना जारी गरियो। बुशरालाई जेलबाट अदालतमा ल्याइँदा केही समस्या आउन सक्ने र चुनावको समय भएकाले उनलाई जेल पठाउनुको सट्टा उनको बनीगाला घरलाई सबजेलमा परिणत गरिनुपर्ने भनिएको थियो ।

त्यसयता बुशरा इमरानको कैयौं एकडमा बनेको आलिशान बनीगाला घरमा कैद छिन् । तर, उनी कतै जान सक्दिनन् । अदालतले उनलाई हप्तामा एक पटक फोनमा केही मिनेट कुरा गर्न अनुमति दिएको छ ।

रिपोर्टका अनुसार बुशराले हाईकोर्टमा दायर गरेको अपीलमा उनको घरमा अज्ञात व्यक्तिहरु देखिने र यस्तो अवस्थामा आफू सुरक्षित महसुस नगर्ने बताएकी छन् । त्यसैले उनलाई घरको सट्टा अडियाला जेलमा राख्नुपर्छ ।

बुशराले देशमा सबैका लागि समान कानुन भएकाले सजाय सुनाइसकेपछि आफूलाई दोषीकै रूपमा जेलमा राख्नुपर्ने बताएकी छन्, किनभने अन्य सजाय पाएका कैदीहरूलाई पनि जेलमा राखिएको छ, उनीहरुको घरलाई जेलमा परिणत गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *