टंकप्रसाद आचार्यसँगको त्यो क्षण

कपिल लोहनी
५ फागुन २०८० ८:०६

पञ्चायत कालमा विभिन्न राजनैतिक नेताहरू तथा राजनीतिमा सौख राख्ने व्यक्ति तथा पत्रकारहरू अक्सर भेला हुने काठमाडौंका थोरै सुरक्षित ठाउँहरू मध्ये जिउँदा शहीद तथा नेपालका पुर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको बानेश्वर हाइटस्थित निवास पनि थियो।

हाम्रा पिताजी गोविन्दप्रसाद लोहनी अन्य केही व्यक्तिहरू जस्तै उहाँलाई मन परेका खास व्यक्तिहरू मध्येकै हुनुहुन्थ्यो। त्यसैले कसैले मन दुखाइदियो वा कुनै कुरा मनमा राख्न नसकेको बेलामा उहाँ पिताजीसँग फोनमा सो बारे कुरा गर्नुहुन्थ्यो वा ‘तिमी म कहाँ आउ त, एउटा कुरा छ’ भनेर हैकमसाथ बोलाउनु हुन्थ्यो।

त्यस्तै कुनै समारोहमा जानको निम्ति सवारीको साधन पाइएन भने उहाँ पिताजीलाई फोन गरेर उहाँलाई पनि टिपेर लग्न अनुरोध गर्नु हुन्थ्यो। अक्सर उहाँकी छोरी डा. मीना आचार्य र छोराहरूले नै उहाँका यस्ता हरेक आवश्यकताहरू पूरा गरिदिइ रहेका हुन्थे।

कहिलेकाहीँ पिताजीको साथमा उहाँ अकस्मात हाम्रो घरमा आइपुग्नु हुन्थ्यो। त्यतिबेला हाम्री माताले निकै आदरका साथ चिया र खाजा खुवाएको र उहाँले पनि आफ्नै बुहारी जस्तो व्यवहार गरेको मैले देखेको छु।

२०४६ सालको जाडोयाम तिरको कुरा हो, एक दिन मध्यान्हतिर पिताजीले आफूलाई टंकप्रसाद आर्चायले बोलाउनु भएकोले त्यहाँ पु¥याइ दिन आगह गर्नु भयो। त्यहाँ एकछिन बसेपछि मेरो १९-२० वर्षे कलिलो र चञ्चल मनमा कुनबेला पिताजीले घर फर्कने भन्नु हुन्छ र साथीहरूसँग घुम्न जान पाइएला भनेर निकै छटपटी भएको थियो।

उहाँको कुरामा ध्यान नदिएर छटपटीइरहेको देखेर उहाँले मतिर हेरेर ‘तँलाई सबै कुरा जानेको छु जस्तो लाग्छ होइन? तेरो जस्तो उमेरमा मजस्तो जाने बुझेको कोही छैन, यी बुढाहरू त्यसै बकवास गरिरहेका छन् जस्तो लाग्छ।

तेरो बाउ पनि तेरो उमेरको छँदा मकहाँ आएर सबै कुरा उसैले जानेको जस्तो गरेर बुज्रुक्याईँ छाँट्थ्यो। पछि उमेर छिप्पेर अध्ययन र अनुभवले पाको भएपछि आफैंं ठीक बाटोमा हिँड्न थाल्यो। हेर्, आज यो उमेरमा पनि उ म कहाँ बरोबर आएर मलाई उसको अभिभावक जस्तो नै व्यवहार गर्छ।’

मेरो कानमा उहाँका ती कुराहरू धेरै दिनसम्म गुञ्जिरहेका थिए र आज पनि ताजै रहेका छन्, अनि म त्यतिबेला कति काँचो थिएँ भन्ने कुराले हाँसो पनि उठेर आउँछ। सबै नयाँ पिँढीका युवाहरूको जीवनमा यस्ता क्षण पनि आउँदा रहेछन्।

त्यो दिन हामी त्यहाँ पुग्दा उहाँकी अर्धाङिगनीका साथै समाज साप्ताहिकका सम्पादक मणीराज उपाध्याय तथा अन्य सधैंजसो त्यहाँ गइरहने दुई तीन जना व्यक्तिहरू पनि थिए। आचार्यजी केही दिन अघि नारायणहिटी राजदरवारमा राजा वीरेन्द्रको आमन्त्रणमा शान्त रात्रीभोजमा सरिक हुन जानुभएको रहेछ।

बातचितको सिलसिलामा त्यहाँ भएका केही अप्रिय वहसका कारण उहाँ खाना नखाई घर फर्कनु भएको रहेछ। हामी भेट्न गएको दिन उहाँको चेहरा त्यति खुशी देखिएको थिएन र त्यही बारे छलफल गर्न मेरा पिताजीलाई पनि बोलाउनु भएको रहेछ।

त्यतिबेला नेपाल र भारतको सम्बन्धमा निकै चिसोपन आएकोले भारतले नेपालसँगको व्यापार तथा पारवहन सन्धि नविकरण नगरी दिएर नाकाबन्दी नै गरेको थियो। यसको फलस्वरुप इन्धन, खाद्य पदार्थ, औषधि तथा दैनिक आवश्यक वस्तुहरूको नेपालमा ठूलो अभाव भएको थियो।

निर्यात र आयात विल्कुलै ठप्प जस्तो स्थितिमा थियो। पञ्चायती सरकारलाई नेपालसँग चीनको विकट भाग जोडिएकोले आवश्यक सामान भित्र्याउन निकै नै हम्मे हम्मे परेको थियो।

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको मन्त्रिमण्डलले खोक्रो राष्ट्रवाद देखाउन इन्धन समेत हवाइजहाजबाट ल्याउने कोशिश गरेको थियो, तर त्यसरी खर्चिलो र खतरापूर्ण तरिकाबाट सधँै प्रज्वलनशील पदार्थ ल्याउन कतई सम्भव थिएन।

त्यो साँझ भएको चाहिँ के रहेछ भने, उहाँलाई राजा वीरेन्द्रले नारायणहिटी राजदरवारमा रातीको खाना खाने र समसामयिक विषयमा छलफल गर्ने गरी बोलाएका रहेछन्। नेपाल र भारतको बिग्रिएको सम्बन्ध सुधार्न तत्काल के के गर्नुपर्छ भनेर सल्लाह लिन पनि उहाँलाई राजाले बोलाएका रहेछन्।

त्यतिबेला आफूलाई मन खाने वरिष्ठ व्यक्तिहरूलाई दिनहुँजसो साँझको समयमा बोलाएर राजाले सल्लाह लिने गरेका रहेछन्। राजाको मुख्य निवास रहेको नारायणहिटी राजप्रासादभित्रको बंगलाको बैठक कोठामा पुगेपछि उहाँको भेट राजा वीरेन्द्र, रानी ऐश्वर्य र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग भएको रहेछ। रानी ऐश्वर्यले तीनैजनालाई बडेमानका गिलासहरूमा ठुल्ठुलै पेगको ब्राण्डी हालेर दिइछन्।

त्यसबेलाको बिग्रँदो राजनीतिको विश्लेषण गर्न राजाबाट आग्रह भएपछि आर्चायले विस्तृत रूपमा सो अवस्थाको वर्णन गर्नुभएछ। नेपाल र भारतको भौगोलिक स्थिति, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि र समानताहरू बारे उहाँले वर्णन गर्नुभएछ।

आर्चाय र अधिराजकुमार ज्ञानेन्द्रको १-१ पेग ब्राण्डी सकिँदा नसकिँदै राजा वीरेन्द्र ३ पेग सकेर चौथोमा पुगिसकेका रहेछन् र आचार्यको कुरालाई बीच बीचमा काटेर ‘के भनेको रे तिमीले ?’ भनेर २-३ पटक कुरा दोहो¥याउन लगाएछन्।

टंकप्रसादजी पनि हक्की न पर्नुभयो, उहाँलाई राजाको मद्यपानको यस्तो तीब्र गतिको सेवन मन नपरेर राजालाइ सम्झाउन खोज्नु भएछ। उहाँले भन्नु भएछ कि ‘राष्ट्रप्रमुख जस्तो मान्छे भएर सरकारले यसरी धेरै पिउनु भएन।

अन्य देशका राष्ट्रप्रमुखले पनि यसरी धेरै पिउँदैनन्। सरकारबाट राष्ट्रिय हितका लागि कैयन् कुराहरू सोचेर निर्णय लिनु पर्छ। कैयन् व्यक्तिहरूसँग दैनिक भेटघाट गरिराख्नु पर्छ। कति सार्वजनिक समारोहहरूमा सरिक हुनुपर्छ र त्यस्तै विदेशी कूटनीतिज्ञहरूसँग अक्सर भेटिरहनुपर्छ।

तर यसरी दिनहुँजसो अधिक मात्रामा रक्सी सेवन गर्दा न त अरूले भनेको कुरा राम्ररी ग्रहण गर्न सकिन्छ, न आफ्नै मनमा नै विचारहरू खेलाउन सकिन्छ, अनि स्वास्थ्यमा पनि नकारात्मक असर पर्नसक्छ। त्यसमाथि पुर्ख्याैली  मुटुको रोगको समस्या छ। नेहरु, माओ, गोर्भाचेभ, राजिव गान्धी, अमेरिकी तथा अन्य विकसित राष्ट्रका राष्ट्राध्यक्षहरू, र आजका जल्दा बल्दा शासकहरू, अनि अझै हिटलर, नेपोलियन, चर्चिल जस्ता पहिलेका शासकहरू कसैले पनि अत्यधिक मदिरापान गरेको पाइँदैन’।

टंकप्रसादजीका यी कुरा राजा र अधिराजकुमारले ध्यानपूर्वक सुनेका भए तापनि रानी ऐश्वर्यको मुहारमा भने क्रोध बढ्दै गएको स्पष्टसँग देखिन थालेको रहेछ। अनि टंकप्रसादजीले हिटलर र नेपोलियनको नाम लिने बित्तिकै महारानी अति रुष्ट भएर उहाँ माथि खनिन थालिछन्।

‘नेपोलियनले रक्सी नपिएको भए के नेपोलियन ब्राण्डी बन्थ्यो? के भएको तिमी? ल हेर, यो टंकप्रसाद त अब काम नलाग्ने बुढा भएछ। राजालाई अर्ति दिने? भए नभएका कुरा सुनाउने?

कति डर नभएको र लाज-सरम पचेकोे मान्छे’। क्रुर राणाशासकहरूसँग त बिना डर र हिच्किचाहट आँखा जुधाएर बोलेका टंकप्रसादजी रानी ऐश्वर्यका यस्ता कुरा सुनेर मुस्कुराउनु भएछ र महारानीलाई ‘रिसानी माफ होस् वडामहारानी सरकार, मैले जे भनेँ भर्खर, त्यो साँचो हो।

मसँग हिटलर, नेपोलियन, चर्चिललगायत धैरै राष्ट्रध्यक्षका बायोग्राफी छापिएका पुस्तकहरू छन्। तर ती पुस्तकमा कतै पनि उनीहरू मदीरामा डुब्ने गरेको प्रसङ्ग मैले भेटेको छैन’ भन्नु भएछ। राजा वीरेन्द्रले मुसु मुसु हाँस्दै रानीलाई अंग्रेजीमा धेरै वाद–विवाद नगर भनेछन्। उनीहरूको कुरा सुनेर अधिराजकुमार ज्ञानेन्द्र पनि मुसु मुसु हाँसेछन्।

राजाले फेरी टंकप्रसादजीलाई नेपाल र भारतको सम्बन्ध सुधार्नको लागि गर्नुपर्ने काम बारे उहाँको राय प्रकट गर्न आग्रह गरेछन्। टंकप्रसादजीले यो काम एकदम सजिलो भएको बताउनु भएछ।

उहाँले भन्नु भएछ कि यो अहिलेको विषम् परिस्थिति राजा वीरेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री राजिव गान्धी बीचको व्यक्तिगत टकरावले गर्दा सिर्जिएको हो र दुईजना एकान्त ठाउँमा बसेर आ-आफ्ना गल्ती स्वीकार गरेर मेलमिलापको लागि हातेमालो गर्ने बित्तिकै हाम्रा दुई देश बीचको यो व्यर्थको झगडा आफैं सकिने छ।

उहाँले यो पनि भन्नु भएछ कि राजा वीरेन्द्र विश्वकै निकै कम राजतन्त्र भएको मुलुक मध्येको नेपाल अधिराज्यका जनतामा भिजेका राजा र त्यसमाथि पनि विश्वका सम्पूर्ण हिन्दूहरूको सम्राटको रूपमा पुजिएका राजा भएकाले उनको वैभव आफ्नो ठाउँमा छ भने राजीव गान्धी पनि इतिहासमा महान् व्यक्तिका रूपमा नाम लेखाइसकेका हस्तीहरू मोतीलाल नेहरुका पनाती, भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुका नाती र लामोसमय भारतकी सशक्त महिला प्रधानमन्त्री भएकी इन्दिरा गान्धीका छोरा र आज विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतका करौडाैं जनताले चुनेको पार्टीबाट प्रधानमन्त्रीमा छानिएका व्यक्ति।

राजा वीरेन्द्र र राजीव गान्धी दुवैजना केटाकेटी उमेरदेखि नै लाडप्यार र रवाफमा हुर्किएका व्यक्ति भएकाले कोही कसैसँग दब्न नचाहने र दुवैतिरका भारदारहरूले यो झगडा अझै चर्काएर दुई देश बीचको दुरी बढाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न लागी परेको बेला राजीव गान्धी र महाराजाधिराजको आपसी समझदारी र पहलकदमी नै सर्वोत्तम उपाय भएको उहाँले बताउनु भएछ।

आचार्यजीको कुरा सुनेर राजा वीरेन्द्र केही गम्भिर भएर सोचमा डुबेछन् र उहाँको कुरामा आफ्नो सहमति रहेको जस्तो गरेर टाउको हल्लाएछन्। तर रानी ऐश्वर्य यी कुराले झनै आवेगमा आइछन्।

उनले भनिछन् कि, ‘अब राजाले गएर त्यो राजीव गान्धीसँग माफी माग्नु प¥यो होइन? भारतीयहरूले तिमीलाई कति पैसा दिएका छन् यस्ता राष्ट्रघाती कुरा बक्न? के भएका होलान् यी वुढाहरू। सबका सब राष्ट्रघाती छन् अनि राजतन्त्र र पञ्चायती व्यवस्था खतम गर्न लाग परेका छन्। सरकारबाट पनि यस्ता मिति पुगिसकेका वुढाहरूसँग सल्लाह लिइबक्सन छोड्नु प¥यो’।

यति सुने पछि असह्य भएर टंकप्रसादजीले आफू बसेको सोफाबाट जुरुक्क उठेर राजा, रानी र अधिराजकुमारलाई अभिवादन गर्दै भन्नु भएछ कि, ‘सरकार अब हामी जस्ता बुढाहरूको समय र उपादेयता राजदरवारमा सकिएछ। माफ पाउँ सरकार, म अब यहाँबाट जाने अनुमती चाहन्छु। तर जाँदा जाँदै सरकारलाई एउटा पुरानो बुढोे हितैषिको हैसियतले अझ पनि के भन्न चाहन्छु भने, भारतसँगको सम्बन्ध सुधार्न अघि मैले भने जस्तै सरकार र राजीव गान्धी एक स्थानमा बसेर गोप्य वार्तालाप तथा भलाकुसारी गर्नुपर्छ, र अर्को कुरा, देशमा उर्लँदै गरेको प्रजातान्त्रिक आन्दोलनको वाढीलाई अब कसैले थेग्न वा रोक्न नसक्ने भएको तथा यो परिस्थितिको फाइदा विदेशी राष्ट्रले समेत लिन थालेकोले सबैभन्दा उत्तम काम बहुदलवादीहरूसँग भेटेर वृहत् राजनैतिक सुधार गर्नु नै हुनेछ’।

एकातिर भारतले सन्धि नवीकरण नगरेर नाकावन्दी गरिरहेको बेला र अर्कोतिर देशमा बहुदलीय राजनैतिक प्रणालीको पक्षमा प्रत्येक दिन आवाज बुलन्द हुँदै गएर पञ्चायती व्यवस्थाको पतन हुनलागेको परिस्थिति।

यस्तो बेलामा पनि रानी तथा दरवारसँग निकट कट्टरपन्थी पञ्चहरू तथा भारदारहरूले राजालाई गुमराहमा राख्ने, पहिलेदेखिका हितचिन्तक तथा जिन्दगीभर राष्ट्रसेवामा समर्पित भएर बसेका कैयन् कर्मठ व्यक्तिहरूको खिल्ली उडाउने, राजालाई ठीक सल्लाह दिने व्यक्तिहरूलाई दरवारमा पस्नै निषेध गर्ने जस्ता कार्यले गर्दा धेरैजना हितैषी, आफन्त र देशमा परि आउने विषम परिस्थितिमा सबै पक्षलाई मिलनविन्दुसम्म ल्याउन सक्ने व्यक्तिहरूसमेत निराश भएर राजाबाट टाढा हुन बाध्य भएका थिए।

टंकप्रसादजीले खानु भएको जस्तो हप्की दप्की यही समयतिर सरदार यदुनाथ खनाल, डा. हर्क गुरुङ, मेरा पिता गोविन्दप्रसाद लोहनी र अन्य धेरै वुद्धिजिवीले खाइसकेको तर शील स्वभावका विकासप्रेमी राजा प्रतिको निष्ठा र मायाले गर्दा ती सबैजना चुप लागेर किमकर्तव्यविमुढ भएर बस्न कर लागेको थियो।

टंक प्रसादजीलाई हप्की दप्की गरेर पठाएको त्यस दिन पश्चात उहाँ कहिल्यै राजदरवार फर्कनु भएन। तर पञ्चायतको अवसान हुनु भन्दा केही दिन अघि यानी निकै ढिलो गरेर चेत खुले पश्चात फेरी निर्लज्ज भएर राजदरवारले टंकप्रसादजीसँग नेपाल टेलिभिजन मार्फत आन्दोलनकारीहरूलाई सम्झाउन आग्रह गर्‍यो।

आफू सधैं प्रजातन्त्रवादी भएपनि उहाँ भारतले नाकाबन्दी गरिरहेको बेलामा उनीहरूकै बलियो आडसमेत मिलेर भइरहेको जनआन्दोलन प्रति खुशी हुनुहुन्थेन।

उहाँ भारतीय नेताहरूसँग राजा आफैंंले पहल गरेर दुई देश बीचको मनोमालिन्य हटोस् भन्ने चाहनु हुन्थ्यो र साथै मुलुक भित्रका राजनैतिक पार्टीका नेताहरूसँग राजा आफैंंले भेटघाट गरेर समयसापेक्ष राजनैतिक समाधान खोजुन् भन्ने पनि चाहनु हुन्थ्यो। तर यसो हुन सकेको थिएन।

त्यसैले कहिल्यै आफ्नो फाइदाका लागि केही नबोलेका जिउँदा शहिदलाई एक पटक फेरि बोल्नु पर्ने वाध्यता आयो। उहाँले आखिर नेपाल टेलिभिजन मार्फत नेपाली जनतालाई आफ्ना विचार राख्नु भयो।

दक्षिणी छिमेकी राष्ट्रले नाकावन्दी गर्नुका साथै अप्ठ्यारो परिस्थितिको सिर्जना भएको बेलामा यसरी आन्दोलन गर्न नहुने र बरु देशका सबै सरोकारवालाहरूले यस्तो परिस्थितिको सामना गर्न एक हुनु पर्ने जस्ता कुराहरू राख्नु भयो उहाँले।

टंकप्रसादजीको सन्देशलाई त्यतिबेलाका अधिकांश बहुदलवादी नेताहरूले नकारात्मक रूपमा लिए अनि पञ्चायत बचाउने दरवार र पञ्चहरूको अन्तिम प्रपञ्चलाई सार्थकता दिन टंकप्रसादजीले बोलेका भन्ने ठहर सबैले गरे।

उहाँलाई नजिकबाट चिन्नेहरू, असली राजनैतिक विश्लेषकहरू र तत्कालीन वरिष्ठ नेताहरूलाई के कुरा थाहा थियो भने टंकप्रसादजी प्रलोभनमा पर्ने व्यक्ति होइनन्। तर वहुदलीय प्रजातन्त्रको लागि छेडिएको आन्दोलन निकै अघि बढिसकेकोले उहाँको आग्रहलाई मान्ने वा समर्थन गर्ने अवस्था र समय कसैसँग थिएन। फलतः केही समयमा नै जनआन्दोलनले राष्ट्रव्यापी रूप लिएर आखिर पञ्चायतको अवसान र वहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली नै भयो।

टंकप्रसादजीको भनाईको तात्पर्य यतिमात्र थियो कि मातृभूमिमाथि विदेशी शक्तिले नाकावन्दी लगाएको अवसर पारेर उनैसँग मिलेर आन्दोलन चर्काउनु हुँदैनथ्यो। यसरी उनीहरूबाट अनुगृहित हुँदा पछिसम्म विदेशीले आफूले लगाएको गुनको ऋणी बनाइरहने छन्। आखिर त्यस्तै भयो र भइरहेको छ।

बारम्बार नेपाल र भारतबीच मनमुटाव हुने विभिन्न स्थितिको सिर्जना भारतीय पक्ष र तत्कालीन नेपाली सरकार र दरवारले पनि गर्ने गरेको हो। केही भारतीय नेताहरूले तत्कालिन भारतीय प्रधानमन्त्री राजिव गान्धीलाई छिमेकी राष्ट्रहरूमध्ये घनिष्ट सम्बन्ध भएको राष्ट्र नेपाललाई यसरी नाकावन्दी गरेर नेपालीहरूलाई दुःख दिन नहुने तर्क वारम्वार राखेपछि मुलुकभित्रै राजनीतिक दवावमा परेका राजिव गान्धीले पटक पटक राजासँग भेटेर कुरा गर्न खोजेका रहेछन्।

मेरा पिताजीलाई समेत त्यस्तै बेलातिर बोलाएर राजाले यो बारे सल्लाह लिँदा उहाँले राजा र राजिव गान्धीको तत्काल भेटघाट हुनुपर्ने र एकापसमा भएका असमझदारीहरू हटाएर भविश्यमा यस्ता समस्या आउन नदिने वचनवद्घता व्यक्त गर्नु पर्दछ भन्नुभएछ।

राजा वीरेन्द्रले यस्तो वार्ता औपचारिक वा अनौपचारिक कस्तो हुनुपर्ने भनेर सोध्दा पिताजीले राजिव गान्धीले पनि गोप्य रूपमा नै कुरा बढाएकोले यस्तो पहिलो भेट नितान्त अनौपचारिक र गोप्य हुनुपर्ने र सो भेटवार्तामा कुनै सहयोगी विना दुई जनाले आआफ्ना कुरा राख्ने तथा आआफ्ना गल्तीहरू औँल्याएर तिनलाई दोहोरिन नदिने तथा आउँदा दिनमा यस्ता भेटघाटका कार्यक्रमहरूलाई निरन्तरता दिने वचनवद्धता जाहेर गर्नुपर्दछ।

पिताजीको यो सुझाव सुन्ने वित्तिकै रानी ऐश्वर्य निकै रिसाएकी थिइन् रे, तर राजाले मुस्कुराउँदै लोहनीले ठिकै भनेको हो भनेपछि उनी चुप लागेकी रहिछन्।

टंकप्रसादजीकै भनाई अनुसार त्यसबेला भारतीय प्रधानमन्त्रीले राजासँग नेपालमा नै आएर भेट्न पनि आपूm तयार भएको भनेर गोप्य खवर पठाएका रहेछन्। त्यसैवखत एकचोटी त राजा सुक्लाफाँटा वन्यजन्तु आरक्षमा केही दिनको लागि बस्न गएको कुरा थाहा पाएर भारतीय अधिकृतहरूले राजिव गान्धी उतै गएर गोप्य तवरले भेट्न पनि तयार भएको कुराको खवर पठाएका थिए रे,।

तर राजदरवारले यी कुनै पनि प्रस्तावलाई सकारात्मक ढङ्गले नहेरे पछि भने भारतसँगको सम्बन्ध अझ बिग्रन गयो। यसरी निकटतम तथा विशाल छिमेकी राष्ट्रले आफू झुकेर भेटवार्ता अघि बढाउन खोज्दा पनि त्यतिबेलाको सरकार र दरवारले यस्तो मौका गुमाएको देख्दा हाम्रो त्यतिबेलाको कूटनीति कति अदूर्दशी हुँदै गएको रहेछ भन्ने प्रष्ट हुन्छ।

राजाको प्रत्यक्ष शासनकालमा भारतसँग जुध्न नै खोज्ने र प्रजातान्त्रिक सरकारको शासनमा भारतलाई खुशी तुल्याउन अनावश्यक झुकाव नै राखेर हिँड्नु दुवै गलत कूटनीतिका पराकाष्ठा नै हुन्।

वेल्जियम जस्तो शुशिक्षित नागरिकहरू बस्ने विकसित मुलुकका राजा हुनुपर्ने मानिसलाई हाम्रो जस्तो चरम षडयन्त्रको राजनैतिक इतिहास भएको मुलुकमा के टिक्न दिन्थे।

राजनैतिक षड्यन्त्र, पारिवारिक कलह र हत्या-हिंसाकै भुमरीमा परेर विलिन भए राजा वीरेन्द्र। त्यस्तै टंकप्रसाद, विश्वेश्वर, किर्तिनीधि, मनमोहन जस्ता इमानदार र दुरदर्शी विद्वत राजनेता पनि नेपालले अब पाउला या नपाउला भन्ने कुराको कुनै टुङ्गो छैन । तर पनि सकारात्मक नै रहनु पर्छ हामीले।

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *