कविता : तँ त ढिलो आइपुगिस् नि ?

सुरेश राई
१२ फागुन २०८० ६:३९

उनीहरुलाई त
सपना देखाइदिनेहरु पनि थिए
गन्तव्यको दिशा बताइदिनेहरु थिए
गोरेटो किनिदिएर डोजर लगाई
फराकिलो बाटो बनाइदिनेहरु पनि थिए
ठेल्दै र घचेट्दै हात दिनेहरु थिए
साथ दिनेहरु थिए
जुत्ता फेरिदिनेहरु थिए
पसिना पुछिदिनेहरु थिए

मलाई यता
अभाव र समस्याको थुप्रोमाथि
कुन सपना हो
कुन भोक हो
छुट्याउनै समय लागेको हो
छानेर यही चाहिँ सपना हो भनी
चिन्न समय लागेको हो
सपना चिनेपछि
अक्करे भिरको बाटो
झाडीहरु फाँड्दै र छिचोल्दै
एक्लै रित्तो पैताला दौडिएको हुँ
जिउमा बिझेका काँडा र काउसाहरु
निकाल्दै र टक्टक्याउँदै
सुन्निएका गोडाहरु बेवास्ता गर्दै
थकित-थकित, बेहोस-बेहोस
गन्तव्य शिखरमा आइपुगेको हुँ
उनीहरुभन्दा दुई चार मिनेट
पक्कै ढिला भएकै हुँ

नतिजा सुनाउँदा
यो निर्णायक समाजले
तँ त ढिलो आइपुगिस् नि ? भनेको हो
एक दफा गललल हाँसेको हो
मेरो यात्राको धज्जी उडाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *