सापकोटाको ‘जीवगाथा’ को विमोचित

डिसी नेपाल
१६ फागुन २०८० ६:५०

काठमाडौं। फ्रान्सलाई कर्मथलो बनाएका लेखक ददि सापकोटाद्वारा लिखित ‘जीवगाथा’ बजारमा आएको छ। कमलादिस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक स्वयंले उक्त पुस्तकको विमोचन गरे।

यसअघि उनका पन्छी जगात्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव प्रकाशित भइसकेका छन्। पुस्तकमा वातावरण, प्रकृति र जीवजन्तुका विषयलाई केन्द्रित गरिएको छ।

कार्यक्रममा वन्यजन्तुविद् सुवालले प्रकृति एवं जीव–जनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा सापकोटाको ‘जीवगाथा’ विशेष रहेको विचार व्यक्त गरे। उनले भने, ‘जीव जनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको विशेष महत्व रहेको छ।’

लेखक सापकोटाले वर्षौंअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव-जनावर आदिमा आकर्षित गरेको सुनाए।

उनले भने, ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसस्वादन गराउँदै जाँदा मलाई थाहा भयो- कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ। जाडोयाम लाग्ना साथ भालेहरु हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपीजस्ता गुँड बनाउन हतार गर्दा रहेछन्।’

उनले प्रकृति र जीवजनावरको आनीबानीलाई पुस्तकमा चित्रण गरिएको बताए। लेखक सापकोटाले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ। हतारिँदै निकै दिन लगाएर खाइनखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन्। यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हेर्यै हुन्छन्। पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन्। त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन्।’

लेखक सापकोटाले यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र ती जानकारी दिन ‘जीवगाथा’ लेखेको सुनाए। उनले भने, ‘जुँगा-दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ।’

उनले मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरुले स्त्रीलाई दुःख दिने रहेछन् र तिनलाई तह लगाउने पहलमान पनि हुने सुनाउँदै चोरीचकारी अनि लुकीचोरी मायाप्रेम त जीवजन्तुले पनि गाँस्ने बताए। उनले प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’ लेख्न पुगेको जनाए।

लेखक सापकोटाले भने, ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे ’वनको वैभव’ पुस्तक लेखिसकेको मैले यसपटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु।’ उनले पुस्तकले पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *