अमेरिकाले गाजा पट्टीमा पहिलो पटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो

डिसी नेपाल
२० फागुन २०८० १२:०४

काठमाडौं । गाजा पट्टीमा हमास र इजरायलबीच विगत पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले पहिलो पटक विमानबाट राहत सामग्री खसालेको छ ।

अमेरिकाले तीनवटा सैन्य विमानबाट खानाका ३८ हजार प्याकेट खसालेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यो अपरेशन जोर्डन वायुसेनाको सहयोगमा गरिएको हो ।

अमेरिकी अधिकारीहरूले शुक्रबार राष्ट्रपति जो बाइडेनले उक्त घोषणा गरेको र आज पहिलो पटक राहत सामग्री छाडिएको बताए।

गत बिहीबार राहत सामग्रीको पर्खाइमा रहेका १०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि बाइडेनले यो वाचा गरेका हुन्।

सेन्ट्रल कमाण्डको विज्ञप्ति अनुसार गाजाको तटीय क्षेत्रमा सी–१३० विमानबाट ३८ हजारभन्दा बढी खानाका प्याकेटहरू खसालिएको थियो ।

यसअघि बेलायत, फ्रान्स, इजिप्ट र जोर्डनले गाजामा विमानबाट राहत सामग्री खसालेको भएपनि अमेरिकाले पहिलोपटक यस्तो गरेको हो ।

शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा राष्ट्रपति बाइडेनले भनेका छन्, ‘अमेरिकाले इजरायललाई थप ट्रकहरू पास गर्न र अन्य मार्गहरू खोल्न अनुमति दिन आग्रह गर्दछ ताकि खाँचोमा परेकाहरूलाई राहत पुग्न सकोस्।’

बिहीबार भएको घटनामा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका थिए ।

हमासले इजरायली सेनाले राहत सामग्रीको पर्खाइमा रहेका सर्वसाधारणमाथि गोली प्रहार गरेको आरोप लगाएको थियो तर इजरायलले चेतावनी दिँदै गरेको भागदौडमा मानिसहरू मारिएको दाबी गरेको थियो ।

धेरै देशहरूले यस घटनाको अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग छानबिन गर्न माग गरेका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ३० हजारभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये २१ हजार बालबालिका र महिला छन्। ७ हजारभन्दा बढी गाजावासी बेपत्ता र ७० हजारभन्दा बढी घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *