शाहबाज शरीफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्दै

डिसी नेपाल
२० फागुन २०८० १६:२९

काठमाडौं । अन्ततः पाकिस्तानमा निर्वाचित सरकार गठनको समय आएको छ। चुनावी धाँधलीको आरोप र सरकार गठन वार्ताका धेरै चरणहरू बीच, शीर्ष पीएमएल-एन नेता शहबाज शरीफ आइतवार पाकिस्तानको ३३ औं प्रधानमन्त्री बन्ने पक्का भएको छ। शहबाज सरिफले फेरि गठबन्धन सरकारको नेतृत्व गर्न सक्छन्।

शहबाज पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का संयुक्त उम्मेदवार हुन्। उनले यसअघि नै उम्मेदवारी दिएका थिए । उनका प्रतिद्वन्द्वी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उमर अयुब खानले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

पीएमएल-एनका अध्यक्ष ७२ वर्षीय शहबाज तीन पटकका पूर्व प्रधानमन्त्री नवाज शरिफका कान्छा भाइ हुन्। राष्ट्रियसभा सचिवालयका अनुसार नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार राष्ट्रियसभामा मतदान हुँदैछ । सफल उम्मेदवारलाई सोमबार राष्ट्रपति भवन, ऐवान–ए–सदरमा सपथ खुवाउने कार्यक्रम छ ।

वर्तमान समयमा, पाकिस्तानले कमजोर अर्थतन्त्र र आतंकवादको बढ्दो खतराको चुनौतीहरूको सामना गरिरहेको छ। शाहबाज प्रधानमन्त्री बने भने उनको अगाडि यो पहिलो चुनौती हुनेछ । उनको सरकारले जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीको शक्तिको पनि सामना गर्नुपर्नेछ। चुनावमा कथित धाँधलीको विरोधमा पीटीआईले सडकमा प्रदर्शन गरिरहेको छ ।

फेब्रुअरी ८ मा भएको चुनावमा शरीफ नेतृत्वको पार्टी २६५ मध्ये ७५ सिटसहित सबैभन्दा ठूलो दल बने पनि स्पष्ट बहुमत ल्याउन असफल भएको छ। अर्कोतर्फ, नवाज शरीफले शहबाज शरिफको पक्षमा पछि हट्दै गठबन्धनको नेतृत्व गर्न अनुमति दिए।

पीपीपी र चार साना दलहरू गठबन्धनमा सामेल भएका छन् र पीपीपीले आफ्ना वरिष्ठ नेता र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई फेरि राष्ट्रपतिमा निर्वाचित गर्न पीएमएल-एनको समर्थनको बदलामा सरकारलाई बाहिरी समर्थन दिइरहेको छ ।

शहबाज शरीफको प्रधानमन्त्रीमा निर्वाचित हुनु लगभग निश्चित छ किनभने पीएमएल-एन र पीपीपी उम्मेदवारहरू राष्ट्रिय सभाको सभामुख र उपसभामुख पदका लागि शुक्रबार भारी बहुमतका साथ निर्वाचित भएका छन्। न्यूज इन्टरनेशनल अखबारले शीर्ष अधिकारीहरूलाई उद्धृत गर्दै भनेअनुसार इमरान खानको निकट मानिने राष्ट्रपति आरिफ अल्वीले नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने सहमति जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *