पाकिस्तानी एयरहोस्टेस क्यानडामा बेपत्ता, ‘धन्यवाद पीआइए’ लेखेको युनिफर्म होटलमा भेटियो

डिसी नेपाल
२१ फागुन २०८० १५:२९

काठमाडौं । पाकिस्तानको सरकारी वायुसेवा कम्पनी ‘पाकिस्तान इन्टरनेशनल एयरलाइन्स’ (पीआईए)की एक एयर होस्टेस क्यानडामा बेपत्ता भएकी छन् । उनको नाम मरियम रजा हो।

‘डन न्यूज’ले पीआईए स्रोतलाई उद्धृत गर्दै मरियम सोमबार आफ्नो होटलबाट बेपत्ता भएको बताएको छ। उनको कोठामा उनको युनिफर्म भेटिएको थियो। त्यसमा लेखिएको थियो– धन्यवाद पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स।

पीआइए स्रोतका अनुसार विगतमा पनि धेरै चालक दलका सदस्य, पाइलट वा एयर होस्टेस यसरी बेपत्ता भएका छन् । अन्य व्यक्तिले जस्तै मरियमले पनि क्यानडाको नागरिकता पाउन यो बाटो अपनाएको बताइएको छ ।

पीआइएको उडान पीके-७८२ सोमबार क्यानडाको भ्यानकुभर पुगेको थियो। औपचारिकता पूरा गरेपछि कर्मचारीहरु आफ्नो तोकिएको होटलतर्फ लागे । यी स्टाफमा एयर होस्टेस मरियम रजा पनि थिइन् । मरियम साँझ विमान पीके-७८४ बाट कराची फर्कने तय थियो। लामो समय कुर्दा पनि मरियम एयरपोर्ट नपुगेपछि केही मानिसलाई होटलमा पठाइएको थियो ।

होटलका कर्मचारीले मरियमको कोठाको ढोका खोलेका थिए तर उनी त्यहाँ भेटिइनन् । उसको युनिफर्म ह्याङ्गरमा झुण्डिएको थियो। यसको अगाडि लेखिएको थियो- धन्यवाद पीआईए।

मरियम १५ वर्षअघि पीआईएमा भर्ना भएकी थिइन् । केही महिनाअघि उनलाई इस्लामावादबाट टोरन्टोको लागि उडान दिइएको थियो । पीआईए स्रोतले मरियमको ट्र्याक रेकर्ड निकै राम्रो रहेको बताएको छ । त्यसैले उनको यो कदमले सबै अचम्ममा परेका छन् ।

२०२४ मा क्यानडा गएपछि बेपत्ता हुने मरियम दोस्रो पीआईए कर्मचारी हुन्। यसअघि जनवरीमा पुरुष चालक दलका एक सदस्य बेपत्ता भएका थिए । यसबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसको पुष्टी पिआइएले पनि गरेको छ ।

अधिकारीहरूका अनुसार क्यानडामा अन्य पश्चिमी देशहरूको तुलनामा शरण र त्यसपछि नागरिकता प्राप्त गर्न धेरै सजिलो छ। यही कारणले गर्दा उनीहरुका कर्मचारीले यस्तो काम गर्छन् ।

२०२३ मा, कुल ७ पीआइए चालक दलका सदस्यहरू यस्तै तरिकाले होटलबाट हराएका थिए। तीमध्ये चारजना एयर होस्टेस थिए । पीआइएले गत वर्ष क्यानडा सरकारलाई आधिकारिक पत्र पनि लेखेको थियो । पत्रमा यो सुविधा गैरकानूनी रूपमा क्यानाडामा शरण खोज्ने आफ्ना कर्मचारीलाई दिनु हुँदैन भनिएको थियो। तर, क्यानडाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *