माल्दिभ्सले भारतीय सैनिकलाई फिर्ता पठायो, चीनद्वारा स्वागत
काठमाडौं । भारत र माल्दिभ्सबीच जारी कूटनीतिक तनावका बीच माल्दिभ्सबाट भारतीय सैनिकको पहिलो टोली फर्किएको छ । माल्दिभ्स छोड्नुअघि भारतीय सैनिकले आफ्नो जिम्मेवारी भारतको प्राविधिक विशेषज्ञ टोलीलाई सुम्पेका छन् ।
माल्दिभ्सबाट भारतीय सेना फिर्ता गरेकोमा चीनले पनि प्रतिक्रिया दिएको छ । चीनको यो प्रतिक्रिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दिएका हुन्।
वाङ वेनबिनले माल्दिभ्स सरकारको यो कदमको समर्थन गर्दै चीनले माल्दिभ्सलाई आफ्नो क्षेत्रीय सार्वभौमसत्ता कायम राख्न सहयोग गर्ने बताए।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक ट्वीटमा भने, “माल्दिभ्सले आफ्नो क्षेत्रीय सार्वभौमसत्ता कायम राख्न र अन्य देशहरूसँग स्वतन्त्र आदानप्रदान र सहयोगको लागि चालेका कदमहरूलाई चीनले समर्थन गर्दछ।”
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको रिपोर्टका अनुसार वेनबिनले माल्दिभ्समा तैनाथ भारतीय सैनिकको पहिलो ब्याचको फिर्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन्।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको आदेशपछि विभिन्न टापुहरूमा निगरानी गर्ने विमान र हेलिकप्टर चलाउने भारतीय सैनिकहरू माल्दिभ्सबाट फर्किएका छन् ।
माल्दिभ्सको समाचार वेबसाइट मिहारुको रिपोर्ट अनुसार अड्डु सहरको दक्षिणी एटोलमा तैनाथ करिब २५ भारतीय सैनिक मार्च १० को समयसीमा अघि नै माल्दिभ्स छाडेका हुन्।
माल्दिभ्सका सञ्चारमाध्यमले सोमबार भारतीय सैनिकहरूले प्राविधिक टोलीलाई आफ्नो काम सुम्पेर फर्किएको जानकारी दिएका छन्।
यद्यपि माल्दिभ्स वा भारतका कुनै पनि अधिकारीले यसको आधिकारिक पुष्टि गरेका छैनन् । तर, मिहारुले माल्दिभ्सको राष्ट्रिय सुरक्षा बलले भारतीय सेना फिर्ता भएको पुष्टि गरेको दाबी गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment