इन्जिन बिग्रिएर समुद्रमा फस्यो डुंगा, कैयौं दिनको भोक र तिर्खाले ६० जनाको मृत्यु

डिसी नेपाल
२ चैत २०८० १३:०९

काठमाडौं । भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जान लागेको रबरको डुङ्गामा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ ।

यो डुङ्गामा सवार कम्तीमा २५ आप्रवासीलाई बचाइएको छ । उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो ।

यस दुर्घटनामा बाँचेकाहरुले उनीहरु सबै गत शुक्रबार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएको बताएका छन् ।

तर तीन दिनको यात्रापछि रबरको डुङ्गाको इन्जिन फेल भयो । त्यसपछि डुङ्गा समुद्रमा यता उता घुम्न थाल्यो, त्यसमा रहेको खाना र पानी सकियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा महिलाहरू र कम्तीमा एक बालक रहेको बाँचेकाहरुले बताएका छन् ।

उनीहरुको मृत्युको कारण पानीमा डुबेर नभई भोक र तिर्खाका कारण ज्यान गएको उनीहरुलाई बचाउनेहरुले बताएका छन् ।

एसओएस मेडिटेरेनियनले भन्यो ओसन भाइकिंग जहाजले बुधवार दुर्बीन मार्फत यो रबरको डुङ्गा देख्यो। त्यसपछि इटालियन कोस्ट गार्डको सहयोगमा उद्धार कार्य गरिएको थियो ।

उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको र उनीहरुको उपचार भइरहेको संस्थाले बताएको छ ।

गम्भीर अवस्थामा भेटिएका दुई जनालाई हेलिकप्टरबाट सिसिली लगिएको पनि यस संस्थाले जानकारी दिएको छ ।

बाँकी २३ जना अझै ओशन भाइकिंगमा छन्। यस जहाजमा दुई सय अन्य आप्रवासीहरू पनि छन्, जसलाई अन्य दुई डुङ्गाले उद्धार गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *