राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छः अध्यक्ष नेपाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको संघर्षबाट प्राप्त संविधान, गणतन्त्र र संघीयताको रक्षा गर्नुपर्ने बताएका छन्।
रौतहट–काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए।
कांग्रेससँग प्रतिस्पर्धा, संघर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने,‘संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीलाई अस्वीकार र बेवास्ता गर्ने शक्तिप्रतिसमयमै सजग हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी रहेको बताए।
अहिले दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु रहेका उनको भनाइ थियो। अध्यक्ष नेपालले देश र जनतालाई हित हुने विषयमा हामीले जोसँग पनि सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment