केसी डान्स सेन्टरको छैटौँ वार्षिकोत्सव सम्पन्न, छैटौँ कलिउड नाइट सेप्टेम्बर २८ मा आयोजना हुने

डिसी नेपाल
५ चैत २०८० १०:२६

भर्जिनिया। अमेरिकाको भर्जिनियामा सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरले आफ्नो स्थापनाको छैटौँ वार्षिक उत्सव भर्जिनियाको स्प्रिङ्गफिल्डमा यही मार्च १६ तारिका दिन सम्पन्न गरेको छ।

सेन्टरले यस वर्ष आयोजना गर्ने नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ सेप्टेम्बर २८ शनिवारका दिन हुने जानकारी समेत सोही कार्यक्रममा गराइएको थियो। केसी डान्स सेन्टरले कलिउड नाइट सन् २०१७ देखि नै हरेक वर्ष दशैँको घटस्थापनाको अघिल्लो शनिवारका दिन आयोजना गर्दै आइरहेको छ।

केसी डान्स सेन्टरले आफूले आयोजना गर्ने हरेक कार्यक्रम तोकिएकै समयमा शुरु र अन्त्य गर्ने परम्परालाई यस कार्यक्रममा समेत निरन्तरता दिइएको पाइयो।

अपरान्ह २ बजेदेखि कार्यक्रम शुरु हुने भनिएकोमा प्रमुख अतिथि विशेष कारणबस ढिला हुने खबर प्राप्त भएको तर कार्यक्रमको उद्घाटन लगायतका औपचारिक कार्यक्रम प्रमुख अतिथि आएपछि गराउने गरी ठिक समयमा नै कार्यक्रम शुरु गरेको थियो।

मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले प्रमुख आतिथ्यता ग्रहण गर्दै दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

प्रमुख अतिथिलाई पञ्चकन्याहरू तथा केसी डान्स सेन्टरका संस्थापक तथा सञ्चालक नवीन केसी र लुना श्रेष्ठले स्वागत गरेका थिए। महावाणिज्यदूतकी धर्मपत्नी कविता महतलाई पनि डान्स सेन्टरका संस्थापक द्वयले स्वागत गरेका थिए।

कार्यक्रममा केसी डान्स सेन्टरमा नृत्य प्रशिक्षण लिइरहेका ४ देखि १६ वर्षसम्मका प्रशिक्षार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। आयोजकका अनुसार करिब ३५० दर्शकहरूले भरिएको हलमा गरिएको वार्षिकोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्ने बालबालिकाहरूले कक्षामा सिकाइएको आधारमा मात्र नृत्य गरेका थिए र अब सेप्टेम्बर २८ मा आयोजना गरिने कलिउड नाइटका लागि यिनीहरूलाई विशेष प्रशिक्षण प्रदान गरिने छ।

कार्यक्रमको अर्को आकर्षण बनेका थिए ‘जुनियर एमसी’। आफ्नो सेन्टरमा नृत्य प्रशिक्षण लिइरहेका बालबालिकाहरूलाई कार्यक्रम सञ्चालनका लागि समेत अवसर दिने कामको शुरुवात केसी डान्स सेन्टरले सन् २०१९ को कलिवुड नाइटदेखि गर्दै आइरहेको बताइएको थियो।

सन् २०१९ देखि २०२३ सम्मका कलिवुड नाइट कार्यक्रमहरूमा कार्यक्रम सञ्चालन गरेका ५ जना साना बाबुनानीहरू मध्ये ४ जनाले यस वार्षिकोत्सव कार्यक्रमसमेत सञ्चालन गरेका थिए।

नेपाली भाषा बोल्न हम्मेहम्मे पर्ने उनीहरूले हँसाई हँसाई नेपाली बोलेर कार्यक्रम सञ्चालन गरेको देखेर उपस्थित दर्शकहरू प्रभावित भएका देखिन्थे।

रिचा ढकाल, किञ्जल शर्मा, सत्यम भुषाल र इशा ढुङ्गाना मध्ये रिचा ढकाल बाहेक बाँकी तीन जनाले कार्यक्रममा प्रस्तुत गरिएका नृत्यमा समेत सहभागी थिए।

केसी डान्स सेन्टरले अमेरिकामा जन्मे हुर्केका बालबालिकाहरूलाई नृत्य प्रशिक्षणका साथमा करिब आठ नौसय दर्शकले भरिएको हलको मञ्चमा उभिएर कार्यक्रम सञ्चालन गर्नसक्नेसम्मको वातावरण, प्रशिक्षण र अवसर प्रदान गरेकोमा सहभागी दर्शकहरूले केसी डान्स सेन्टरको प्रशंसा गरेका थिए।

सन् २०१७ देखि २०२३ सम्मका कलिवुड नाइट कार्यक्रमहरूलाई निरन्तररूपमा स्पोन्सर गरेर सहयोग गरिरहने स्पोन्सरहरूका साथमा गत वर्षको कार्यक्रमलाई स्पोन्सर गर्नेहरूलाई विशेष सम्मान गरिएको थियो।

साथै कलिउड नाइट धुन तयार पार्ने अनिल तिमल्सेना, कार्यक्रमका लागि आवश्यक पर्ने प्रप्स तयार गर्ने सम्झना पराजुली खतिवडा, डान्स कक्षा सञ्चालन गर्ने स्थानको व्यवस्थापनमा सहयोग गर्ने मेदिनी अधिकारीलाई समेत सम्मान गरिएको थियो।

यसका साथमा सञ्चारका क्षेत्रमा सहयोग गर्ने डिसी नेपाल तथा इनेप्लिज डट कमलाई समेत विशेष सम्मान गरिएको थियो भने गत वर्षको कलिउड नाइट कार्यक्रममा प्रस्तुत नृत्यहरू मध्ये उत्कृष्ट हुन सफल ‘मारुनी नृत्य’ का कलाकारहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरि सन् २०१९ देखि २०२३ सम्मका कलिउड नाइटमा कार्यक्रम सञ्चालन गर्ने बालबालिकाहरूमध्ये इशा ढुङ्गानालाई ‘बेस्ट जुनियर एमसी’ घोषित गरी नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि प्रेमराजा महतले उक्त सम्मान तथा पुरस्कार र प्रमाणपत्रहरू वितरण गरेका थिए।

कार्यक्रममा केसी डान्स सेन्टरका प्रशिक्षार्थीका अभिभावकहरूका तर्फबाट बरुण पौड्याल, प्रशिक्षार्थीहरूका तर्फबाट ८ वर्षीय बालिका इभाश्री खड्का, स्पोन्सरहरूका तर्फबाट एटर्नी बन्दिता दहाल, समाजसेवीहरूका तर्फबाट प्रेम संग्रौला तथा सम्मानित हुनेहरूका तर्फबाट मेदिनी अधिकारीले मन्तव्य राखेका थिए।

सम्पूर्ण बक्ताहरूले केसी डान्स सेन्टरले गर्दै आइरहेका कामहरूले समुदायमा नेपाली भाषा, संस्कृतिलाई जगेर्ना गर्दै दोस्रोपुस्तासम्म पुर्याउन गरेको योगदानको उच्च मुल्यांकन गरेका थिए।

एटर्नी बन्दिता दहालले आफ्नो मन्तव्यको सिलसिलामा साना बाबुनानीहरूको प्रस्तुती र केसी डान्स सेन्टरले गरेको मिहिनेत देखेर आफूले स्पोन्सर मार्फत सहयोग गरेको रकम समुदायका लागि उपलब्धीमूलक हुने ठाउँमा सदुपयोग भएको अनुभूति भएको र आउँदो कार्यक्रममा आफूले गर्ने सहयोग रकम बढाउने प्रतिबद्धता व्यक्त गरिन्। त्यसैगरी सबै वक्ताहरूले आ-आफ्ना ठाउँबाट सहयोग गर्ने बताएका थिए।

प्रमुख अतिथिको तर्फबाट प्रेमराजा महतले आफ्नो मन्तव्य राख्दै केसी डान्स सेन्टरले नृत्य मार्फत नेपाली संस्कृति र भाषालाई दोश्रो पुस्तामा पु¥याउन गरेको मिहिनेत कुनै ठूला सामाजिक संस्थाहरूले गर्नसक्ने भन्दा धेरै गरेको बताए ।

साथै यही संस्थाले आयोजना गर्ने कलिवुड नाइट अत्यन्तै उच्चकोटीको नेपाली साँस्कृतिक कार्यक्रम हुने गरेको र यसले समुदायमा विशुद्ध मनोरञ्जन प्रदान गर्दै आइरहेको बताए । महतले यस डान्स सेन्टरलाई शुरूका दिनदेखि साथ र सहयोग गर्दै आइरहेको र भविष्यमा पनि अझ थप सहयोग गर्ने समेत बताए।

कार्यक्रमको अन्त्यमा नवीन केसी र लुना श्रेष्ठले प्रमुख अतिथि, अभिभावक, स्पोन्सर, प्रशिक्षार्थी, मिडिया, सहयोगी लगायत कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै यसै वर्ष सेप्टेम्बर २८ शनिवारका दिन आयोजना हुने छैटौँ कलिवुड नाइटमा आउन अनुरोधका साथ कार्यक्रम समापन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *