‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

डिसी नेपाल
७ चैत २०८० १४:४२
152
Shares

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत फिल्म हलमै गएर हेर्न दर्शकलाई आग्रह गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनयको तारिफ भएको छ ।

प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले संदेश दिन्छ तर जात्राकै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ’, अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र संदेशमुलक फिल्म बनेको प्रतिक्रिया दिइन् । ‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकार पनि निकै मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्’, अभिनेत्री निरौलाले भनिन् ।

अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको फिल्मले पूरा गरेको बताइन । ‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । यो एक हेर्नै पर्ने फिल्म बनेको छ । नेपालसँगै विश्वभर एकसाथ भव्य रुपमा रिलिज हुने महाजात्रा जस्ता फिल्मले हाम्रो बजार बढाउन र विस्तार गर्न मदत गर्छ । यो धित मर्ने फिल्म बनेको छ’, अभिनेत्री अधिकारीले भनिन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । ‘जात्रा देखि नै बनिरहेजो शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ । म महाजात्रा निर्माण समुहलाई धन्यवाद दिन चाहन्छु, एउटा सुन्दर फिल्म हेर्न पाएँ । यहाँ देखाईएको विषय गम्भीर छन् तर प्रस्तुती दर्शकलाई बुझ्ने किसिमले तयार गरिएको छ । यो पर्फेक्ट फिल्म हो’, गायक सपूतले भने ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिईन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु’, अभिनेत्री अधिकारीले भनिन् ।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले संदेश पाउने बताए । ‘फिल्म पूर्ण प्याकेज बनेको छ । एउटा पक्ष मात्र राम्रो भएर फिल्मले यत्तिको तारिफ पाउदैन । यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् । दर्शक ले छुटाउन नहुने फिल्म बनेको छ’, कलाकार नेपालले भने ।

अर्का हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए । ‘यो फिल्म परिवार नै बसेर हेर्न मिल्छ । यसले फिल्मी शैलीमा दिएको संदेश महत्वपूर्ण छ । यो जात्रा शृङ्खलाको उत्कृष्ट फिल्म हो’, कलाकार केसीले भने ।

अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा फिल्ममा पाएको बताइन । ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ । यसमा कडा म्यासेज, हसाइ हसाइ दिनुभएको छ। हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, अभिनेत्री शर्माले भनिन् ।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नु भयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन । ‘म आज टिम भएर फिल्म हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु । फिल्मको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन् ।

अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दावी गरे । ‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृङ्खला हो । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा पुर्‍याउने छ’, अभिनेता कार्कीले भने ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विश्वभर ‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने जानकारी दिए । ‘मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अन्य ठाउँमा हाम्रो शोहरू खुलिसकेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो ‘सोल्ड आउट’ भईसकेको छ । साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा महाजात्रा प्रदर्शन हुँदैछ’, निर्माता खत्रीले भने ।

प्रिमियरबाट प्राप्त प्रतिक्रिया र फिल्मको शृङ्खलाले बनाएको हाइपको आधारमा नेपालमा यसलाई मल्टीप्लेक्सले उच्च शो दिएका छन् । अधिकाँस हलमा यसको शो समय अनलाइन टिकेट बिक्री सुरू भईसकेको छ । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *