चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागें : अभिनेता थापा

भेषराज कार्की/रासस
१० चैत २०८० १२:४३

काठमाडौं। तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन्। उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए। तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन्।

विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक संघको स्थापना गरे। पछिल्लो समय उहाँ कलाकारिता छाडेर राजनीतिमा सक्रिय छन्। तर, थापालाई कलाकारितामा फर्किन मन नभएको भने होइ ।

“मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ । मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिकरुपमा भने असफल भए । त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर संगठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो । त्यही भएर सांस्कृतिक संघको स्थापना गरेर त्यसको नेतृत्व गरेँ”, अभिनेता थापाले भने।

बाल्यकालदेखि नै राजनीतिमा जोडिएका अभिनेता थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गरे। नेपाल सांस्कृतिक संघको स्थापना २०६२ सालमा गरिएको हो।

तर यसको गतिविधिको सुरुआत भने २०५४ सालदेखि नै भएको थियो। सोही समयदेखि अभिनेता थापाले लोकतान्त्रिक चलचित्रकर्मीलाई संगठित गर्दै आएका हुन्। यद्यपि सुरुआती समयमा उनलाई कसैको साथ प्राप्त भएन।

“म आन्दोलनमा एक्लै पुग्थे । स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियोरुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे । तर, मलाई राजनीति गर्‍यो भन्ने आरोप पनि लाग्ने गथ्र्यो। विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी जोडिनुभयो। म बाल्यकालदेखि नै नेपाल विद्यार्थी संघसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो”, अभिनेता थापाले भने

अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा अवसर पाएका छैनन्। चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उनले बुझेका छन्। आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उनले आभास गर्न थालेका छन्।

“पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन् । उनीहरूको प्राथमिकतामा आफ्नै सङ्गठनका व्यक्ति पर्छन् । हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन”, अभिनेता थापाले भने, “म कांग्रेस महासमिति सदस्य भएँ । मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाए । तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन । हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौं।”

विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँपुस्तासम्म ल्याउने गरिएको छ। विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन् ।

यद्यपि नेपालमा भने यो क्रम न्यून छ। बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन्। ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ अभिनेता थापाको छ।

‘वीर गणेशमान’र ‘तीन घुम्ती’जस्ता चलचित्रसँग उहाँ सन्तुष्ट हुनुहुन्न । ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उनले बताए।

“हामीले राष्ट्र निर्माणमा योगदान दिनुभएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ । नयाँपुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन । ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन्”, अभिनेता थापाले भने।

अभिनेता थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन । तर त्यसमा व्यक्तिगतभन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उनको जोड छ। “निजीस्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्छ । त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ । निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ”, उनले भने।

अभिनेता थापा पछिल्लो समय राजनीतिसँगै चलचित्रकर्ममा सक्रियता बढाउने सोचमा हुनुहुन्छ । उहाँले केही विषयलाई छनोट गरेर काम पनि सुरु गरेका छन्। तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको उनले बताए।

“मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो। प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ। बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु । तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ । त्यसतर्फ पनि लाग्छु”, अभिनेता थापाले भने।

उहाँले सांस्कृतिक संघलाई महासंघ बनाएका छन्। विधागतरुपमा सहभागिता बढेपछि बनेको महासंघमा नेतृत्व गर्ने कि अरुलाई जिम्मा लगाउने भन्ने प्रश्न उनीसामु आइरहन्छ। आफूले १८ वर्षदेखि दिँदैआएको संघको नेतृत्व अब अरुलाई सुम्पिने सोचमा अभिनेता थापा छन्। तर उनले सम्मानजनक अस्तित्वको खोजि गरिरहेका छन्।

“मैले यतिलामो समय दिँदा संघकै साथीहरूलाई पनि मेरो सम्मानजनकरुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ । म पनि त्यही खोजिरहेको छु। आफैंले नेतृत्व गर्ने कि अरुलाई दिने । यसमा साथीहरूसँग छलफल गरिरहेको छु”, अभिनेता थापाले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *