चलचित्र ‘मेयर’को एउटा सिनको छायांकनका लागि ११ हजार स्थानीय

डिसी नेपाल
११ चैत २०८० १७:००

काठमाडौं। शनिबार साँझ निर्देशक दीपेन्द्र के खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा सेयर गरे ।

पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा मेयरको छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु।’

निर्देशक खनालका अनुसार सर्लाहीमा भइरहेको सिनेमा ‘मेयर’को छायांकनको एउटा सिनका लागि ११ हजार स्थानीय उपस्थित भए । र त्यही क्राउडको बीचमा उनीहरूले सिनेका लागि सट लिए।

‘यसपटक हामीले सोचेभन्दा धेरै राम्रो वातावरण र क्राउडमा काम गरिरहेका छौँ । यो पटक हामीले साँच्चै ठूलो क्राउडमा काम गर्ने अवसर पायौँ।’,उनले भनेका छन्।

करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा सिनेमाको छायांकन गरिरहेका दीपेन्द्रले यसअघि पनि विभिन्न समयमा लोभलाग्दो क्राउड सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । उनले पोस्ट गरेका तस्बिर र भिडियोले ‘मेयर’ विशेष हुने अपेक्षा र आंकलन गर्न सकिन्छ ।

डार्क कमेडी होस् वा यौन मनोविज्ञान अथवा थ्रिलर वा थ्रिडी खनालले ठूलो जोखिम मोलेर बनाएका थिए ,सफल पनि भए। अहिले भने उनले राजनीतिक सिनेमामा आफूलाई प्रमाणित गर्दैछन्। राजनीतिक सिनेमामा खरो उत्रिने यो अवसरलाई उनले पक्कै पनि सदुपयोग गर्नेछन् ।

छायांकनरत ‘मेयर’ सिनेमा सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित छ। त्यसैले सिनेमा वाग्मतीमै छायांकन भइरहेको छ । केही सिनमात्रै काठमाडौं र सिन्धुलीमा हुने निर्माण पक्षले जनाएको छ ।

सिनेमामा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । यसका लागि उनले सिनेमा छायांकनभन्दा अगाडि वाग्मती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए ।

खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।

सिनेमामा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।

यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन्।

‘मेयर’मा केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा केन्द्रित हुने जनाएको छ।

सिनेमा ‘मेयर’मा बिटिएस र स्टील फोटोग्राफी केशव पाण्डेरलक्षण पाण्डे र संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *