संस्मरणात्मक कथा : सरकार, अविकास पनि अन्याय हो

सुरेश राई
१४ चैत २०८० १०:१८

समय काल (वि.सं २०६०/६१ साल )

मीनपचासको छुट्टी हुने भयो। कलेजहरु बिदा हुने भए। गाउँ जान पाइने भयो। कलेजको अन्तिम दिन नरेन्द्रलाई सोधेँ तिमी के गर्छौ? उसले पनि गाउँ गएर आउने कुरा गर्‍याे।

तब हामीले छुट्ने बेला हात मिलाउँदै एक अर्कालाई भन्यौं ‘ लु त साथी! खोटाङ र पर्वतबाट फर्केपछि फेरि भेटौंला’ हामी कक्षा बाह्र पढ्ने दुई बेस्ट फ्रेन्डहरु थियौं। छुट्ने बेला यति बिघ्न खल्लो लाग्यो जस्तो कि हामी दुई अनुपस्थित भए पुरै काठमाडौ खाल्डो शोकमा डुब्नेछ।

अब गाउँ जान पाइने भएपछि बहिनी करिनालाई भनेर फूल किन्न गएँ साथी विजय कायस्थलाई लिएर। बहिनी सानी थिई तर उसलाई फूलहरु बेस्सरी मन पर्थ्यो। ट्युलिप जातिको एउटा सानो फूल चिटिक्कै परेको गमला साथै आउँथ्यो। हाम्रो गाउँमा त्यो ट्युलिप भनिने फूल पाइँदैन थियो। बहिनी कति खुसी हुँदो हो भनेर कल्पिदै फूल किनेँ।

विजयले सल्लाह दियो ‘त्यति धेरै टाढा छ गाउँ। त्यत्रो दिन लाग्छ पुग्न। भो है , बरु प्लास्टिकको नक्कली फूल लगि दे’ बडो आक्रोशको नजरले विजयलाई हेर्दै झर्किएँ ‘अँ! अब बहिनीको लागि नक्कली फूल लान्छु हला नि म!’ म रिसाएको बुझेर विजय डरायो र चुप लाग्यो। हामी चुपचाप फूल किनेर निस्कियौं।

बेलुकी भएपछि एउटा ओढ्ने कम्बल, एउटा सानो कालो म्याट्रेस र एक बोतल पानी बोकेर म ट्याक्सी चढें। म कुनै हस्पिटलमा बिरामी कुर्न हिँडिरहेको थिइन। म त मध्यरातितिर टोकन बाँडिने भएकोले सुन्धारास्थित नेपाल वायुसेवा निगमको अफिसको फुटपाथमा बास बस्न हिँडेको थिएँ।

मिसन थियो खोटाङ जान चाहिने लामिडाँडा एयरपोर्टको केबल एक प्लेन टिकट। धूलो मैलो सडकमा त्यस्तो ठिर्‍याउने जाडो याममा म केबल एक टिकटको आशमा त्यहाँ रात बिताउन तयार थिए। रात छिप्पिँदै गयो। म जस्ता सडकमा सुत्न आएकाहरुको लाम न्युरोड पुग्न लागेको थियो।

सबैको एउटै उद्देश्य थियो, केबल एक टिकट। मध्यराति अचानक खैलाबैला भयो। टोकन बाँडिन थालेछ। जर्याकजुरुक उठेर लाइनमा उभिएँ। भाग्यमा दम पुगेन कसो मेरै अगाडि आइपुग्दा टोकन सक्कियो। टोकन छैन त टिकट छैन। म निराश भएर घर फर्किएँ।

ती दिनहरुमा विकट जिल्लाको हवाई टिकट पाउन या त ठूलै नेता या ठूलै कर्मचारीको शक्ति लगाउनु पर्थ्यो। बाँकी सर्वसाधारण त्यसरी नै सडकमा सुतेर टोकन लिनु पर्थ्यो। गुन्डागर्दी यस्तो थियो कि, लाइन लागेर लिइएको टोकन पनि कयौं पटक खोसिन्थ्यो, लुटिन्थ्यो।

प्लेन टिकट नपाएपछि मैले सडकबाटै गाउँ जाने निर्णय लिएँ। पर्सिपल्ट झिसमिसै बसको टिकट काटेर म कलंकीतर्फ लागे। बस कलंकीबाट थानकोट हुँदै ओरालो लाग्यो। क्रमश: उज्यालो हुँदै गयो। धादिङको एक जंगलछेऊ पुगेपछि बस रोकियो।

अरु बसहरु पनि नजिक नजिकै रोकिएका थिए। मैले बुझेँ यात्रुहरुले शौच गरुन् भनेर रोकिएका रहेछन् ती बसहरु। यात्रुहरु लाज सरम आफ्नै सिटमा छाडेर झाडीहरुबीच हल्का हुँदै थिए। म पनि एउटा कुना च्यापेर प्रयासरत थिएँ।

छेउमै मुत्र त्याग गरिरहेको रहेछ उही मेरो बेस्टफ्रेन्ड नगेन्द्र। दुबै जना चकित भयौं “अरे तिमी!”

म पूर्व हिँडेको एक युवक र ऊ पश्चिम हिँडेको अर्को युवक अचानक भेटेर त्यो धादिङको जंगललाई मलिलो बनाउँदै थियौं। केहीबेर गफिएपछि हामी फेरि छुट्टियौं काठमाडौमा भेट्ने योजना बुन्दै।

पूर्व पश्चिम राजमार्गमा मिसिएर बस नारायण घाट पूर्व हानियो। म भने ट्युलिप फूललाई हर्दम जोगाउने कोसिस गरिरहेको थिएँ। त्यसलाई आफैसँग राखेर बचाइरहेको थिएँ। दिन छिप्पिनुसँगै साँझको आगमन हुँदै गयो। लहान हुँदै बस उदयपुर जिल्लाको गाईघाटतिर मोडियो।

मध्यराति गाईघाट पुगेर एउटा होटलमा बास बसेँ। बास के भन्नु त्यो आधा रातलाई शरण मात्रै थियो, आधा रात त बितिसकेको थियो। तर कमसेकम मैले केही खाएँ, फूलले थोरै पानी पायो र थोरै आराम पनि।

भोलिपल्ट गाईघाटबाट एउटा ठूलो समूहसँग मिसिएर उकालो लागेँ खोटाङतर्फ। पहिलो दिनको चर्को हिँडाई दश घण्टाको थियो। त्यो दश घण्टामा ट्युलिप फूललाई मैले जोगाउन असमर्थ भएँ। खिन्न हुँदै मुर्झाएको त्यो फूल मैले कोसीलाई सुम्पिदिएँ।

छालहरुमा बग्दै बग्दै त्यो मेरो नजरबाट हरायो। होटल पुगेपछि थकित गलित म काठको ठूटो झैं भएर बिछ्यौनामा डर्लङ्गै लडेँ। यसरी पहिलो रात म छाम्लिङ भन्ने ठाउँमा थिएँ।

भालेको डाँक सँगै भरियाहरु र अरु यात्रुहरु सबै जागे। म पनि उनीहरुको पछि लागे। टर्च लाइटको उज्यालोमा बाटाहरु साँघुरा भएपनि प्रष्ट देखिए। जतिजति अगाडि बढिन्थ्यो उतिउति कोशीको स्वाँ…सँगै यात्रा जारी हुन्थ्यो।

कोशीलाई दायाँ पारेर अर्को दिन पनि लगभग एघार बाह्र घन्टा हिँडेपछि बास बस्न नयाँ वस्ती भन्ने सानो झुरुप्प परेको बस्तीमा पुगियो। मेरो हालत यति खराब थियो कि अबदेखि कुनै पनि छुट्टीमा गाउँ आउने बारे सोच्ने छैन भनेर कसम खान मन लागेको थियो।

तेस्रो दिन, थोरै जोश आएको थियो। आज त बास बस्न आफ्नै घर पुगिन्छ भन्ने हौसला मिलेको हुनुपर्छ। टन्टलापुर घाममा दिखुवा दोभानको उकालो सकसपूर्ण भयो। मध्य दिउँसो खाल्लेको अग्लो डाँडा आइपुगेपछि त्यहाँबाट पारि बादलको फेटा बाँधिरहेको मेरो बाम्राङ गाउँ देखियो। रंगीन जस्ताका छानाहरु देखिए। स्कुल देखियो। मेरो घर मेरो गोठ र मेरो घुर्‍यान सबै सबै देखिए। आँखाबाट बरर आँसु खस्यो।

पाँच छ घण्टापछि झमक्क साँझ पर्दा म आमाको हातको खाना खान, बाउको पुरानो कोटको बिँडीदार वासना महसुस गर्न र बहिनी करिनाको नाकको नखरा हेर्न ढुंगा माटोले बनेको मेरो आफ्नै प्यारो घरको एक कुनामा राडीमा लडेर सुस्ताइरहेको थिएँ। र त्यही ट्युलिप फूलको बारेमा सोचिरहेको थिएँ-अहिले बग्दै बग्दै कहाँ पुग्यो होला नि?

उत्तरार्ध, समय काल(वि. सं २०८० चैत्र)

कौशलटारस्थित घरको छतमाथि घाम तापेर यसै बसिरहेको थिएँ। बहिनी करिनासित जिस्किएँ। ऊ अहिले नेपाल राष्ट्र बैंकको अधिकृत भएकी छन्।
‘लु है ठूलीकान्छी, म त सरकारलाई मुद्दा पो हाल्ने सोच्दै छु त!’ पढ्दै गरेको किताबबाट आँखा हटाएर उसले सोधी ‘कस्तो मुद्दा दाइ?’

मैले सविस्तार भने- ‘उबेला के त! चाहेको बेलामा गाउँ जान नपाएपछि मैले थुप्रैको बिहे खान पाइनँ। जन्ती जान पाइनँ। साइँला खुँई ( राईहरुको बिहेमा दिइने खानेकुरा विशेष ) खान पाइनँ। पुराना वनभोजका फोटोहरुमा सप्पै साथीहरु छन्, म गायब छु। गोठपूजाहरुमा म गयल छु। बिजुवा पूजामा म बेपत्ता छु। ती सबै सबै कार्यक्रमहरुबाट प्राप्त हुने सन्तुष्टि यो राज्यले सडकको विकास नगरेर मबाट खोस्यो। न्वारान, पास्नी, किरिया आदि जस्ता संस्कार रीतिरिवाजहरुमा गरिनु पर्ने विधि विधानहरु सिक्नबाट बन्चित गर्‍याे। त्यसैले राज्यबाट एउटा किशोर अन्यायमा पर्‍याे भनेर मुद्दा हाल्ने!’

बहिनी पनि झनै जिस्की। हाँस्दै भनी

‘अँ त नि, काठमाडौंबाट दाइ आउँदै हुनुहुन्छ भनेर कुर्‍याे, आज त आइपुग्ला भन्यो, भोलि त आइपुग्ला भन्यो , दिनभरी पारि आहाले डाँडातिर हेरेर कुरेर बस्यो। मुद्दा लगाउँदा चाहिँ त्यसरी दिनदिनै कुराएको कसुर पनि थपेर लगाई दिनू है दाइ’

अनि हामी दुबै जोडजोडले हाँस्यौं। बहिनी अझै अघि बढेर जिस्की

‘तर, न्यायाधीशले तपाईंलाई के जवाफ दिन्छ मलाई थाहा छ।’ मैले उत्सुकतासाथ कान ठाडो परेर सोधेँ ‘के?’

उसले भनी ‘के र नै! सडक नहुनाले गर्दा गाईघाटदेखि तीन दिनको ट्रेकिङ गर्ने मौका त पाइस् नि! त्यसैमा फच्छे!’
फेरि हामी गलल हाँस्यौं।

बेलुकी गाउँबाट बाउले बिहान बसमा चढाई पठाउनु भएको खसीको मासुको तरकारी खाइयो। खसी हाम्रै घरमा काटिएको रे। आजभोलि त मध्यपहाडी लोक मार्गले गर्दा गाउँबाट जे सामान पठाए पनि उज्यालो रहँदै काठमाडौं आइपुग्छ।

गाउँ ओहोरदोहोर गर्न ज्यादै सहज भएको छ। टेलिभिजनमा भर्खरै गठन भएको नयाँ गठबन्धन सरकारको चर्चा चलिरहेकै छ। म भने निदाउनुअघि आफ्नो व्यक्तिगत डायरीमा केही लेखिराखेर सुत्ने तर्खर गर्दै छु।

‘सरकार ! ती दिनहरुमा काठमाडौंबाट गाउँ जाँदा धेरै सास्ती पाइयो। हवाईजहाजको उपलब्धता निकै न्यून,असहज एवं महँगो हुन्थ्यो। सडकबाट जानु पर्दा घर जानु पर्ने पूर्व तर राज्यले कलंकी र थानकोटको बाटो देखाउँथ्यो। खोटाङ जाने मान्छे बसमा धादिङको ओरालो हल्र्‍याङ हल्र्‍याङ झर्नु पर्थ्यो। पुरै तराई नापेर उदयपुरको गाईघाट हुँदै पैदल तीन दिन हिँडेर गाउँ पुगिन्थ्यो। सारै अन्याय भो सरकार। त्यसैले भन्छु अविकास पनि अन्याय हो। बिगतमा जे जति अन्याय(अविकास) भए ,सकियो। तर अझै वैदेशिक रोजगारीको बाध्यता लगायत थुप्रै थुप्रै पक्षहरुमा प्रशस्तै अन्याय भैरहेको छ। मेरो कान्छो भाइ वर्षौंदेखि कोरियामा मेसिनसँग जुझ्दै छ। उसलाई स्वदेश फर्काउने योजना के छ सरकार? हो सरकार, अविकास पनि अन्याय नै हो’

बाम्राङ ,खोटाङ
हाल द.कोरिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *